०२ असार २०८३, मंगलबार

नक्कली सवारी लाइसेन्स प्रकरणमा यातायातका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा

चैत २७, २०८२
काठमाडौं
नक्कली सवारी लाइसेन्स प्रकरणमा यातायातका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा

सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन अधिकृत (आठौं तह) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगले प्रतिवादी बनाएका थापासहित यातायात व्यवस्था कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङ गलकोट नगरपालिका–२ का हिमबहादुर बस्नेत थापा रहेका छन् । 

अनुसन्धानका क्रममा उनीहरूले मिलेमतोमा हिमबहादुर बस्नेत थापाको नाममा पहिले जारी नै नभएको ए र बी वर्गको सवारी चालक अनुमतिपत्रको अभिलेखलाई गैरकानूनी रूपमा सच्याइ झुट्टा विवरण प्रविष्ट गरेको पाइएको छ । 

सो क्रममा सवारी चालक अनुमतिपत्र नम्बर ०१-०७-०१०३५२८० राखी २०५८ चैत २७ मा जारी र २०७८ चैत २२ मा अवधि सकिने उल्लेख गरी अभिलेख तयार पारिएको भेटिएको छ । 

यसरी सरकारी अभिलेखमा हेरफेर गरी झुट्टा विवरण समावेश गर्दै २० वर्ष बहाल रहने गरी नक्कली अनुमतिपत्र तयार गरी २०७८ चैत १५ गते प्रतिलिपिसमेत उपलब्ध गराइएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

उक्त कार्यमा संलग्न प्रतिवादीहरूलाई कानून बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्