के तपाईँलाई थाहा छ ? निर्दोष प्राणीको आँसुमा कति तागत हुन्छ ? के तपाईँले देख्नुभएको छ कमजोर प्राणीको आवाज दबाउन खोज्दा कस्तो मूल्य चुकाउनुपर्छ ?
आज म तपाईँलाई त्यस्तै घटनातर्फ लाँदैछु, जहाँ परीक्षितनन्दन चक्रवर्ती सम्राट् जनमेजयले देवशुनि सरमाले मागेको न्यायको भिखलाई बेवास्ता गर्दा उनको सत्तामात्र होइन मनमस्तिष्क नै हल्लिएको थियो ।
हामीलाई लाग्छ महाभारत एउटै कुलको दुई परिवारबीच भएको झगडा हो तर, वास्तविकता त्यतिमात्र होइन । यो त त्यस्तो अवस्थाको प्रतीक हो, जसले शक्तिको उन्माद तथा दम्भ र अहङ्कारले जीवनमा कतिसम्म विपत्ति आइलाग्छ भन्ने कुरा देखाउने ऐना हो ।
महाभारतको युद्ध सकिएको थियो । पाण्डवहरू स्वर्गे भइसकेका थिए । उनीहरूका नाति परीक्षितलाई पनि सर्पले टोेकेर मारिसकेको थियो । उनका पुत्र जनमेजय तक्षशिलामा पितृमुक्ति यज्ञमा दीक्षित भएर यज्ञमण्डपमा बसेका थिए । अकस्मात् यज्ञशालामा कतैबाटै एउटा कुुकुरको सानो छाउरो देखा पर्यो तर जनमेजयका भाइहरूले वास्तविकता बुझ्दै नबुझी यज्ञसामग्री छोयो भनेर निर्घात कुटपिट गरे तर, वास्तविकता के थियो भने उसले न यज्ञसामग्री छोएको थियो न प्रसादतर्फ हेरेको नै थियो ।
आफूले बिना कारण पिटाइ खानुपरेको कुरा उसले रुँदै आमा सरमासमक्ष गएर बतायो । छोराको कुरा सुनेर आमालाई साह्रै नराम्रो लाग्यो र राजा जनमेजयसमक्ष गएर भनिन्– ‘राजन् ! मेरो छोराले के त्यस्तो गल्ती गरेको थियो र कुटाइ खानुपर्यो ?’
तर, जनमेजयले उसले मागेको न्यायको भिखलाई वास्तै नगरी टारिदिए । त्यसपछि सरमाले क्रुद्ध हुँदै भनिन्– ‘राजन् ! तपाईँमा शक्तिको घमण्ड रहेछ । तपाईँलाई त्यस्तो श्राप दिन्छु जसरी अज्ञात कारण मेरो छोराले कुटाइ खानुपर्यो त्यसैगरी आजैदेखि तपाईँलाई अज्ञात भयले सताउनेछ ।’
कुकुरको श्राप सुनेर जनमेजय झस्के । उनलाई तत्कालै अब के हुने हो भन्ने डरले सताउन थाल्यो । त्यसै दिनदेखि उनमा यस्तो एनजाइटी देखिन थाल्यो कि मेघ गर्जँदा पनि डराउँथे, बिजुली चम्किँदा पनि डराउँथे । यहाँसम्म कि बैठककोठामा सेवकहरू प्रवेश गर्दा पनि कोकोन आयोजस्तो गरी तर्सिँने गर्दथे । हुँदाहुँदा उनमा यस्तो मनोरोग देखिन थाल्यो कि आफ्नै छायासितसमेत डराउन थाले । त्यसपछि के भयो त्यता नजाउँ । वास्तविकता यही हो कि उनलाई शक्ति दुरुपयोगको सानो गल्तीले खाइरहेको थियो ।
यो एउटा दृष्टान्त हो । जहाँ पनि शक्ति हुनेले आफूभन्दा कमजोर मानिसको आवाजलाई दबाउन खोज्दाको नतिजा यस्तै हुन्छ । यसैका कारण कस्ताकस्ता मै हुँ भन्नेका सत्ता ढलेका छन्, कैयौँले जेलको हावा खानुपरेको छ ।
थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ।