
प्यूठानकी सीता पोख्रेलले लोकसेवा आयोगअन्तर्गत विभिन्न संस्थानले लिएका आठवटा परीक्षामा नाम निकालेर आफूलाई ‘अब्बल’ साबित गरेकी छन्। ९ महिनाको अवधिमा उनले लोकसेवाका आठवटा परीक्षा उत्तीर्ण गरेकी हुन्।
सीताले नौ महिनामै नेपाल आयल निगमको छैटौँ तह, नेपाल नागरिक उड्डयन प्राधिकरण (प्राविधिक) पाँचौँ तह, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ तह र राष्ट्रिय परीक्षा बोर्डको छैटौँ तहमा नाम निकालेकी हुन्। यसैगरी, उनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको छैटौँ तह, गुठी संस्थानको छैटौँ तह, नेपाल विद्युत् प्राधिकरण (प्राविधिक) सातौँ तह र हालै काठमाडौं उपत्यका खानेपानी लिमिटेडको छैटौँ तहमा नाम निकालिन्।
छोरा हुर्काउँदै स्वअध्ययनमार्फत गत असारदेखि यही फागुनसम्म उनले आठवटा लोकसेवा परीक्षा पास गरेकी हुन्। गाउँमा घाँस–दाउरा गरी सामान्य परिवारमा हुर्किएकी सीता कुनै तयारी कक्षाबिनै पाँचौँ, छैटौँ र सातौँ (अधिकृत) तहमा सफल भएपछि धेरैले उनको प्रशंसा गरेका छन्।
उनले हाल नेपाल विद्युत् प्राधिकरण, रामेछाप वितरण केन्द्रमा प्रमुख (प्रशासकीय अधिकृत) का रूपमा ‘पोस्टिङ’ भएर सेवा सुरु गरेकी छन्। ‘मैले लोकसेवा पढेको एक-डेढ वर्ष मात्र भएको थियो। गएको असारदेखि नाम निस्कन थाले। सातौँ तह (विद्युत्) मा नाम निस्किएपछि अरू पाँचौँ र छैटौँको अन्तर्वार्ताका लागि गइनँ,’ उनी भन्छिन्।
‘विज्ञानमा स्नातकोत्तर’ गरेकी ३० वर्षीया सीता प्यूठानको झिमरुक गाउँपालिका–७, तुसारामा जन्मिएकी हुन्। ६ जना दिदीभाइमध्ये सीता माइली हुन्।
ठूलो परिवारसँगै आर्थिक अभाव थियो। तर, सीताको पढाइ धेरै राम्रो थियो। विद्यालय तहदेखि नै पढाइमा तीक्ष्ण सीताले २०६७ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेकी थिइन्।
एसएलसीपछि पाल्पा आएर विज्ञान संकाय लिएर उच्च शिक्षा पढ्न थालिन्। प्रवीणता प्रमाणपत्र तह (आइए) पाल्पाबाट पूरा गरेपछि उनले दाङबाट बीएस्सी पूरा गरिन्। त्यसलगत्तै उनको विवाह भयो। विवाहपछि उनको बसाइ केही वर्ष दाङमै भए पनि श्रीमान्को जागिर काठमाडौंमा भएपछि उनी एमएस्सी पढ्न राजधानी गइन्। स्नातकोत्तर पूरा गर्ने क्रममा उनका छोरा जन्मिए। छोरा हुर्काउँदै गर्दा उनलाई सार्वजनिक प्रशासनतर्फ लाग्नुपर्छ भन्ने लाग्यो। शिक्षण पेसाभन्दा उनको रुचि प्रशासनतर्फ बढी थियो। पढाइ पनि राम्रो भएकाले लोकसेवाले लिने परीक्षा पास गर्छु भन्नेमा सीता ढुक्क थिइन्।
श्रीमान् माधवमणि पौडेल पनि निजामती सेवामै कार्यरत रहेकाले उनले लोकसेवाका पुस्तकहरू नियाल्न थालिन्। श्रीमान्ले पढेका पुस्तकहरू पढ्दा उनलाई त्यति गाह्रो महसुस भएन। त्यसपछि उनले लोकसेवा पढ्ने र संस्थानतर्फ जागिर खाएरै छाड्ने अठोट लिइन्। श्रीमान् अफिस र छोरा स्कुल पठाएपछि उनले दिउँसो पढ्न थालिन्। पढ्न थालेको डेढ वर्षपछि धमाधम एकपछि अर्को गर्दै नाम निस्कन थाल्यो। छोरा अहिले पाँच वर्ष पूरा भएका छन्। आफ्नो सफलताको पछाडि परिवारको ठूलो साथ र सहयोग रहेको सीता सुनाउँछिन्।

छोरा सानो हुँदा थेसिस सकेर पढ्न थालेको उनी बताउँछिन्। ‘खाली समयमा युट्युबबाट सामान्य ज्ञान (जीके) का भिडियोहरू सुन्ने गर्थें। अन्य कुरामा समय खेर नफालेर पढेँ। करिब दुई वर्षमा ८ ठाउँमा आफैँ अध्ययन गरेर नाम निकालेँ, त्यो पनि कुनै तयारी कक्षा बिना,’ उनी भन्छिन्, ‘श्रीमान् निजामतीतिर हुनुहुन्छ, म संस्थानतिर लागेँ। म अब निजामतीतर्फ लाग्दिनँ। अब पाँच वर्ष उपसचिवका लागि कुर्नुपर्छ। संस्थानमै अहिलेदेखि उपसचिवको तयारी गर्छु।’
छोरा साढे तीन वर्षको भएर स्कुल जान थालेपछि आफूले पढ्न थालेको उनले बताइन्। ‘झन्डै एक वर्ष आफैँ स्रोत जुटाएर पढेपछि लोकसेवाले मागेका विभिन्न संस्थानतर्फका विज्ञापनमा परीक्षा दिँदै गएँ,’ सीता भन्छिन्, ‘सबैमा क्रमशः एकपछि अर्को गर्दै नाम निस्कँदै गयो। सुत्ने समय घटाएँ; घुम्ने, रमाउने र सामाजिक सञ्जाल चलाउने समय पूरै बन्द गरेँ। छोरालाई स्कुल पठाएर पढेँ। राति छोरालाई सुताइसकेपछि आफू उठेर पढेँ। परिस्थिति आफूअनुकूल परिवर्तन गरेँ। जागिरको महत्त्व बुझेर पढ्दा सफलता मिल्यो।’
पढ्दा कति रात नसुतेरै उज्यालो भएको सम्झना सीतालाई अझै छ। मुख्यतः उनका श्रीमान् नायब सुब्बा (नासु) पौडेलले लोकसेवा लड्नुपर्छ भन्ने प्रेरणा र घरमा पढ्ने वातावरण मिलाइदिएका थिए।
विद्यालय तहको पढाइमा पनि उनी हाजिरी जवाफ प्रतियोगिताहरूमा भाग लिने गर्थिन्। विद्यालयमा सधैँ प्रथम हुने उनलाई शिक्षकहरूले प्रतियोगिताहरूमा लैजाने गर्थे। ‘लोकसेवा पढ्नेहरूका लागि एउटा त्याग हुनुपर्छ। लोकसेवा पढ्छु भन्ने तर मोबाइल र टीभी पनि चलाउने, साथीले घुम्न जाउँ भन्दा जाने र चाडपर्वमा मात्र रमाउने गर्दा सफलता मिल्दैन,’ उनी भन्छिन्, ‘यसलाई निरन्तरता दिनुपर्छ। लोकसेवा पढ्नेका लागि दुई/चार दिन किताब नहेर्दा दिमाग ‘डल’ भएजस्तो हुन्छ। लोकसेवा वा कुनै पनि सफलता हासिल गर्न निरन्तरता र सकारात्मक सोच हुनुपर्छ।’
विज्ञान संकाय पढेकाले उनलाई पढाइमा मिहिनेत गर्नुपर्छ भन्ने राम्रोसँग थाहा थियो। त्यसैले उनले पढ्दा जुनसकै विषयको नोट बनाउँथिन्। कुनै विषय आफूले पढ्ने शैली र पुस्तकमा फरक पाउने गर्थिन्। गुगल, लेख (आर्टिकल) देखि च्याटजीपीटीसम्मलाई नयाँ कुरा सोधेर पढ्थिन्। आफूले बनाएको नोटलाई पुनरावृत्ति गर्ने र निरन्तरता दिने उनको बानी थियो। पढ्ने बेला मोबाइलमा फेसबुक र टिकटकजस्ता एपसमेत नभएकाले आफू सफल भएको सीताले बताइन्।
निरन्तरता, धैर्यता, खोजसहितको अध्ययन, त्याग र सकारात्मक सोच भए लोकसेवा गाह्रो नभएको सीताको अनुभव छ।