२३ जेठ २०८३, शनिबार
लामिछाने-अम्पायर नोकझोक

खेलाडी–अम्पायर विवाद : सन्दीपको 'हिट अफ मोमेन्ट'देखि करण केसीमाथिको प्रतिबन्धसम्म

चैत २९, २०८२
काठमाडौं

नेपाल क्रिकेट संघ क्यानले करण केसीलाई एक खेलको प्रतिबन्ध लगाएको त थाहा पाउनुभयो होला । तर, यसमा स्टार क्रिकेटर सन्दीप लामिछाने पनि जोडिन्छन् भन्ने कुरा तपाईंलाई थाहा छ ?

करण केसीले प्रतिबन्ध खेप्नुपरेको घटनाको पृष्ठभूमि खोतल्दै जाँदा सन्दीप लामिछानेमा पुगेर जोडिन्छ । आउनुहोस्, यो विषयलाई पृष्ठभूमिदेखि नै हेरौं ।

चैत २७ गते वीरगञ्जमा भएको बागमती प्रदेश र मधेश प्रदेशबीचको खेलमा बागमतीका कप्तान सन्दीप लामिछाने र अनफिल्ड अम्पायर कमलेश ठाकुरबीच भएको नोकझोक तथा विवाद नै त्यसको प्रमुख कारण हो । 

घटना २३ औं ओभरको हो । सो ओभरको दोस्रो बलमा स्ट्राइकर इन्डमा मधेशका मोहम्मद आदिल आलम ३ बलमा ४ रन बनाएर ब्याटिङ गरिरहेका हुन्छन् । 

बागमतीका बलर प्रतिश जिसीले बल फ्याल्छन् । उनको बल आदिलको प्याडमा लाग्छ । बलर प्रतिश जिसीले एलबीडल्युको अपिल गर्छन् । आदिल आलम र विशाल सुशलिङले दौडेर १ रन पूरा गर्छन् ।  अन फिल्ड अम्पायर कमलेश ठाकुर भने बलर जिसीको अपिलमा इन्ट्रेस्टेड हुँदैनन् । उनले आफ्नो पोजिसनबाट हटेर लेग बाइको संकेत गर्छन् । 

त्यसपछि बलर जिसीले आफ्नो असन्तुष्टि व्यक्त गर्छन् । जिसीले फालेको बल युट्युबमा भैरहेको प्रत्यक्ष प्रसारणमा तत्कालै रिप्ले समेत हुन्छ । रिप्ले हेर्दा जिसीको बल लेग स्टम्पबाहिर पिच भएको देखिन्छ । उक्त बलले लेग स्टम्पमा हिट गरेपनि पिचिङ लेग स्टम्पभन्दा बाहिर रहेकाले अम्पायर कमलेश ठाकुरले नटआउटको डिसिजन दिन्छन् । 

तर, अम्पायरको उक्त निर्णयबाट बलर जिसी असन्तुष्ट हुन्छन् । उनले आफ्नो असन्तुष्टि व्यक्त गरिरहन्छन् ।  जिसीलाई साथ दिन कप्तान सन्दीप लामिछाने पनि आउँछन् ।

शुरूमा अलि परबाट नै अम्पायरसँग असन्तुष्टि व्यक्त गरिरहेका कप्तान लामिछानेले त्यसपछि नजिक आएर अम्पायरसँग विवाद गर्छन् । त्यति मात्र होइन, लामिछाने अम्पायरसँग भिड्न नै खोजेजस्तो देखिन्छ । 

लामिछानेलाई पटक–पटक उनकै टीमका अन्य खेलाडीहरूले रोक्न प्रयास गर्छन्, तर उनी विवाद गरि नै रहन्छन् । स्ट्राइकर इन्डका अम्पायर बासुदेवलाल कर्ण पनि आएर विवाद मिलाउने प्रयास गर्छन् । 

अम्पायर ठाकुर र कप्तान लामिछानेबीच भएको विवादका कारण झन्डै ५ मिनेट जति खेल अवरुद्ध हुन्छ । अन्ततः पुनः खेल शुरु हुन्छ । २०९ रनको लक्ष्य दिएको बागमती प्रदेश ३५ रनले विजयी हुन्छ । मधेश ३४.३ ओभरमा १७३ रनमै अल आउट हुन पुग्छ ।

खेल सकिएपछि कप्तानहरूले आफ्नो म्याच रिपोर्ट पेश गर्छन् । अम्पायरहरूले पनि म्याच रिपोर्ट म्याच रेफ्रीलाई दिन्छन् । यो नियमित प्रक्रिया नै हो । 

null

त्यसपछि अम्पायर ठाकुरले दिएको म्याच रिपोर्टका आधारमा रेफ्री मोहम्मद सफिक समिर खानले लामिछानेलाई कारबाहीको निर्णय गर्छन् ।

उनलाई एक म्याच ब्यान, म्याच फीमा जरिवाना वा नसिहतमध्ये कुनै एक वा सबै विकल्पसहितको कारवाही भएको हुनसक्छ । यद्यपि लामिछानेलाई के कारबाही गरिएको थियो भन्ने सार्वजनिक भएको छैन ।

लामिछाने नेपालका स्टार क्रिकेटर हुन् । उनले भारतको इन्डियन प्रिमियर लिगदेखि विभिन्न देशका लिग खेलिसकेका छन् ।

उनले नेपालका लागि ६४ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा १३५ विकेट लिएका छन् भने टी२० आईतर्फ ७२ म्याचमा १३० विकेट लिइसकेका छन् ।

नेपालका सबैभन्दा अनुभवी बलर हुन्, उनी । तैपनि कहिले काहीँ उनले मैदानमा आचारसंहिताविपरीत एग्रेसन देखाएर कारवाही भोग्नुपरेको छ ।

शुक्रबारको खेलमा भएको विवादबारे हामीले अन फिल्ड अम्पायर कमलेश ठाकुरसँग प्रतिक्रिया लिन खोजेका थियौं । तर, कोड अफ कन्डक्टका कारण केही बोल्न नमिल्ने भनेर उनी पन्छिए ।

सोही खेलका अर्का अम्पायर वासुदेवलाल कर्णले एउटा एल्बीडब्लुको अपिलमा असन्तुष्टि जाहेर गर्ने क्रममा कप्तान सन्दीप लामिछानेबाट अलि बढी नै एग्रेसन व्यक्त भएको बताए ।

संलग्न खेलाडीलाई म्याच रेफ्रीले कारबाही गरिसकेको उनले जानकारी दिए ।

म्याच रेफ्रीले सन्दीपलाई कारबाही गरेपछि नेपाल पुलिस क्लबका अलराउन्डर करण केसीले सामजिक सञ्जाल एक्समा अम्पायरलाई लक्षित गर्दै अमर्यादित विषय लेखे ।

उनले लेखेका थिए, ‘इफ कुनै प्लेयरले अम्पायरलाई गल्तीले पिट्यो भने, आइ मिन बाइ मिस्टेक, कति म्याच ब्यान हो ? जस्ट फर क्वेरी ? फर प्लेयर्स नलेज एन्ड सेफ्टी ।’

यो स्टाटसले आगोमा घिउ थप्ने काम गर्‍यो । अम्पायर र स्कोररहरूको छाता संगठन  क्युसानले क्यानलाई शनिबार नै पत्र लेखेर आफ्नो असन्तुष्टि व्यक्त गर्‍यो ।  क्युसान अध्यक्ष मोहम्मद सफिक समिर खानले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई इमेल समेत गरे ।

केसीको स्टेटमेन्टले अम्पायरहरूको पेशागत मर्यादाको मानमर्दन भएको, अम्पायरको भौतिक सुरक्षामाथि खतरा बढेको भन्दै उनले केसीलाई कारबाही गर्न माग गरेका थिए ।

केसीले स्टाटस डिलिट गर्नुपर्ने, सामाजिक सञ्जालबाटै माफी माग्नुपर्ने र उनलाई ३ महिनाका लागि प्रतिबन्ध लगाउनुपर्ने क्युसानको माग थियो ।

आफूहरूको माग पूरा नभए पीएम कपका आइतबारदेखिका कुनै पनि खेलमामा अम्पायरिङ नगर्ने विषय समेत पत्र र इमेलमा उल्लेख थियो । क्युसान उपाध्यक्ष समेत रहेका अम्पायर बासुदेवलाल कर्ण करण केसीको अभिव्यक्तिले आफूहरूको सुरक्षामा खतरा उत्पन्न भएको बताउँछन् ।

उक्त कुरा खेलाडी वृत्तमा पुगेपछि करण केसीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागे । करणले फेसबुकमा लेखेका छन्, ‘यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला? भनेर  मजाकका रूपमा एउटा जिज्ञासा व्यक्त गरेको थिएँ । क्रिकेटमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो हुने भएकाले उक्त मजाक गरेर लेखिएको अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु ।’

null

क्युसानको इमेलपछि क्यानले करणलाई कारवाही नै गर्‍यो । उनलाई एक खेलमा प्रतिबन्ध लगाउनुका साथै शतप्रतिशत म्याच फी जरिवाना गरिएको छ ।

क्यानको सोही निर्णयानुसार करण सुदूरपश्चिमविरुद्धको आइतबारको खेलमा सहभागी छैनन् ।  करण नेपालका स्टार अलराउन्डर हुन् । उनले बलिङ र ब्याटिङमार्फत नेपाललाई थुप्रै खेल जिताइसकेका छन् ।

जारी पीएम कपमा खेलाडी प्रतिबन्धमा परेको यो पहिलो घटना होइन । अन्य थुप्रै कारबाहीको दायरामा आइसकेका छन् । 

लुम्बिनी प्रदेशका कप्तान देव खनाल एक खेलको प्रतिबन्धमा परे ।

जनकपुरमा लुम्बिनी र मधेशबीचको खेलमा लुम्बिनीका कप्तान खनाललाई अम्पायरले आउट दिँदा पनि उनी क्रिज बाहिर जान मानेनन् । ४ मिनेटसम्म क्रिजमै रहेर विवाद गरिरहे ।

सोही कारण आचारसंहिताको आर्टिकल २.८ अन्तर्गत कारबाही भयो । सस्पेन्सनका लागि डिमेरिट प्वाइन्ट पुगेकाले खनालले अर्को खेल खेल्न पाएनन् ।

जारी पीएम कपमै लुम्बिनी प्रदेशकै टीम म्यानेजर विजय सिंह ज्ञवालीले अम्पायरलाई दुर्व्यवहार गर्दा उनी पनि कारबाहीमा परे । लेभेल टू अन्तर्गत ३ डिमेरिट प्वाइन्टका कारण उनलाई पनि एक खेलको प्रतिबन्ध लगाइयो ।

यही प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका कप्तान शेर मल्ल, कर्णाली प्रदेशका दीपेन्द्र रावल र दिनेश अधिकारीसहित अन्य केही खेलाडीलाई पनि कारवाही भैसकेको छ ।

मल्ल, रावल र अधिकारीलाई आउट दिएपछि क्रिजबाट बाहिर जाने बेला अम्पायरलाई ब्याट देखाएका कारण कारबाही भएको हो । उनीहरूलाई लेभल वानअन्तर्गत १ डिमेरिट प्वाइन्ट र म्याच फीको २५ प्रतिशत जरिवाना गरिएको छ ।

यसअघि २०८१ फागुनमा सम्पन्न भएको जय ट्रफीमा अम्पायरिङका विषयमा बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले प्रश्न उठाउँदा १ खेलका लागि प्रतिबन्ध भएको थियो ।

बागमती र त्रिभुवन आर्मीबीचको खेलमा विनय कुमार र हिरालाल राउत अन फिल्ड अम्पायर थिए । लामिछानेले बलिङ गर्ने क्रममा आफूहरूलाई होच्याउनुका साथै अपशब्द बोलेको र गलत व्यवहार प्रदर्शन गरेको भनेर विपक्षी टीमका खेलाडीहरूले सिकायत गरेका थिए ।

त्यसैगरी, फिल्डिङ गर्दा दर्शकसँग पनि उनको पटक–पटक विवाद भएको थियो । ती सबै कुरा म्याचको प्रत्यक्ष प्रसारण गरिरहेको टेलिभिजन फुटेजमा पनि देखिएको थियो ।

त्यसपछि अम्पायरिङको विषयमा समेत सामाजिक सञ्जालमै असन्तुष्टि जनाएपछि लामिछाने कारबाहीमा परेका थिए । एक खेलको प्रतिबन्ध लागेपछि लामिछानेले नेपालका लागि अब नखेल्ने आशयको स्टाटस लेखेर सहानुभूति बटुल्न खोजेका थिए ।

‘धन्यवाद सबैलाई, हरेक कुराका लागि । यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय जनताले सधैं मेरो साथ दिएका छन्, मेरो यात्राको हरेक चरणमा अटूट समर्थन प्रदान गर्दै । तपाईंहरूको माया र हौसला मेरा लागि अनमोल छ र सधैं मेरो हृदयमा विशेष स्थान रहनेछ । शब्दहरू भन्दा पर कृतज्ञ छु,’ उनले लेखेका थिए ।

***

जारी पीम कपमा पनि अम्पायरिङमाथि प्रश्न उठेको छ ।

क्यानले झन्डै दुई दर्जन अम्पायरहरूलाई अपोइन्ट गरेको छ । त्यसमध्ये बुद्धिबहादुर प्रधान, दुर्गानाथ सुवेदी, रामकैलाश यादव, हिरालाल राउत, कमलेश ठाकुर, रामचन्द्र पाण्डे, उज्ज्वल रेग्मी, हेमराज भट्ट, हिमालराज गिरी, वासुदेवलाल कर्ण, अधिक प्रधान र सञ्जयकान्त सिग्देलसहितका अन्तर्राष्ट्रिय म्याच खेलाएका अनुभवी अम्पायरहरू पनि छन् । उनीहरू लेभल २ एक्रिडिएटेड अम्पायर हुन् । उनीहरूले आईसीसीको अन्तर्राष्ट्रियदेखि एसोसिएट राष्ट्रका खेल समेत खेलाइसकेका छन् ।

त्यसैगरी, अहिलेको पीएम कपमा लेभल वानअन्तर्गतका धिरज पौडेल, मुकेश साह, मनोज दास, आशिष कुमार झा, नरेश थापा, अनिल चौलागाईं, रवीन्द्र गुप्ता, पंकज पाण्डे पनि खटिएका छन् । उनीहरूले डोमेस्टिक क्रिकेटमा अम्पायरिङ गरेका छन् । 

त्यसबाहेक कम अनुभव भएका केही अम्पायरले  पनि अम्पायरिङ गरिरहेका छन् । पीएम कपमा समीर खान, विनय कुमार झा र मनोहर अधिकारीसहित तीनजना म्याच रेफ्री छन् ।

अम्पायरहरूले गल्ती गर्दा कारबाही गर्ने निकाय टेक्निकल कमिटी हो । म्याच रेफ्रीको रिपोर्टअनुसार क्यानको टेक्निकल कमिटीले अम्पायरको मूल्यांकन गरी ग्रेडिङ घटाउनेसहितका कारबाही गर्न सक्छ ।

टेक्निकल कमिटीका कोओर्डिनेटर विक्रम विष्ट भने कहिलेकाहीँ अम्पायरिङको गल्तीलाई ह्युमन इररका रूपमा बुझ्नुपर्ने बताउँछन् । तर, त्यो इरर रेगुलर भइरह्यो भने नेपालको ग्रेडिङमा समेत असर पर्ने हुनाले क्यानले कडा कारबाही गर्ने उनको कथन छ ।

अहिलेको पीएम कप र योभन्दा अगाडिका खेलहरूका आधारमा क्यानले अम्पायरहरूको ग्रेडिङ गर्ने तयारी गरेको छ । ग्रेडिङपछि अब्बल अम्पायरहरूले मात्र मौका पाउने उनले बताए ।

नेपालमा खेलाडी र अम्पायरबीचको विवाद घट्नुको साटो बढिरहेको छ । एनपीएलदेखि अन्य घरेलु प्रतियोगितासम्मै खेलाडी-अम्पायरबीच विवाद हुँदै आएका छन् ।

यसमा देशको इज्जत मानिने खेलाडीहरू संयमित बन्नुपर्ने आवश्यकता छ । अन्यथा करण केसीलाई जस्तै कारबाही अपरिहार्य हुन आउँछ । अर्कातर्फ, अम्पायरबाट हुने गल्तीमा पनि क्यानले आवश्यक अनुसन्धान गरेर 'एक्सन' लिन ढिला गर्नु हुँदैन ।

हेर्नुहोस्, भिडियो : 

 

salt training

कमेन्ट गर्नुहोस्