
फेरि पनि वाम एकता वा सहकार्यको बहस शुरू भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भेट्न बिहीबार प्रचण्ड अस्पताल पुगेका थिए ।
पित्तथैलीको शल्यक्रिया गरेका ओली डिस्चार्ज हुन बाँकी नै छ । अस्पतालमै रहेको समयमा प्रचण्डले ओलीसँग भेटेका हुन् ।
ओली र प्रचण्डबीच भेट भएको पुष्टि एमाले सचिव पद्मा अर्यालले गरिन् । स्वास्थ्य अवस्था बुझ्ने हिसाबले सामान्य शिष्टाचार भेट भएको भनेर आफूले बुझेको उनको भनाइ छ ।
'भेट भएको हो । उपचारका सन्दर्भमा सामान्य शिष्टाचार भेट भएको भन्ने हामीले बुझेका छौं । अरू कुरा के भयो थाहा छैन,' अर्यालले लोकान्तरसँग भनिन् ।
२०४८ यता प्राय: सत्ता वा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेका वामपन्थी दल यसपालि दुवै भूमिकामा छैनन् ।
एमाले २५ र नेकपा १७ सीटसहित तेस्रो र चौथो स्थानमा खुम्चिएका छन् । १८२ सीटसहित राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बन्दा नेपाली कांग्रेस ३८ सीटसहित प्रमुख प्रतिपक्षीको भूमिकामा छ ।
यसबीचमा एमाले अध्यक्ष ओली पहिलोपटक पार्टीमा रक्षात्मक बनेको चर्चा शुरू भएको छ ।
पार्टीमा नेतृत्व परिवर्तनको बहस जोडतोडले उठ्न थालेका बेला ओली र प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेकपाका एक नेता दुई वामपन्थी दलबीच सहकार्यका लागि नेताहरूको तहमा केही छलफल भए पनि त्यसले आकार ग्रहण गरिनसकेको बताउँछन् ।
'दोस्रो र तेस्रो पुस्ताका नेताहरूको तहमा छलफल भए पनि त्यसले खासै आकार ग्रहण गरिसकेको छैन,' ती नेताले लोकान्तरसँग भने ।
चुनावअघि ओली र प्रचण्डबीच एकपटक भेटवार्ता भएको थियो ।
राष्ट्रिय सभामा उम्मेदवारी दिने विषयमा ओली र प्रचण्डबीच पुस २० गते च्यासलमा ‘वान टू वान’ छलफल भएको हो ।
प्रतिनिधि सभा निर्वाचनमा समेत तालमेल गरेर जाने ढंगले छलफल भएपनि राष्ट्रिय सभामा आफूले चाहेअनुसार ४ सीट नपाएको भन्दै नेकपाले एक्लै उम्मेदवारी दिएको थियो ।
चुनाव पछि पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । पिताको निधन भएर किरियामा बसेका ओलीलाई भेट्न प्रचण्डका २ छोरीसहित गुण्डु गएका थिए ।