पौराणिक ग्रन्थहरूमा नागजातिबारे रहस्यमय वर्णन भेटिन्छ । उनीहरूका मानिसको जस्तै दुई खुट्टा हुन्थे । मानिसले जस्तै बोल्थे, कुलपुर्खा एउटै थिए, सुख–दु:खमा साथ दिन्थे । यदाकदा दुष्मनी पनि हुन्थ्यो तर, त्यो घटनाविशेषमा आधारित हुन्थ्यो । मानिस र नागहरूबीचको यस्तो अद्भूत सम्बन्ध विशुद्ध मिथक मात्र हो कि यसभित्र कुनै रहस्य लुकेको पनि छ ? यसबारे नृवंशशस्त्र के भन्छ ? यसको समाजशास्त्रीय चिन्तन कस्तो छ ? आजको भिडियोमा यसैबारे विज्ञानसम्मत विश्लेषण गर्ने प्रयास गरिएको छ ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार सत्ययुगमा कश्यप्रजापतिका १३ पत्नी थिइन् । यीमध्ये जेठी दितीबाट हिरण्यकशिपु आदि दैत्यजाति भएका थिए भने माइली अदितीबाट इन्द्र, वरुण आदि देवजाति भएका थिए । अन्य पत्नीहरूमध्ये दनुबाट वृषपर्वा, विप्रचिति आदि दानवजाति तथा कद्रुबाट तक्षक, वासुकी आदि नागजाति र विनताबाट अरुण तथा गरुण आदि पक्षीजाति भएका थिए ।
उनीहरू सबै लामो समयसम्म काश्यपसागरको आसपासको क्षेत्रमा मिलेर बसेका भए पनि विस्तारै यत्रतत्र छरिएर रहन लागेका थिए । तथापि गाह्रोसाह्रो पर्दा भने एकै स्थानमा जम्माभई एकअर्कोलाई सघाउने गर्दथे । त्यस्तै परे युद्ध तथा मारकाटमा उत्रने पनि गर्दथे ।
महाभारतमा नागजातिको मित्रता पाण्डवहरूसँग पनि देखिएको छ र कौरवहरूसँग पनि पाइएको छ । कृष्णको ईसारामा अर्जुनले खाण्डव वन जलाउँदा सर्पराज तक्षककी पत्नी तथा अश्वसेनकी आमालाई मारेका थिए भने अश्वसेनको समेत झण्डै ज्यान गएको थियो । महाभारतको युद्धमा त्यसैको प्रतिशोध लिन अश्वसेनले कर्णको वाणमा बसेर अर्जुनलाई मार्ने प्रयास गरेका थिए । शायद त्यसैको तुषले होला पाण्डवहरूको नाति परीक्षितलाई मार्न तक्षक नै पुगेका थिए ।
यसको अर्थ हो मानिससँग नागजातिको दुष्मनी जन्मजात नभई घटना विशेषमा आधारित थियो । जन्मजातको कुरा गर्ने हो भने त उनीहरू मानिसको मात्र नभई समग्र प्राणीजातिकै हितैषी थिए । अहिले पनि पृथिवी धारण गर्ने काम शेषनागले गरेका हुन् भन्ने जब्बर मान्यता छ ।
पौराणिक ग्रन्थहरूमा नागजातिलाई पाताल लोकको निवासी भनिएको छ । उनीहरूका दाँतमा कडा विष हुन्छ भनिएको छ । शायद उनीहरूको वंशज भएकाले होला सर्पजातिमा अहिले पनि कडा विष रहेको पाइन्छ । तलको भिडियोमा यिनै मानवजाति र नागजातिको सम्बन्धबारे वैज्ञानिक विश्लेषण प्रस्तुत गरिएको छ ।
थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ।