
नौसैनिक नाकाबन्दीअन्तर्गत खाडी क्षेत्रमा इरानी झण्डा बोकेको एक कार्गो जहाज नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत ‘टुस्का’ नामक जहाजलाई रोक्न दिइएको चेतावनी बेवास्ता गरेपछि अमेरिकी नौसेनाले नियन्त्रणमा लिएको उल्लेख गरेका छन् । यसबारे इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
यस घोषणासँगै ह्वाइट हाउसले इरानसँगको युद्ध अन्त्यका लागि हुने दोस्रो चरणको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा प्रतिनिधिमण्डल पाकिस्तान जाने पुष्टि गरेको छ । तर तेहरानले सहभागिताबारे पुष्टि गरेको छैन । इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी नाकाबन्दी कायम रहेसम्म वार्तामा सहभागी नहुने संकेत दिएका छन् ।
ट्रम्पका अनुसार करिब ९०० फिट लामो ‘टुस्का’ जहाजले अमेरिकी नाकाबन्दी पार गर्न खोज्दा चेतावनी दिइए पनि नमानेपछि अमेरिकी नौसेनाले इन्जिन कोठामा प्रहार गरेर रोकिएको हो । उनले उक्त जहाज अमेरिकी अर्थ मन्त्रालयको प्रतिबन्ध सूचीमा रहेको र अहिले पूर्ण रूपमा अमेरिकी नियन्त्रणमा रहेको दाबी गरेका छन् ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्डले पनि एक भिडियो सार्वजनिक गर्दै नौसैनिक जहाजले कार्गो जहाजलाई रोकिरहेको दृश्य देखाएको जनाएको छ ।
यसअघि ट्रम्पले इरानी बन्दरगाहमाथिको नाकाबन्दी दुवै देशबीच सम्झौता नभएसम्म जारी रहने बताएका थिए । गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्व पाँच हप्तासम्म जारी रहँदा दुई हप्ते युद्धविराम लागू गरिएको थियो ।
वार्ताको पहिलो चरण निष्कर्षविहीन भएपछि ट्रम्पले नाकाबन्दी घोषणा गरेका थिए । इरानको आणविक कार्यक्रम र होर्मुज जलडमरूको नियन्त्रणजस्ता मुख्य विषयमा अझै सहमति हुन सकेको छैन ।
ट्रम्पले आइतबार अमेरिकी प्रतिनिधिहरू सोमबार पाकिस्तान पुग्ने बताएका थिए । युद्धविराम बुधबार सकिने तय छ ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार भान्ससँगै स्टिभ विटकफ र जारेड कुशनर पनि प्रतिनिधिमण्डलमा रहनेछन् । तर इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले दोस्रो चरणको वार्ताबारेका खबरलाई गलत भनेको छ ।
आईआरएनएका अनुसार अमेरिकी नाकाबन्दी, अत्यधिक माग र धम्कीपूर्ण अभिव्यक्तिले वार्ताको प्रगति अवरुद्ध गरेको छ ।
यद्यपि पाकिस्तानको राजधानी इस्लामाबादमा थप छलफलका लागि तयारी शुरू भएको छ । गत साता वार्ता भएको होटलका पाहुनाहरूलाई खाली गर्न भनिएको बीबीसीले जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आइतबार साँझ इरानी राष्ट्रपति मसूद पेज़ेश्कियनसँग टेलिफोन वार्ता गरेका थिए, तर उक्त वार्तामा अमेरिका–इरान छलफलबारे उल्लेख गरिएको छैन ।
यसबीच होर्मुज जलडमरू आइतबार पनि बन्द नै रह्यो । इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले अमेरिकी नाकाबन्दीलाई युद्धविराम उल्लंघन ठहर गर्दै पुनः बन्द गरेको हो । इरानले नाकाबन्दी नहटेसम्म जलडमरू नखुल्ने जनाएको छ ।
विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) यही मार्गबाट ढुवानी हुने भएकाले हालको द्वन्द्वका कारण जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ र ऊर्जा मूल्यमा उछाल आएको छ ।
ट्रम्पले इरानले जलडमरूलाई लिएर अमेरिका दबाबमा पार्न नसक्ने बताएका छन् । उनले शान्ति सम्झौता नभए इरानका पुल र विद्युत् केन्द्रहरू ध्वस्त पार्ने चेतावनीसमेत दिएका छन् ।
शनिबार जलडमरूमा भएका आक्रमणलाई ट्रम्पले इरानले युद्धविराम उल्लंघन गरेको दाबी गरेका छन् । उनका अनुसार फ्रान्सको एक जहाज र बेलायतको एक मालवाहक जहाज पनि निशानामा परेका थिए ।
फ्रान्सेली कम्पनी सीएमए सीजीएमले आफ्ना जहाजमाथि चेतावनीस्वरूप गोली चलाइएको पुष्टि गरेको छ । बेलायती रक्षा तथा यातायात मन्त्रालयले भने बेलायतसम्बद्ध जहाजमाथि आक्रमणको पुष्टि नगरेको जनाएको छ ।
बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सीका अनुसार शनिबार एक ट्यांकर र एक कार्गो जहाजमाथि आक्रमण भएको थियो, तर ती कुन देशसँग सम्बन्धित हुन् भन्ने खुलाइएको छैन ।
यसैबीच भारतले पनि सो क्षेत्रमा आफ्ना दुई जहाज संलग्न गोलीबारीको घटनाबारे जानकारी दिएको छ ।
जहाज ट्र्याकिङ वेबसाइट ‘मरीन ट्राफिक’का अनुसार आइतबार होर्मुज जलडमरूमा आवागमन ठप्पजस्तै भएको छ ।
आईआरजीसीसम्बद्ध तस्नीम समाचार एजेन्सीका अनुसार बोत्सवाना र एंगोलाको झण्डा बोकेका दुई ट्यांकर जलडमरू पार गर्न खोज्दा ईरानी सुरक्षाकर्मीको हस्तक्षेपपछि मार्ग परिवर्तन गर्न बाध्य भएका छन् ।