
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले आज सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेट गरेका छन् ।
सो अवसरमा सभामुख अर्यालले ‘मिनी संसद्’का रूपमा रहने संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिए ।
दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका काम कारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले सङ्घीय संसद् सचिवालय र आफू सधैं सहयोगका लागि तत्पर रहेको बताए ।
समिति सभापतिहरूले आफूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
पुराना असल अभ्यासलाई निरन्तरता दिँदै नवीन ढङ्गबाट संसदीय मूल्य र मान्यतालाई आत्मसात गर्दै समितिका गतिविधि अघि बढाउने उनीहरूको भनाइ थियो ।
यस अवसरमा प्रतिनिधिसभाका १० र संयुक्त दुई गरी १२ वटा समितिका सभापतिको उपस्थिति रहेको थियो ।