भनिन्छ, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । अझ नेपालको कम्युनिस्ट राजनीति हेर्ने हो भने त क्षणमै शत्रुता र क्षणमै मिलनका थुप्रै कथा भेटिन्छन् ।
यतिबेला त्यस्तै एउटा विषयले राजनीति तातेको छ– त्यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको सम्भावित मिलन ।
चुनावमा लज्जास्पद पराजयपछि नेतृत्व छाड्न दबाबमा रहेका ओली र चुनाव जिते पनि भूमिकाविहीन बनेका प्रचण्ड फेरि नजिकिएको विषय यतिबेला निकै चर्चामा छ ।
निटक विगतको तिक्ततापूर्ण सम्बन्ध बिर्सेर फेरि पार्टी एकताका लागि गृहकार्यमा जुट्नुको अन्तर्य एउटै छ– ओली र प्रचण्डको व्यक्तिगत स्वार्थ ।
‘आज होइन, भोलिलाई १० वर्ष ओलीलाई’को प्रायोजित नारा लगाउन लगाएर भर्खरै तेस्रो कार्यकालको अध्यक्ष बनेका ओली नेतृत्व छाड्न तयार छैनन् । आफैंले प्रस्ताव गरेका नीतिलाई लत्याउँदै र विधान संशोधन गरेरै ओली पार्टी अध्यक्ष निर्वाचित भएका थिए ।
रूकुमपूर्वबाट चुनाव जितेर आएपछि प्रचण्डले संसद्भित्र अनुभवी भएकाले अभिभावक बन्छु भनेका थिए । तर, रास्वपामा रवि लामिछानेभन्दा बालेन फ्याक्टर हावी भएपछि प्रचण्डको महत्त्वाकांक्षा तुहियो ।
सके रास्वपा सरकारमै सहभागी हुने, नभए उपसभामुख लिएर सत्तासँग नजिकिने प्रचण्डको दाउ थियो । त्यसो हुँदा संवैधानिक परिषदमा आफ्ना २ सदस्य हुने र शक्तिको एक्सरसाइज गर्न सकिने प्रचण्डले सोचेका थिए ।
रास्वपामा बालेन हावी हुँदा उपसभामुख हर्क साम्पाङको पार्टीले पायो, प्रचण्ड जिल्लिए ।
०५२ सालदेखि नै कुनै न कुनै ढंगले राजनीतिको केन्द्रमा रहेका प्रचण्ड ३ दशकपछि भूमिकाविहीन बने । संसद्मा उनको ‘म्याजिकल नम्बर’ले काम गरेको छैन ।
शक्तिविहीन भएका प्रचण्डले आफू फेरि शक्तिमा आउन अर्को कार्ड खेल्दैछन्– वामपन्थी एकताका नाममा एमालेसँग पार्टी मिलाएर । प्रचण्डको निशाना प्रमुख प्रतिपक्षी दलको नेता बनेर शक्ति आर्जन गर्नु हो ।
राष्ट्रिय सभा अध्यक्ष समेत आफ्नै भाइ रहेकाले प्रतिपक्षी दलको नेता बनेमा २ जना सदस्यसहित उनी संवैधानिक परिषदमा बलियो हैसियतमा रहने छन् ।

प्रतिनिधि सभामा हाल नेकपा एमालेका २५ र नेकपाका १७ सांसद छन् । दुई पार्टी एकता हुँदा ४२ हुन्छ ।
त्यो अवस्थामा कांग्रेसको भन्दा धेरै सांसद भएमा प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दलको नेता स्वभाविक रूपले प्रचण्ड बन्नेछन् । कांग्रेसका ३८ जना मात्र सांसद छन् ।
प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले लेखा समितिको सभापति पाइसकेको छ । तर, प्रचण्डको प्रयास यसपटक सहजै पूरा हुने अवस्था भने देखिँदैन ।
स्रोतका अनुसार, एमालेसँग पार्टी एकता गरेर आफू संसदीय दलको नेता बन्ने र ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिने प्रचण्डको प्रस्ताव छ । प्रचण्डको प्रस्तावमा एमालेको ठूलो तप्का असन्तुष्ट छ ।
एमालेसँगको असन्तुष्टि यति सम्म कि– ओलीको प्रवक्ता र फोटोकपीको आरोप लाग्ने गरेका शंकर पोखरेल समेत प्रचण्डसँग पार्टी एकताको विपक्षमा छन् ।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेल लगायत अहिले पदाधिकारीमा रहेकै नेताहरू प्रचण्डसँग पार्टी एकताको विपक्षमा छन् ।
एमालेका एक पदाधिकारीका अनुसार ओलीको कृपामा संसदीय दलको नेता पाएका रामबहादुर थापा बादल, सचिव महेश बस्नेत र अर्का २ जना पदाधिकारीबाहेक ओलीको पक्षमा कोही छैनन् ।
एक पदाधिकारीका अनुसार प्रचण्डसँग पार्टी एकताको प्रस्ताव एमालेबाट पारित हुने सम्भावना नै छैन, त्यो टेबल हुने अवस्था समेत छैन ।
एमालेभित्रको समीकरणमा यस्तो दृश्य देखिएको छ कि– सधैँ फरक कित्तामा रहने शंकर पोखरेल र विष्णु पौडेलबीच पहिलोपटक एजेन्डा मिलेको छ ।
ओलीको नेतृत्वलाई निरन्तरता दिएर जाँदा पार्टीलाई क्षति पुग्ने भएकाले नेतृत्व परिवर्तन गरेर जानुपर्नेमा एमालेका बहुमत पदाधिकारीको साझा मत छ ।
‘अहिलेकै नेतृत्वबाट एमाले चल्दैन भन्ने कुरामा सिंगो पार्टी पंक्ति एक छ । सकेसम्म ओलीले ग्रेसफुल एक्जिट लिऊन् भन्ने सद्भाव हो,’ ती पदाधिकारीले लोकान्तरसँग भने ।
नेताहरूका अनुसार जेनजी आन्दोलन दबाएको आरोपमा सरकारले ओलीलाई पक्राउ नगरेको भए एमालेमा नेतृत्व परिवर्तनको कोर्स अगाडि बढिसक्ने थियो ।
चैत्र १४ गते पक्राउ परेका ओली अदालतको आदेशबाट १० दिनपछि रिहा भएका थिए । पक्राउ परेसँगै अस्पताल भर्ना भएका ओली शनिबार मात्र घर फर्केका छन् ।
११ औं महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे तथा एमालेको राजनीतिमा आउन खोजेकी विद्या भण्डारी समेतले ओलीलाई फाल्न बल गरिरहेका छन् ।
पार्टीभित्र आफ्नो विकल्प खोज्न नेताहरू सक्रिय भएपछि ओलीले वामपन्थी एकताको तुरूप फालेका छन्, निकटवर्तीमार्फत । ओलीका विश्वासपात्र समेत रहेका एमाले सचिव महेश बस्नेतले ओली र प्रचण्डको भेटले राजनीतिमा सकारात्मक सन्देश दिएको दाबी सामाजिक सञ्जालको पोस्टमार्फत गरेका छन् ।
उता प्रचण्डका निकटवर्ती राजन दाहालले एमाले र नेकपाको मत जोड्दा ७४ स्थानमा भारी मतले अगाडि देखिने भन्दै एकताको औचित्य पुष्टि गर्न खाजिरहेका छन् ।
तर, एमाले उपमहासचिव योगेश भट्टराईले प्रचण्डसँग मिल्ने कुरालाई असफल भइसकेको प्रयोग भन्दै ‘रिजेक्ट’ गरेका छन् ।
सामाजिक सञ्जालमा योगेशले लेखेका छन्– ‘असफल भइसकेको प्रयोग नयाँ रोगको औषधि ? उल्टै बिरामीको मृत्यु ! दायाँ–बायाँ नगरी नेकपा एमालेको बहुआयामिक पुनर्गठन ।’
असफल भएको एकता
एमाले र अहिले नेकपा बनेको तत्कालीन माओवादी केन्द्रबीच यसअघि पनि पार्टी एकता भएको थियो । त्यो लामो समय टिकेन । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा चुनावी गठबन्धन बन्यो । चुनावमा झण्डै दुईतिहाइ मत पाएपछि दुई दलले पार्टी एकता गरेर नेकपा बनाए ।
सैद्धान्तिक आधार नभएको त्यो पार्टी एकताले देशलाई निकास दिएन, बरु पटक–पटक संसद विघटनमार्फत देशलाई अस्थिरतामा लैजाने काम भयो ।
२०७५ जेठमा दुई पार्टीबीच एकता समारोहमा केपी ओलीले जम्बो जेट उडाउने २ क्याप्टेन भनेर सम्बोधन गरेका थिए । प्रचण्डले एमाले र माओवादी मिलनलाई हाइड्रोजन र अक्सिजनको मिलन भन्दै पानीबाट ‘एचटुओ’ छुट्याउन नसकिने बताएका थिए ।
उनीहरूको त्यो दाबी झूट थियो । पार्टी विवादकै कारण २०७७ पुस ५ गते केपी ओलीले प्रतिनिधि सभा विघटन गरे । विघटनविरुद्ध आन्दोलन भयो । सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना गरिदियो ।
२०७७ फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्नुअघि सर्वोच्च अदालतले नेकपा एकतालाई अवैध भन्दै एमाले र माओवादी ब्यूँताइदियो ।
त्यसपछिका प्रत्येक भाषणमा ओलीले माओवादीसँग एकता गर्नु भूल भएको बताउँदै आएका थिए । राजनीतिक प्रतिवेदनमा पनि ओलीले प्रचण्डसँगको एकतालाई गलत भनिरहे । ओलीले २०७८ सालमा फेरि प्रतिनिधि सभा विघटन गरे, त्यसको असर एमाले विभाजनसम्म पुग्यो ।

सर्वोच्च अदालतको परामादेशबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दिनदेखि ओलीले प्रचण्ड र माधव नेपाललाई कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने दक्षिणपन्थीको आरोप लगाए ।
०७९ सालको प्रतिनिधि सभा निर्वाचनपछि ओली र प्रचण्डबीच फेरि नाटकीय सहमति भयो । २०७९ पुस ११ गते एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने ।
राष्ट्रपति निर्वाचनमा माओवादीबाट धोका खाएको भन्दै एमाले सरकारबाट बाहिरियो । प्रचण्डले कांग्रेससँग सत्ता साझेदारी गरे । प्रचण्डबाट धोका पाएपछि संसदीय दलको बैठकमा ओलीले भनेका थिए– ‘बिरालो कसैको हुँदैन, जता धेरै दूध–भात पाउँछ, त्यतै जान्छ ।’
‘३२’ अंकको ‘म्याजिकल नम्बर’का आधारमा प्रचण्डले कांग्रेसलाई धोका दिएर फेरि एमालेसँग नयाँ सत्तायात्रा शुरू गरे, भलै त्यो लामो गएन ।
कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्ने सहमति बाहिरिएपछि झस्किएका प्रचण्डले राजीनामा बुझाउन गएका एमाले मन्त्रीहरूसँग फत्तेमानको गीत सुनाएका थिए–
यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कहिले–कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले ।
त्यसपछिका दिनमा ओलीले प्रचण्डलाई विश्वास गर्न नसकिने नेताको रूपमा चित्रण गर्दै आएका थिए ।
दुई नेताले एकले अर्कोलाई तल्लो स्तरमा गिरेर गाली गर्ने गरेका थिए । २०७७ मंसिरमा प्रचण्डले ओलीमाथि लगाएको आरोप पत्रमा ओलीले पार्टीमा फरक विचार राख्ने नेतालाई डर, धाक, धम्की र चरित्र हत्या गर्ने गरेको आरोप लगाएका थिए ।
प्रचण्डले ओली नेतृत्वमा रहेसम्म एकता हुन नसक्ने बताएका थिए । गत असोज २९ गते धादिङको बेनीघाट रोराङमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए– ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्छ ।’
विगतमा आफैंले लगाएका कयौं आरोप बिर्सेजस्तो गरेर प्रचण्ड अहिले ओलीको नेतृत्व स्वीकारेर पार्टी एकता गर्न तयार भएका छन्, तर पार्टीभित्र माधव नेपाल समूह ओलीको नेतृत्वमा जान तयार छैनन् ।
ओलीसँग विद्रोह गरेर आएका माधव नेपाल लगायतका नेताहरू उनकै नेतृत्वमा एकतामा नजाने बताइरहेका छन् ।
प्रचण्ड–ओली एकताका लागि अन्तर्राष्ट्रिय परिस्थिति भने त्यति अनुकूल छैन । ‘जिओपोलिटिक्स’को चाहना पनि कम्युनिस्टभन्दा संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस होस् भन्ने बुझ्न सकिन्छ ।
ओली–प्रचण्ड सहकार्यका शृङ्खला
२०७२ प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्री
२०७४ प्रचण्डको समर्थनमा ओली प्रधानमन्त्री
२०७५ एमाले–माओवादी पार्टी एकता
२०७९ ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री
२०८० प्रचण्डलाई विश्वासको मत
२०८२ फेरि पार्टी एकताको प्रस्ताव
ओली–प्रचण्ड तिक्तताका शृङ्खला
२०७३ ओलीविरुद्ध अविश्वासको प्रस्ताव
२०७७ ओलीलाई नेकपाको सदस्यबाट निष्कासन
२०७८ ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सर्वोच्चमा निवेदन
२०७९ राष्ट्रपति निर्वाचनमा प्रचण्डबाट ओलीलाई धोका
२०८१ प्रचण्डको सरकार गिराएर ओली प्रधानमन्त्री
हेर्नुहोस्, भिडियो :