
सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका-४ मयल ठेगाना भएका २० वर्षीय सानु भाइ भन्ने साजन बिष्ट रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफ्नो फेसबुक आईडी सानु भाइ नामक एकाउन्टबाट ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व मन्त्री दीपक खड्कालाई तुरून्त रिहा गर अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुने छ जसका लागि एके-४७ जस्ता अत्याधुनिक हतियारहरू काठमाडौंमा भित्रिसकेको छ’ भनी पोष्ट गरी सर्वसाधारण जनमानसमा त्रास फैलाउने र आफूले भनेका कुरा नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण भिडियो समेत सार्वजनिक गरेको खुलेको छ ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ ।