
रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा बुधबार नेपाली टोलीले आफ्नो तेस्रो खेल खेल्दैछ ।
नेपाली टोलीले आफ्नो तेस्रो खेल आयोजक रुवान्डासँग खेल्न लागेको हो । नेपाल र रुवान्डाबीचको खेल नेपाली समय अनुसार, दिउँसो १२:४५ बजे शुरू हुनेछ ।
यसअघि खेलिएको दुई खेलमा नेपाली टोलीले मिश्रित नतिजा निकालेको छ । आफ्नो पहिलो खेलमा नेपाली टोली अमेरिकासँग ४४ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा भने नेपाली टोलीले इटालीमाथि ५० रनको जीत हासिल गरेको थियो । प्रतियोगितामा नेपाल, रुवान्डा, अमेरिका, इटाली र भानुआतु गरी पाँच टोलीको सहभागिता रहेको छ ।
तीन खेल खेलेको रुवान्डा चार अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । समान खेलबाट चार अंक जोडेको इटाली दोस्रो स्थानमा छ।
यसैगरी, दुई खेलबाट दुई अंक बटुलेको अमेरिका तेस्रो स्थानमा आसिन छ । दुई खेलबाट दुई अंक जोडेको नेपाल चौथो र दुबै खेलमा पराजित भएको भानुआतु पाँचौँ स्थानमा छन् ।
जारी प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि तालिकाको पहिलो स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपाली टोलीले आफ्नो चौथो खेल अप्रिल २४ तारिखमा भानुआतुसँग र पाँचौँ खेल २६ तारिखमा अमेरिकासँग खेल्नेछ ।
यसैगरी, नेपालले आफ्नो छैटौँ खेल २८ तारिखमा रुवान्डासँग, सातौँ खेल ३० तारिखमा भानुआतुसँग र आठौँ खेल मे १ तारिखमा इटालीसँग खेल्नेछ ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उप–कप्तान), विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय र रचना चौधरी रहेका छन् ।