२९ जेठ २०८३, शुक्रबार

नेपालको दोस्रो जित, सम्झनाको उत्कृष्ट ब्याटिङमा आयोजक रुवान्डालाई २ विकेटले हरायो

बैशाख ९, २०८३
काठमाडौं
नेपालको दोस्रो जित, सम्झनाको उत्कृष्ट ब्याटिङमा आयोजक रुवान्डालाई २ विकेटले हरायो

रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जित हासिल गरेको छ ।

नेपाली टोलीले बुधबार खेलिएको आफ्नो तेस्रो खेलमा आयोजक राष्ट्र रुवान्डामाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्‍यो ।

पहिले ब्याटिङ गरेको रुवान्डाले १९.४ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो । जवाफमा नेपालले १९.४ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो ।

नेपाली टोलीको जितमा ओपनर सम्झना खड्काले ४८ रनको योगदान गरिन् । उनले ४२ बलको सामना गरी सात चौका पनि हिर्काइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् ।

उप–कप्तान पूजा महतोले पनि टोलीको खातामा १३ रन थपिन् । ओपनर विन्दु रावलले पनि १० रन बनाइन् । रुवान्डाकी बलर जियोमानिस उवासेले तीन विकेट लिइन् ।

त्यसअघि, रुवान्डालाई ठूलो योगफल बनाउनबाट रोक्ने क्रममा नेपाली टोलीकी बलर रचना चौधरीले तीन विकेट लिइन् । उनले तीन ओभरमा १२ रन खर्चिइन् ।

कविता कुँवर र पूजा महतोले पनि दुई–दुई विकेट लिए । मनीषा उपाध्याय र रिया शर्माले पनि एक–एक विकेट हात पारे ।

रुवान्डाका ब्याट्र एलिस ईकुज्वेले सर्वाधिक १७ रन बनाइन् । रुवान्डाले आफ्ना कुनै पनि ब्याट्रले बनाएभन्दा बढी रन अतिरिक्त रुपमा पाएको थियो । रुवान्डाले अतिरिक्त रूपमा १८ रन पायो ।

नेपाली टोलीले आफ्नो तेस्रो खेल खेलेको हो । यसअघि खेलिएको दुई खेलमा नेपाली टोलीले मिश्रित नतिजा निकालेको थियो ।

आफ्नो पहिलो खेलमा नेपाली टोली अमेरिकासँग ४४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाली टोलीले इटालीमाथि ५० रनको जित हासिल गरेको थियो ।

प्रतियोगितामा नेपाल, रुवान्डा, अमेरिका, इटाली र भानुआतु गरी पाँच टोलीको सहभागिता रहेको छ । नेपालले तीन खेलबाट चार र रुवान्डाले चार खेलबाट चार अंक बटुलेको छ ।

तीन खेल खेलेको इटालीले पनि चार अंक जोडेको छ । दुई खेलबाट दुई अंक बटुलेको अमेरिका तेस्रो स्थानमा आसिन छ । दुबै खेलमा पराजित भएको भानुआतु पाँचौं स्थानमा छ ।

जारी प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि तालिकाको पहिलो स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपाली टोलीले आफ्नो चौथो खेल अप्रिल २४ तारिखमा भानुआतुसँग र पाँचौं खेल २६ तारिखमा अमेरिकासँग खेल्नेछ ।

यसैगरी, नेपालले आफ्नो छैटौँ खेल २८ तारिखमा रुवान्डासँग, सातौं खेल ३० तारिखमा भानुआतुसँग र आठौं खेल मे १ तारिखमा इटालीसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्