
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरी प्रसाद यादव र उनकी पत्नी निर्मला कुमारीविरुद्ध मुद्दा दायर गरेको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले यादव दम्पतीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार यादवको २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरिएको अनुसन्धानमा वैधानिक आम्दानीभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको छ ।
सो अवधिमा पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, ऋण, ब्याज, कृषि तथा परिवारका सदस्यहरूको आम्दानीसमेत गरी जम्मा ३ करोड ४६ लाख २१ हजार ४०१ रूपैयाँ ९ पैसा आम्दानी गरेको देखिएको छ ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर तथा सवारी साधन खरिद, अध्ययन खर्च, ऋण भुक्तानी, विद्युतीय सामग्री, आन्तरिक सजावट र बैंक मौज्दातसमेत गरी ४ करोड ९३ लाख २ हजार ६२६ रूपैयाँ ९९ पैसा खर्च भएको देखिएको आयोगले जनाएको छ ।
यसरी कूल आयभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ ९० पैसा बढी खर्च देखिएकाले उक्त रकमको स्रोत नखुलेको निष्कर्ष निकालिएको हो ।
अनुसन्धानका क्रममा गलत विवरण तथा अस्वाभाविक सम्पत्ति देखिएको र सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै सो सम्पत्ति पत्नीको नाममा समेत राखिएको पाइएको आयोगले जनाएको छ ।
आयोगले उक्त रकम बराबरको बिगो कायम गर्दै यादव र उनकी पत्नीविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा सजायको माग गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।