सिन्धुलीमा प्रहरीको हिरासतभित्र एक थुनुवाको मृत्यु भएको घटना पछिल्लो समय निकै विवादित बनेको छ । प्रहरीले आत्महत्या दाबी गरे पनि मृतकका परिवारजनले हत्या भएको आशंका गरेका छन् ।
वैशाख ७ गते सिन्धुलीको सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विक इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार विक हिरासतको शौचालयमा आफ्नै सर्ट प्रयोग गरेर झुन्डिएको अवस्थामा फेला परेका थिए । लगत्तै उपचारार्थ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालाध्वज सुवेदीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
उनले लोकान्तरसँग भने, ‘विकविरुद्ध जबर्जस्ती करणीमा जाहेरी परेपछि सातदोबाटो प्रहरी वृत्तले पक्राउ गरी घटना सिन्धुलीमा भएकाले यता पठायो । ७ दिनको म्याद लिएर अनुसन्धान चलिरहेका बेला वैशाख ७ गते साँझ उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।’
विकको शव पोष्टमार्टम गरेपछि मात्रै आत्महत्या वा हत्या के हो भन्नेबारे थाहा हुने एसपी सुवेदीले बताए ।
त्यसो त जिल्लास्तरमा सिन्धुलीका सहायक सीडीओको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन भएको छ । प्रदेश प्रहरी कार्यालयले पनि एसपीको कमान्डमा छानबिन समिति गठन गरेको छ ।
विकलाई वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरी सिन्धुली ल्याइएको थियो । उनीविरुद्ध एक १६ वर्षीया किशोरीसँग सम्बन्धित जबर्जस्तीकरणीको आरोपमा उजुरी दर्ता भएको थियो । परिवारका अनुसार विकले ती किशोरीसँग प्रेमविवाह गरेका थिए र उक्त सम्बन्धका कारण विवाद उत्पन्न भएको हो ।
मृतकका परिवारजनले भने प्रहरीको दाबी अस्वीकार गरेका छन् । उनीहरूले विकलाई आरोप स्वीकार गर्न दबाब दिइएको र घटनापछि तत्काल जानकारी नदिइएको आरोप लगाएका छन् । साथै, घटनास्थलको फोटो तथा भिडियो समेत नदेखाइएको भन्दै परिवारले पारदर्शितामाथि प्रश्न उठाएको छ ।
मृतककी आमा विन्दा विकले प्रहरी जाहेरीमा भनेकी छिन्, ‘मेरो छोराले गल्ती गरेको भए कानूनबमोजिम सजाय भोग्थ्यो, तर ज्यानै गुमाउनुपर्ने अवस्था किन पर्यो, यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’
घटनापछि राजनीतिक तथा सामाजिक तहमा समेत प्रतिक्रिया देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारको नेतृत्वमा सांसदहरूको टोली सिन्धुली प्रशासन कार्यालय अगाडि धर्नामा बसेको थियो ।
सांसदहरू रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आशिष गजुरेलले पनि घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
उनीहरूले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, खुर्कोटका इन्स्पेक्टर तथा ड्युटी कमान्डरलाई तत्काल निलम्बन गर्न माग गरेका छन् ।
प्रहरी प्रधान कार्यालयले पनि डीआईजी दिनेश कुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छुट्टै छानबिन समिति गठन गरेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
उता, राष्ट्रिय दलित आयोगको टोली पनि घटनाको स्थलगत अध्ययनका लागि काठमाडौंबाट सिन्धुलीतर्फ गएको छ । आयोगले घटनाको सत्य-तथ्य पत्ता लगाई दोषीमाथि कारबाही सिफारिस गर्ने जनाएको छ ।
यस घटनाले प्रहरी हिरासतभित्रको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
हेर्नुहोस्, भिडियो :