२८ जेठ २०८३, बिहीबार

नेपाल ‘ए’ले ११५ रनले हरायो ओमानको राष्ट्रिय टोलीलाई

बैशाख ११, २०८३
काठमाडौं
नेपाल ‘ए’ले ११५ रनले हरायो ओमानको राष्ट्रिय टोलीलाई

नेपाल ‘ए’ टोलीले शुक्रबार घरेलु मैदानमा सम्पन्न दोस्रो एकदिवसीय क्रिकेटमा ओमानलाई एक सय १५ रनको विशाल अन्तरले हराएको छ ।

नेपालको जितसँगै दुई खेलको शृंखला १/१ को बराबरीमा सकिएको छ । यसअघि, शृंखलाको पहिलो खेलमा ओमानले नेपाल ‘ए’लाई हराएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ८४ रन बनाएको थियो ।

ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने ३६.३ ओभरमै अलआउट हुनुअघि एक सय ६९ रनमात्र बनाउन सक्यो ।

ओमानलाई लक्ष्यसम्म पुग्न नदिन नेपाल ‘ए’का बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । युवराज खत्रीले तीन विकेट लिए । हेमन्त धामी, शेर मल्ल र आकाश चन्दले पनि दुई/दुई विकेट हात पारे ।

सन्तोष यादवले पनि एक/एक विकेट कुम्ल्याए । नेपाली टोलीका बलरले केवल चार रन अतिरिक्त रूपमा खर्चिएका थिए ।

null

ओमानका लागि मजिबर अलीले सर्वाधिक ४३ रन बनाए । ओमानका माथिल्ला चार ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किए । जितेन रामानन्दीले २४ र विनायक शुक्लाले २१ रन जोडे ।

त्यसअघि, नेपालका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका देव खनालले ६४ रन बनाए । उनले ९५ बलमा पाँच चौका प्रहार गरे ।

ईशान पाण्डेले पनि टोलीको खातामा ६९ रन थपे । चौथो नम्बरका ब्याट्सम्यान पाण्डेले ७८ बलमा ६ चौका प्रहार गरे । यसअघि उनले ओमानविरुद्धको पहिलो खेलमा पनि अर्धशतक बनाएका थिए ।

कुशल मल्लले पनि टोलीका लागि ५७ रनको योगदान गरे । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल ३२ बलको सामना गरी चार छक्का र चार चौका हिर्काए ।

सन्दीप जोराले पनि टोलीको खातामा ४२ रन थपे । छैटौँ नम्बरका ब्याट्सम्यान जोराले केवल २६ बलमा तीन छक्का र तीन चौका प्रहार गरे ।

ओपनर अर्जुन कुमालले १३ र कप्तान अनिलकुमार साहले सात रन बटुले । तृतराज दास एक रन बनाउँदै आउट भए । सन्तोष यादव १५ रनमा अविजित रहे ।

null

नेपालले अतिरिक्त रूपमा पनि १६ रन पायो । ओमानका बलर जितेनकुमार रामानन्दीले दुई विकेट लिए । सकिल अहमद, नदिम खान, सिद्धार्थ बुक्कापतनम र वसिम अलीले एक/एक विकेट हात पारे ।

यसै साता घरेलु मैदानमा शुरू हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ क्रिकेट शृंखलाको तयारीका क्रममा नेपाल ‘ए’ र ओमानबीच अभ्यास खेल खेलिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी क्रिकेट मैदानमै बुधबार खेलिएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले हराएको थियो ।

ओमानको टोली शनिबारदेखि शुरू हुने लिग–२ शृंखलामा सहभागी हुन नेपाल आएको हो । लिग–२ शृंखलामा नेपाल र ओमानसँगै संयुक्त अरब इमिरेट्स (यूएई)को पनि सहभागिता रहने छ ।

null

salt training

कमेन्ट गर्नुहोस्