
काठमाडौंको साँखुमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोले शुक्रबार अपरान्ह साँखुमा कारोबारी सक्रिय रहेको थाहा पाएपछि निगरानी बढाएको थियो ।
प्रहरीलाई देखेपछि कारोबारीले हतियार झिकेका र प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण कोइरालाले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार गोली चलाएर दुई जना नियन्त्रणमा लिए पनि मुख्य कारोबारी भने भागेका छन् । ‘प्रहरी देखेर हतियार देखाउँदै भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली प्रहार गरिएको हो । एक जना घाइते भएका छन्,’ उनले लोकान्तरसँग भने ।
पक्राउ परेका दुई जनाबाट एक थान पेस्तोल र तीन राउण्ड गोली बरामद भएको छ ।
भागेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।