काभ्रेको पनौतीमा नेपाल प्रहरीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो तथा महत्त्वाकांक्षी परियोजनाका रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गरिरहेको छ । अत्याधुनिक संरचनासहितको यस परियोजनालाई प्रहरीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा हेरिएको छ ।
मूल्य अभिवृद्धि करबाहेक १० अर्ब १ करोड ५१ लाख १ रुपैयाँ लागतमा निर्माण भइरहेको यो परियोजना आकार, संरचना र उद्देश्यका हिसाबले विशेष मानिएको छ । परियोजनाअन्तर्गत हाल ४८ वटा अत्याधुनिक भवन र १० वटा अन्य संरचना निर्माणाधीन छन् ।
यस परियोजनाको प्रक्रिया २०७१ मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला शुरू भएको थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बैठकका क्रममा तालिम केन्द्र निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
शुरूमा भारतीय पक्षले आफ्नै जनशक्तिबाट निर्माण गर्ने प्रस्ताव गरे पनि नेपाली पक्षको असहमतिपछि २०७४ चैत २८ मा सम्झौता संशोधन गरिएको थियो ।
त्यसपछि २०७९ असार १३ मा भारतीय निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएपछि निर्माण कार्यले औपचारिक गति लिएको हो ।
शुरूमा २०८२ असार २८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना समयमै नसकिने भएपछि म्याद पटक–पटक थपिएको छ । पहिलोपटक २०८२ मंसिर २२, दोस्रोपटक २०८३ वैशाख १७ र हाल तेस्रोपटक २०८३ भदौ १५ सम्मका लागि समय तोकिएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार परियोजनाको भौतिक प्रगति ८७ प्रतिशत पुगेको छ भने आर्थिक प्रगति ६२.१३ प्रतिशत मात्रै रहेको छ ।
यो परियोजनाको जरा २०५२ सालसम्म पुग्छ । तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहोराले पनौतीमा आधुनिक तालिम केन्द्र निर्माणका लागि भारतसँग प्रस्ताव राखेका थिए । त्यसयता हरेक प्रहरी नेतृत्वले उक्त परियोजनालाई अघि बढाउने प्रयास गर्दै आएको छ ।
भारतले प्रारम्भिक रूपमा ८ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ सहयोग गर्ने सहमति जनाएको थियो भने पहिलो चरणमा २ अर्ब ३० करोड ७८ लाख ४५ हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । समयक्रममा लागत बढ्दै हालको अनुमानित लागत १० अर्बभन्दा बढी पुगेको हो ।
आधुनिक सुविधासहितको विशाल संरचना
परियोजना विस्तृत गुरुयोजनाअनुसार अघि बढाइएको छ । पहिलो चरणमा विद्युतीकरण, दोस्रो चरणमा खेलकुद परिसर, फायरिङ रेन्ज, सभाहल र व्यापारिक भवन तथा तेस्रो चरणमा स्विमिङ पुल, पार्किङ र पर्खाल निर्माण समेटिएको छ ।
प्रतिष्ठानभित्र ५७२ र ३५२ जना क्षमताका दुई अडिटोरियम, ४८० र २४० जना क्षमताका दुई कन्फरेन्स हल निर्माण भइरहेका छन् ।
महिला तथा पुरुष प्रशिक्षार्थीका लागि छुट्टा–छुट्टै आवास, २५ शय्याको प्राथमिक उपचार केन्द्र, इन्डोर स्पोर्ट्स हल र सिमुलेशन कक्षासहितका संरचना पनि निर्माणाधीन छन् ।
हाल महाराजगञ्जस्थित प्रहरी प्रतिष्ठानमा स्थान अभावका कारण विशेष तालिम सञ्चालनमा समस्या हुँदै आएको छ ।
नयाँ प्रतिष्ठान निर्माणपछि फायरिङ रेन्ज, आवासीय सुविधा, मोटर ड्राइभिङ सेन्टरलगायत पूर्वाधारले पूर्णता पाउने अपेक्षा गरिएको छ ।
प्रतिष्ठान सञ्चालनमा आएपछि नेपालले आफ्ना सुरक्षाकर्मी मात्र नभई विदेशी प्रहरीलाई समेत तालिम दिन सक्ने विश्वास गरिएको छ ।
यसले नेपाललाई दक्षिण एसियामा सुरक्षा तालिमको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा छ ।
बहुप्रतीक्षित यस परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि पटक–पटक म्याद थपिनुले समयमै सम्पन्न हुनेमा आशंका कायमै छ ।
पनौतीमा निर्माणाधीन यी संरचनाहरू केवल भौतिक पूर्वाधार मात्र नभई भविष्यको सुरक्षा प्रणाली निर्माणको आधारका रूपमा हेरिएका छन् ।
हेर्नुहोस्, भिडियो :