
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबार जारी खेलमा नेपालले ओमानबाट जितका लागि तीन सय ६ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय पाँच रन बनायो ।
नेपाली टोलीका बलरहरूको लगातारको आक्रमणलाई विफल बनाउँदै ओमानका लागि ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले उत्कृष्ट शतकीय पाली खेले ।
प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका जतिन्दरले एक सय ३० रन बनाए । उनले यसक्रममा केवल ९६ बलको सामना गरी पाँच छक्का र १५ चौका हिर्काए ।
जतिन्दरले अर्का ओपनर आशिष आडेदराले ८० रनको साझेदारी गरे । आशिष ४८ बलमा एक छक्का र एक चौकाको मद्दतले २३ रन बनाउँदै आउट भए ।
उनीहरूको साझेदारी प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले तोडेका थिए । उनले ओडेदरालाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । ओमानविरुद्ध सन्दीपले दुई विकेट हात पारे ।
लिग–२ प्रतियोगितामा कीर्तिमानको नजिक रहेका सन्दीप एक सय विकेटको कोशेढुङ्गाबाट केवल एक विकेट टाढा छन् । लिग–२ प्रतियोगितामा उनले लिएको विकेट संख्या ९९ पुगेको छ ।
हाल पनि उनी लिग–२ प्रतियोगिता सर्वाधिक विकेट लिने बलर हुन् । उनले लिग–२ प्रतियोगिताको पहिलो संस्करणमा ७२ र दोस्रो संस्करणमा २७ विकेट लिइसकेका छन् ।
आर्यन विष्टले पनि टोलीको खातामा ३५ रन थपे । उनले ३५ बलमा एक छक्का र एक चौका हिर्काए । हमाद मिर्जाले ४७ बलमा चार चौकाको मद्दतले ३० रन बनाए ।
जितेन रामानन्दीले ४३ बलमा एक छक्का र चार चौकाको मद्दतले ४३ रन जोडे । विकेटकिपर ब्याट्सम्यान विनायक शुक्लाले पनि १७ बलमा एक छक्का र एक चौकाको मद्दतले २३ रन बटुले ।
नेपाली टोलीका बलर सोमपाल कामीले चार विकेट लिए । उनले नौ ओभरमा ५९ रन खर्चिए । सन्दीपसँगै दीपेन्द्रसिंह ऐरीले पनि दुई विकेट हात पारे ।
सन्दीपले १० ओभरमा २४ र दीपेन्द्रले नौ ओभरमा ५६ रन खर्चिए । नेपाली टोलीले अतिरिक्त रूपमा केवल सात रन पायो ।