०३ असार २०८३, बुधबार
ऐतिहासिक जग्गा खाली गराउने तयारी

विराटनगर जुटमिलमा डोजरको त्रास, जग्गा खाली गराउन तीन पुस्ते खोज्दै प्रशासन

बैशाख १७, २०८३
विराटनगर
विराटनगर जुटमिलमा डोजरको त्रास, जग्गा खाली गराउन तीन पुस्ते खोज्दै प्रशासन

विराटनगर–१५ स्थित हडताली हाट, जहाँ देशकै जेठो उद्योग ‘विराटनगर जुट मिल्स’का संरचनामा बनेका पुराना घरहरू लहरै ठडिएका छन् । यो ठाउँको नामैले एउटा ऐतिहासिक विद्रोह र औद्योगिक गौरवको कथा बोकेको छ, तर अहिले यहाँको वातावरणमा कुनै क्रान्तिकारी उल्लास भेटिँदैन, बरु एकप्रकारको भारी सन्नाटा र अनिश्चितताले स्थानीयको मन बिथोलिएको छ ।

हडताली हाटको बीचमा दशकौँदेखि ठिङ्ग उभिएको एउटा बूढो पिपलको रूख छ, जसले पुस्तौँदेखि यहाँका श्रमिकहरूको थकाइ मेटाइरहेको छ, उनीहरूका दु:ख-सुखको साक्षी बनेको छ ।

तर, अहिले यो रूखको छहारीमा बस्नेहरूको अनुहारमा कुनै शीतलता देखिएन, बरु एकप्रकारको खलबली र गहिरो त्रास व्याप्त छ । यो त्रासको मुख्य कारण हो- जुटमिलको जग्गामा रहेका अनधिकृत संरचना र अतिक्रमण हटाउने सरकारको पछिल्लो तयारी, जसले यहाँ दशकौँदेखि बसोबास गरिरहेका साढे ६ सय परिवारको निद्रा खोसिदिएको छ ।

null

अहिले यो बस्तीमा कुनै नयाँ मान्छे पुग्दा स्थानीयहरू सशंकित हुँदै सोध्छन्, ‘हामीलाई हटाउनै आएको हो र ? के साँच्चै हाम्रो घरमा डोजर चल्ने हो ?’ उनीहरूको यो प्रश्नमा वर्षौँदेखिको लगाव र भविष्यको अन्यौल प्रष्टै झल्किन्छ ।

यो त्यही ऐतिहासिक भूमि हो, जहाँबाट नेपालको प्रजातान्त्रिक आन्दोलनको जग हालिएको थियो । राणा शासनको अन्त्यका लागि गिरजाप्रसाद कोइराला, मनोमोहन अधिकारीलगायत नेताहरूले यही जुटमिलबाट मजदुर आन्दोलनको शुरूआत गरेका थिए ।

त्यही पिपलको रूखमुनि टोलाइरहेकी ४७ वर्षीया शान्ति माझीको व्यथा सुन्दा जोकोहीको मन भारी हुन्छ । ३५ वर्षसम्म जुटमिलकै मेसिनको ताँतीमा निरन्तर पसिना बगाएकी उनलाई अहिले आफ्नै थातथलो मेटिने डरले दिनरात सताएको छ ।

उनका बाजे–बज्यै यही माटोमा बिते, उनले पनि आफ्नो उर्वर जवानी यहीँ काम गर्दागर्दै बिताइन् । २०६८ सालमा मिल पूर्णत: बन्द भयो, काम गरेको बाँकी पैसा उनले अझै पाएकी छैनन् । एकातिर पाउनुपर्ने पारिश्रमिक नपाउनु र अर्कोतिर वर्षौँदेखि बस्दै आएको क्वार्टरबाटै लखेटिने खबर सुन्दा उनको भोक–निद्रा हराएको छ । उनका श्रीमान् र छोराछोरीसहित चार जनाको परिवार त्यही पुरानो जीर्ण क्वार्टरमा ओत लागेर बसेको छ । राज्यले उचित विकल्प नै नदिई एक्कासि हटाउन लागेकोमा उनको ठूलो चित्त दुखाइ छ ।

शान्तिको जस्तै पिरलो धनमती चौधरीको पनि छ । उनका ससुरा कपिलदेव चौधरीले आफ्नो जीवनको सम्पूर्ण समय जुटमिलकै सेवामा अर्पण गरे र त्यहीँ अन्तिम सास फेरे । तीन पुस्तादेखि त्यही सानो टहरोमा आफ्नो खुसी र भविष्य साटेका चौधरी परिवारलाई अहिले राज्यले ‘अतिक्रमणकारी’को ट्याग लगाउँदा गहिरो अपमान महसुस भएको छ ।

null

विराटनगर जुट मिल्सको कुल ६९ बिघा १० कठ्ठा जग्गामध्ये करिब १० बिघा जग्गा अतिक्रमणमा परेको सञ्चालक समितिको दाबी छ । विशेषगरी १५ नम्बर वडाको हडताली हाट, हरिनगरा भट्टा र विराटनगर १६ नम्बर वडाको दक्षिण गेट क्षेत्रमा अहिले निजी पक्की घरदेखि साना उद्योगसम्म सञ्चालनमा छन् ।

जुटमिल सञ्चालक समितिले जग्गा खाली गराउने औपचारिक तयारी गरेपछि साढे ६ सय  घरपरिवार अहिले विस्थापनको सँघारमा पुगेका हुन् ।

स्थानीय मिना श्रेष्ठको आक्रोश भने राज्यको विभेदकारी नीतिप्रति लक्षित देखिन्छ । उनी भन्छिन्, ‘बिना विकल्प वर्षौंदेखि बसेका गरिबलाई हटाउन पाइँदैन । यदि हटाउने नै हो भने पहुँचवाला र ठुला नेताका क्षेत्रबाट शुरू गरिनुपर्छ, गरिबको झुपडीमा मात्रै डोजर किन ?’ उनले त सिधै चुनौती दिँदै सुकुम्बासीलाई हटाउने हो भने ठूला नेताका निर्वाचन क्षेत्रबाट प्रक्रिया थाल्नुपर्ने माग गरिन् । उनले प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र झापा ५ बाट सुकुम्बासी हटाउन शुरू गर्न समेत चुनौती दिइन् ।

८० वर्षीय मोहम्मद अन्सारीका लागि त यो ठाउँ केवल माटो, इँटा र सिमेन्ट मात्र होइन, यो उनको भावना, पहिचान र जीवनको सबैभन्दा ठूलो हिस्सा हो । जुटमिलको क्वार्टरमा आफ्नो जीवनको सबैभन्दा सक्रिय समय बिताएका अन्सारी अहिले शरीरले शिथिल छन्, तर आफ्नो अडानमा निकै दृढ देखिन्छन् । उनी भन्छन्, ‘हामी यहाँ बसेको वर्षौँ भइसक्यो, हाम्रो पुस्ता यहीँ हुर्कियो । हामी मर्न तयार छौँ तर यो ठाउँ छोडेर कहाँ जाने ? हामीलाई यहीँ मर्न दिइयोस् ।’

यता जुटमिल प्रशासन भने अब आफ्नो जग्गा फिर्ता लिने प्रक्रियाबाट पछि हट्ने पक्षमा देखिँदैन ।

null

सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीका अनुसार अनधिकृत रूपमा बस्ने र लामो समयदेखि मिलको सम्पत्ति प्रयोग गरेर भाडा नतिर्ने व्यवसायीलाई हटाउन स्थानीय प्रशासनलाई आधिकारिक रूपमा पत्राचार गरिसकिएको छ । मिल्समा धेरैले वर्षौंदेखि भाडा नतिरी व्यवसाय सञ्चालन गरेका छन् भने कतिपयले त मिलको जग्गामा घर बनाएर अरूलाई नै भाडामा समेत लगाएर आम्दानी गरिरहेका छन् । यी सबै गैरकानुनी संरचना खाली गराउन जिल्ला प्रशासन कार्यालय मोरङले पनि आन्तरिक तयारी थालेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार अहिले त्यहाँ बसोबास गर्नेहरूको विस्तृत तीन पुस्ते विवरण र उनीहरूको अन्यत्र कतै जग्गा–जमिन भए वा नभएको बारे मसिनो गरी खोजी भइरहेको छ ।

विराटनगर महानगरपालिकासँगको प्रत्यक्ष समन्वयमा वास्तविक सुकुम्बासी र घरजग्गा भएर पनि नियतवश मिलको जग्गा अतिक्रमण गर्ने ‘हुकुम्बासी’हरूको पहिचान गर्ने काम भइरहेको छ । जुटमिलमन कर्मचारीहरूका अनुसार कर्मचारी आवासहरू अवकाशपछि पनि खाली नगर्दा र बिस्तारै बाहिरी मानिसहरू समेत थपिँदै जाँदा यो समस्या थप जटिल बनेको हो । विगतमा उद्योग सञ्चालनको समयमा मजदुरहरूलाई सहज होस् भनेर क्वार्टरमा राखिएको थियो, तर उद्योग बन्द भएपछि उनीहरू त्यहीँ बसिरहेका छन् । कतिपयले त आफू बस्दै आएको क्वार्टर अरूलाई नै बिक्री गरेर हिँडेको र नयाँ मान्छेहरू आएर बसेका उदाहरण समेत भेटिएका छन् ।

वि.सं. १९९३ असार ३० गते तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरको पालामा राधाकृष्ण चमरिया र रामलाल गोल्छाको विशेष सक्रियतामा स्थापना भएको यो मिल नेपालको औद्योगिक क्रान्तिको वास्तविक जननी हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको बिउ रोप्ने २००३ सालको ऐतिहासिक मजदुर आन्दोलनको केन्द्र पनि यही जुटमिल नै थियो, जसले नेपालको राजनीतिक दिशा नै परिवर्तन गरिदियो । तर, विडम्बना ! चरम राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी र समयसापेक्ष प्रविधिमा लगानी हुन नसक्दा २०७० सालदेखि यो उद्योग पूर्णत: बन्द छ ।

आज करोडौँ मूल्यका मेसिनहरू खिया लागेर कवाडीमा परिणत हुँदैछन् भने भव्य भवनहरू भत्किँदै गइरहेका छन् । नयाँ सरकार गठनसँगै मुलुकका बन्द रहेका रुग्ण उद्योगहरू पुन: सञ्चालन हुने चर्चाले विराटनगर जुटमिलमा आश्रित पूर्वकर्मचारीका परिवारहरूमा फेरि एकपटक आशाको सञ्चार त गराएको छ, तर मिलको वर्तमान अवस्था भने अत्यन्तै दयनीय र नितान्त भिन्न छ ।

झन्डै एक दशकदेखि पूर्णत: बन्द रहेको यस मिलका दुईवटै प्लान्टभित्रका मेसिनरीहरू अहिले कामै नलाग्ने अवस्थामा पुगेका छन् । वर्षौँदेखि मेसिनहरू नचल्दा र उचित संरक्षण नहुँदा ती कवाडीका थुप्रोजस्ता देखिन्छन् भने मिल परिसरका खुला ठाउँहरू अहिले ठुलो जङ्गलजस्तै बनेका छन् ।

null

उद्योगका पूर्वप्रशासक तारानाथ तिम्सिनाका अनुसार मिलको वर्तमान भौतिक र प्राविधिक अवस्था हेर्दा यसलाई अब सामान्य मर्मतले मात्र चलाउन सम्भव नै देखिँदैन । उद्योग पुन: सञ्चालन गर्न नयाँ उद्योग स्थापना गर्न लाग्ने भन्दा केही कम खर्च त लाग्ला, तर उद्योगलाई आजको आधुनिक बजारमा प्रतिस्पर्धी बनाउन कम्तीमा डेढदेखि दुई अर्ब रुपैयाँ लगानी नगरेसम्म सम्भव छैन ।

पुराना मेसिनरी मर्मत गरेर उत्पादन शुरू गरिहाले पनि आधुनिक बजारको मागअनुसारको गुणस्तरीय जुट उत्पादन गर्न ती मेसिनले धान्न नसक्ने तिम्सिना बताउँछन् । उनी भन्छन्, ‘मिल चलाउनु भनेको अहिलेको अवस्थामा मेसिन फेर्नु र संरचनाको पूर्ण पुनर्निर्माण गर्नु नै हो, जसका लागि राज्यले ठुलो वित्तीय जोखिम मोल्नुपर्ने हुन्छ । मेसिन र पूर्वाधार मात्र होइन, अब उद्योग चलाउन दक्ष र अनुभवी जनशक्ति पाउनु अर्को ठुलो चुनौती बनेको छ ।’

जुट उद्योगमा काम गर्ने पुराना सीपयुक्त मजदुरहरू धेरैजसो अन्य पेशामा लागिसकेका छन् वा वैदेशिक रोजगारीका लागि विदेश पलायन भइसकेका छन् ।

मिल्स सञ्चालक समितिले जग्गा खाली गराउन बारम्बार ताकेता गरेपछि अहिले अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढेको हो । सहायक प्रमुख जिल्ला अधिकारी कोइराला भन्छन्, ‘हामी महानगरपालिकासँग समन्वय गरेर त्यहाँ बस्नेहरूको अभिलेख तयार पार्दैछौँ । वास्तविक सुकुम्बासी र अन्यत्र घरजग्गा भएकाहरूको पहिचान भएपछि मात्र थप कानुनी प्रक्रिया अघि बढ्छ ।’ प्रशासनले विवरण संकलन गरिसकेपछि उनीहरूलाई निश्चित समय सीमा दिएर सूचना दिने र त्यसपछि मात्रै संरचना हटाउने योजना बनाएको छ ।

‘करिब १ हजार जना जति यहाँ बसेका छन्’ जुट मिलका एक कर्मचारीले भने ‘साढे ६सय जतिले चाहिँ जग्गानै ओगटेर बसेका छन ।’ विराटनगरको यो ऐतिहासिक जुटमिलले ४६ जना कर्मचारीको कुल ३ करोड २ लाख ९३ हजार ९२३ रुपैयाँ तलब अझै भुक्तानी गरेको छैन ।

२०७३ जेठ १ देखि २०७७ मंसिरसम्मको पारिश्रमिक नपाएपछि ती पूर्वकर्मचारीहरूले श्रम कार्यालय हुँदै अदालतसम्म धाएर मुद्दा समेत जितिसकेका छन् । तर, अदालतको फैसला कार्यान्वयनमा मिल सञ्चालक समितिले विभिन्न बहानामा आलटाल गर्दा कर्मचारीहरू अहिले पनि रित्तो हात बस्न बाध्य भएका छन् ।

null

पूर्वप्रशासक तिम्सिनाका अनुसार श्रम तथा रोजगार कार्यालय विराटनगरले निवेदकहरूको रकम बैंकिङ्ग पद्धतिद्वारा तुरुन्त नगदमा भुक्तानी दिन पटक–पटक पत्राचार गरिसकेको छ । तत्कालीन कार्यालय प्रमुख प्रेम सञ्जेलले पठाएको पत्रमा विराटनगर जुट मिल्स, उद्योग विभाग वा मन्त्रालयले प्राथमिकताका आधारमा यो रकम निकासा दिनुपर्ने प्रष्ट उल्लेख थियो ।

यदि नगद भुक्तानीमा समस्या भए मिलको जग्गा लिलाम गरेर भए पनि श्रमिकको पसिनाको मूल्य भुक्तानी गर्नैपर्ने कडा आदेश दिइएको थियो । उक्त आदेशमा कम्पनी रजिष्ट्रारको कार्यालयले समेत संस्थाको उचित नियमन नगरेको भन्दै ध्यानाकर्षण गराइएको थियो ।

२०८१ साल चैत २१ गते सम्पन्न भएको मिलको साधारण सभाले समेत उक्त कर्मचारीहरूको बक्यौता रकम दिन निर्देशन दिइसकेको थियो । तर, मिल सञ्चालकहरूले भने उक्त रकमलाई ‘विउ पुँजी’ देखाएर उल्टै बैंकबाट ऋण लिने गरेको गम्भीर आरोप कर्मचारीहरूले लगाएका छन् ।

मिलमा जोसुकै अध्यक्ष भएर आए पनि मजदुरको वास्तविक समस्या समाधान गर्नुको सट्टा व्यक्तिगत स्वार्थ वा प्रतिष्ठाका कारण प्रक्रिया अगाडि नबढेको उनीहरूको गुनासो छ । यसअघि दिलेन्द्रप्रसाद बडु उद्योग मन्त्री हुँदा मिलको निरीक्षण गरेपछि मन्त्रिपरिषद्बाटै मजदुरको पैसा दिने निर्णय गराएका थिए । मजदुरहरूमा आशाको दियो बलेको थियो, तर निर्णय कार्यान्वयन हुने अन्तिम चरणमा पुग्दा सरकार ढलेपछि ती कर्मचारीहरू पुन: अन्यौल र निराशाको भुमरीमा फसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्