०३ असार २०८३, बुधबार
बाँदरबारे वैज्ञानिक खोज

बाँदर त ‘डाइटिसियन’ पो रहेछन् !

बैशाख १९, २०८३
विराटनगर
बाँदर त ‘डाइटिसियन’ पो रहेछन् !

नेपालका पहाडी कन्दरादेखि तराईका फाँटसम्म आजभोलि बाँदरको सन्त्रास छ । किसानले बारीमा लगाएको बालीदेखि भान्सामा राखिएको खानासम्म बाँदरले खाएर हैरान पार्छन् ।

बाँदर आतंकले कतिपय गाउँ नै रित्तिएका छन् भने कतै खेतीयोग्य जमिन बाझोमा परिणत भएका छन् । यही सामाजिक र वातावरणीय समस्याको जरो पहिल्याउन र बाँदरको मनोविज्ञानलाई वैज्ञानिक आँखाले निहाल्न विराटनगरस्थित डिग्री क्याम्पसमा प्राणी विज्ञान अध्यापन गराउने रामचन्द्र अधिकारीले आफ्नो जीवनका महत्वपूर्ण समय जंगलका बुट्यान र बाँदरका हुलसँगै बिताए ।

उनले ‘नेपालको विभिन्न उचाइअनुसार रातो बाँदरको पारिस्थितिकीय र व्यवहारगत अध्ययन’ विषयमा हालै विद्यावारिधि पूरा गरेका छन् ।

अधिकारीले प्राप्त गरेको यो उपलब्धि केवल एउटा प्राज्ञिक पदवी मात्र होइन, बरु बाँदरको संसारलाई बुझ्ने एउटा नयाँ आँखीझ्याल समेत हो ।

उनको यो यात्रा केवल ल्याब र पुस्तकालयमा मात्र सीमित रहेन । अनुसन्धानका क्रममा उनले सुनसरीको रामधुनी, धरानको मन्दिर क्षेत्र र धनकुटाका पहाडी भिरालोहरूमा घाम, पानी र थकाइको प्रवाह नगरी बाँदरहरूलाई पछ्याए ।  वैज्ञानिक जगतमा ‘मकाका मुलाट्टा’ भनेर चिनिने रातो बाँदरको आनीबानी बुझ्न उनी उनीहरूसँगै घुलमिल हुनुपर्थ्यो ।  

अनुसन्धानका क्रममा उनले बाँदरहरूको नामकरण गरे । बाल्यकालमा गोठालो जाँदा गाई, बाख्रा, भैँसीलाई नाम दिएर चिनेजस्तै उनले जङ्गलका बाँदरहरूलाई पनि ‘खैरे’, ‘नाककाटे’, ‘दोजिया’जस्ता २७ वटा बादरलाई नाम दिएर पछाएका थिए ।   

null

यसले उनलाई कुन बाँदरले कस्तो व्यवहार गर्छ र कुन समयमा के खान्छ भन्ने कुराको सुक्ष्म अभिलेख राख्न सहज बनायो । जङ्गली बाँदरहरू मान्छे देख्नेवित्तिकै भाग्ने हुनाले अधिकारीलाई कतिपय समय त रुखका ओझेलमा लुकेर घन्टौँसम्म तिनीहरूको गतिविधि नियाल्नुपर्थ्यो ।

अनुसन्धानका क्रममा उनले बाँदरका बारेमा रहेका धेरै भ्रमहरूलाई तथ्यका आधारमा चिर्ने काम गरे  । हामी साधारणतया बाँदरले फलफूल मात्र खान्छ भन्ने सोच्दछौँ, तर शोधले भन्छ- बाँदरको मुख्य आहार त रुखका पात, कलिला मुन्टा, फूल, कोपिला, बोक्रा, भूइँका जङ्गली झारहरू हुन् । 

रामचन्द्रले तीनवटा फरक उचाइका क्षेत्रबाट ४५ वटा खानेकुराका नमूना संकलन गरेर प्रयोगशालामा तिनको रासायनिक विश्लेषण गरेका थिए । ‘कार्बोहाइड्रेट, प्रोटिन र फाइबरजस्ता ६ वटा पौष्टिक तत्वहरूको विश्लेषण गर्दा एउटा अनौठो तथ्य बाहिर आयो । बाँदरहरू त अद्भुत ‘डाइटिसियन’ रहेछन् । उनीहरूले आफ्नो शरीरलाई कुन मौसममा कस्तो पोषक तत्व चाहिन्छ भन्ने कुरालाई यति सन्तुलित ढङ्गले मिलाएर खाँदा रहेछन् कि जुन कुरा आधुनिक मानवले पनि सिक्नुपर्ने देखिन्छ,’ उनले भने । 

भोकमरी लागेको बेला वा पोषक तत्वको अभाव हुँदा उनीहरूले रुखका बोक्रा, चोप र भ्याङ्गे कमिला समेत खाने गरेको उनले भेट्टाए । अझ शरीरमा नुन र खनिजको अभाव पूर्ति गर्न बाँदरले माटो कोट्याएर खाने र ढुङ्गा चाट्ने गरेको दृश्यले उनलाई अचम्मित बनायो  ।

null

उनले अध्ययनका क्रममा प्रयोग गरेका दुईवटा विधि- ‘स्क्यान स्याम्पलिङ’ र ‘फोकल एनिमल स्याम्पलिङ’ निकै चुनौतीपूर्ण थिए । स्क्यान स्याम्पलिङमा उनले एउटा निश्चित समयभित्र हुलका सबै बाँदरको गतिविधिको तस्वीर उतार्नुपर्थ्यो भने फोकल स्याम्पलिङमा एउटा निश्चित बाँदरलाई दिनभरि छायाँजस्तै पछ्याउनुपर्थ्यो ।  

त्यो बाँदर कतिबेला रुखबाट भुइँमा झर्‍यो, कतिबेला आराम गर्‍यो, कतिबेला अर्कोसँग झगडा गर्‍यो वा ग्रुमिङ गर्‍यो - यी सबै विवरण उनले टिप्नुपर्थ्यो ।  

अधिकारीको यो धैर्यताले नै आज एउटा पूर्ण दस्तावेज तयार भएको छ । बाँदरहरू किन बस्ती पस्छन् भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा उनले धरान र रामधुनीका बाँदरबीचको स्वभावमा ठूलो अन्तर फेला पारे ।  

null

धरानका मन्दिर वरपर बस्ने बाँदरहरू मानिसले दिने तयारी खानेकुरामा पल्किएर ‘अल्छे’ र ‘आक्रामक’ भएका रहेछन् । उनीहरू जङ्गलमा गएर आहारा खोज्नुको सट्टा मानिसका झोला खोस्ने र डर देखाउने काममा बढी सक्रिय देखिए । तर रामधुनी र धनकुटाका भित्री जङ्गलमा बस्ने बाँदरहरू अझै पनि स्वावलम्बी छन् र मानिसको सम्पर्कबाट टाढै रहन रुचाउँछन्।

जङ्गलमा पाइने ऐँसेलु, उतिसका फल र सिरुका कलिला गुबोहरू उनीहरूका प्रिय आहारा हुन्  ।  तर जब सामुदायिक वनहरूमा झाडी सफा गर्ने नाममा साना बुट्यानहरू काटिन्छन् र बाँसघारीहरू विनाश हुन्छन्, तब बाँदरहरू आफ्नो सुरक्षित बासस्थान र आहाराको खोजीमा मानिसको बालीनालीतर्फ आकर्षित हुने गरेको उनको अध्ययनले देखाउँछ । उनले धनकुटामा धेरैजसो बाँदरहरू बाँसघारीमा बसेको देखे। किनकि त्यो उनीहरूका लागि सबैभन्दा सुरक्षित आश्रयस्थल हो ।  

शोधले एउटा महत्वपूर्ण पक्षमा जोड दिएको छ- त्यो हो मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण । अहिले पहाडमा खेतीपाती छाडेर मानिसहरू बसाईँ सर्नुको एउटा ठूलो कारण बाँदर नै हो। यसलाई रोक्न बाँदरलाई सिध्याउने होइन, बरु जङ्गलमै भुलाउने वातावरण तयार पार्नुपर्ने उनको सुझाव छ ।

null

जङ्गलभित्र बाँदरले रुचाउने फलफूलका बिरुवा रोप्ने, उनीहरूका लागि सुरक्षित मानिने बाँसका झ्याङहरू संरक्षण गर्ने र जङ्गलमा मानिसको अनावश्यक हस्तक्षेप कम गर्ने हो भने यो द्वन्द्व धेरै हदसम्म कम हुन सक्ने उनले बताए। रामचन्द्रले आफ्नो अध्ययनमा उचाइअनुसार बाँदरका लागि आवश्यक पर्ने विशेष बिरुवाहरूको सूची नै सिफारिस गरेका छन् ।

यसका साथै उनले औँल्याएको अर्को गम्भीर विषय भनेको मानिसले बाँदरलाई खानेकुरा दिएर आकर्षित गर्ने बानी हो। मन्दिर वा सडक किनारमा बाँदरलाई बिस्कुट, चाउचाउ वा अन्य मानवीय खानेकुरा दिँदा उनीहरू प्राकृतिक आहारा खोज्न छाडेर परनिर्भर बनेका छन्  । यसले उनीहरूको स्वास्थ्यमा मात्र होइन, व्यवहारमा पनि नकारात्मक परिवर्तन ल्याउँछ । त्यसैले यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने उनको तर्क छ ।

भारतको पश्चिम बंगालस्थित रायगञ्ज विश्वविद्यालयबाट प्राप्त यो विद्यावारिधि उपाधि उनका लागि व्यक्तिगत सफलता मात्र होइन, यो त नेपालको पारिस्थितिकीय प्रणालीलाई बुझ्ने एउटा दरिलो दस्तावेज हो ।

चार वर्षको कठोर परिश्रम, जङ्गलको बास र निरन्तरको ल्याब परीक्षणपछि तयार भएको यो अनुसन्धानले आगामी दिनमा सरकारलाई वन्यजन्तु व्यवस्थापनका नीति बनाउन ठूलो सहयोग पुग्न सक्छ ।

null

डिग्री क्याम्पस विराटनगरमा विद्यार्थीलाई प्राणि विज्ञान पढाउँदै गर्दा उनले जुन सपना देखे र त्यसलाई पूरा गर्न जङ्गलको चिसो र कष्ट सहेर जुन साधना गरे त्यो वास्तवमै प्रेरणादायी छ । उनले कक्षाकोठाको चौघेराबाट बाहिर निस्केर प्रकृतिको खुला विश्वविद्यालयमा गरेको यो अध्ययनले साच्चै नै वैज्ञानिक जगतमा एउटा नयाँ इँटा थपेको छ ।

अनुसन्धानमा समावेश गरिएको ‘पौष्टिक तत्वको विश्लेषण’ नेपालको सन्दर्भमा एउटा नौलो र मौलिक काम हो। उनले पत्ता लगाएका तथ्यहरूले भन्छन् कि प्रकृतिमा हरेक प्राणीको आफ्नै महत्व र अनुशासन हुन्छ । ‘हामीले प्रकृतिको त्यो अनुशासनलाई बिगारिदिएका कारण नै आज बाँदर र मानिसबीचको सम्बन्ध बिग्रिएको हो,’ उनले भने, ‘यदि हामीले बाँदरको खाद्य चक्र र उनीहरूको प्राकृतिक बासस्थानलाई सम्मान गर्न सक्यौँ भने एकातिर हाम्रो बालीनाली सुरक्षित रहनेछ र अर्कोतिर प्रकृतिको यो सुन्दर जीव पनि आफ्नो संसारमा खुसी हुनेछ ।’

null

अनुसन्धानका क्रममा उनले भोगेका चुनौतीहरू पनि कम थिएनन् । जङ्गली बाँदरको पछि लाग्दा कहिले भिरपाखामा चिप्लनुपर्ने त कहिले जङ्गली जनावरको डर झेल्नुपर्ने । उनलाई धनकुुटाको जंगलमा बाँदरको हुलले अर्को आक्रमण गरेको थियो । उनीसँगै गएका साथिले उनलाई बचाएका थिए ।  पूर्व सर्वेका क्रममा इलाममा भने पहाडको टुप्पोबाट लडेर घाइते पनि भएका थिए । 

तर प्राध्यापक अधिकारीको लक्ष्य स्पष्ट थियो- बाँदरको समस्यालाई केवल समस्याका रूपमा मात्र होइन, वैज्ञानिक समाधानका रूपमा हेर्ने । उनले जङ्गलमा बाँदरले खाने एक सय आठ भन्दा बढी वनस्पतिको पहिचान गरे, जुन कुरा यसअघिका अनुसन्धानहरूमा खासै प्राथमिकतामा परेका थिएनन् । 

null

विशेषगरी उचाइअनुसार बाँदरको खानपानमा आउने बदलावलाई उनले जुन सुक्ष्मताका साथ अध्ययन गरे, त्यसले नेपालको जैविक विविधतालाई बुझ्न नयाँ आयाम थपेको छ । धनकुटाको उतिस होस् वा रामधुनीको शीतल जङ्गल, उनले हरेक स्थानको छुट्टाछुट्टै विशेषता पत्ता लगाए ।

अधिकारीले आफ्नो शोधमा उल्लेख गरेका सुझावहरू कार्यान्वयन हुने हो भने गाउँमा बाँदरको सास्ती खेपिरहेका किसानहरूले राहत पाउनेछन्  । पहाडी भेगमा बाँदरका कारण बाँझो रहेका खेतबारीहरू फेरि हरिया हुन सक्छन् । उनको यो प्राज्ञिक यात्राले समाज र विज्ञानलाई जोड्ने पुलको काम गरेको छ ।

null

वैज्ञानिक हिसाबले ढेडुलाई पनि बाँदर नै भनिने भए पनि नेपालमा पाइने पाँच प्रजातिमध्ये रेसस मङ्कीको यो अध्ययन निकै गहन छ । उनले रामधुनी, धरान र धनकुटाका बाँदरहरूको सूक्ष्म अवलोकन गरी उनीहरूले रोजेका ४५ वटा आहारका नमुना संकलन गरी  प्रोक्जिमेट एनालाइसिस गरेर छ वटा मुख्य पौष्टिक तत्वहरू कार्बोहाइडेड, प्रोटिन, लिपिड, ओसिलोपना, क्रुड फाइबर, जम्मा इनर्जी के कति प्रतिशत रहेछ भनेर पत्ता लगाएका थिए र बाँदरको खुराकमा यी चिजको संयोजन कस्तो छ भनेर पत्ता लगाएका थिए ।

यसले के देखाउँछ भने बाँदरले केवल पेट भर्न मात्र खाँदैन, बरु शरीरको आवश्यकता अनुसार पोषक तत्वको व्यवस्थापन गर्दछ। जङ्गलमा उनीहरूले खाने ऐँसेलु, आँप वा सल्लाको चोप र ब्याङ्गे कमिलाको सेवनमा पनि एउटा निश्चित वैज्ञानिक आधार रहेको उनले पुष्टि गरेका छन् ।

null

उनले औंल्याएका तथ्यहरूका अनुसार, सामुदायिक वनमा हुने अत्यधिक मानवीय हस्तक्षेपले बाँदरको खाद्य चक्रलाई विथोलेको छ । हाँगा काट्ने, पात टिप्ने र फल संकलन गर्ने मानवीय क्रियाकलापले बाँदरलाई जङ्गलभित्र असुरक्षित महसुस गराउँछ । फलस्वरूप, उनीहरू मानिसले लगाएका बालीनालीमा पल्किन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्