
कक्षा १२ को जारी वार्षिक परीक्षाको मर्यादामाथि गम्भीर प्रश्न उठेपछि मोरङमा सुरक्षा संयन्त्र र परीक्षा बोर्डले सक्रियता बढाएका छन् ।
विराटनगर र सुनसरीका केही नाम चलेका निजी विद्यालय (कलेज)हरूले आफ्ना विद्यार्थीलाई पास गराउन परीक्षा केन्द्र र केन्द्राध्यक्ष नै ‘किन्ने’ गरेको गम्भीर आशंकामा प्रहरीले गोप्य रूपमा अनुसन्धान शुरू गरेको हो ।
अनुगमनका क्रममा ‘संस्थागत सेटिङ’मार्फत चिट चोराउने गरिएको आशंकापछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
२० जना केन्द्राध्यक्षहरूलाई राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले स्पष्टीकरण समेत सोधेको छ ।
बोर्डले ती केन्द्राध्यक्षहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए वा आगामी परीक्षामा पुन: गल्ती दोहोरिएमा उनीहरूलाई तत्काल बर्खास्त गरी वैकल्पिक व्यवस्था गर्ने चेतावनी दिइएको छ ।
अनुगमनका क्रममा बरामद गरिएका चिटहरूको प्रकृति हेर्दा यो कुनै विद्यार्थीले व्यक्तिगत रूपमा गरेको प्रयास नभई कुनै गिरोह वा दक्ष व्यक्तिले व्यावसायिक रूपमा तयार पारेको देखिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार बरामद भएका चिटहरू कुनै प्रेस वा कम्प्युटरमा दक्ष व्यक्तिले गाइड र गेस पेपरहरूलाई ‘मिनिमाइज’ (अत्यन्तै सानो) बनाएर प्रिन्ट गरेको जस्तो देखिन्छ ।
प्रजिअ कटेलले भने, ‘जिल्लाभर नै चिटको प्रकृति एकै रूपको देखिएको छ । यसले के संकेत गर्छ भने यो कुनै योजनाबद्ध ढंगले तयार पारिएको सामग्री हो । यस्ता गतिविधिमा संलग्न गिरोहबारे हामीले सूक्ष्म रूपमा सूचना संकलन गरिरहेका छौं ।’
परीक्षा केन्द्र रहेका केही सरकारी र निजी विद्यालयका केन्द्राध्यक्षहरूले निजी कलेजसँग पैसा लिएर उनीहरूका विद्यार्थीलाई चिट चोर्न छुट दिएको हुनसक्ने सुरक्षा निकायको अनुमान रहेको छ ।
बोर्डका निर्देशक प्रकाशकुमार खरेलले मोरङका १४ वटासहित सुनसरीका केही केन्द्रमा अत्यधिक चिट चोराएको पाइएको जानकारी दिए । उनका अनुसार सोमबार र मंगलबार ५ वटा विशेष टोलीले गरेको आकस्मिक निरीक्षणका क्रममा केन्द्राध्यक्ष र निरीक्षकहरूकै प्रत्यक्ष संरक्षणमा अमर्यादित गतिविधि भएको भेटिएको थियो ।
खरेलले भने, ‘अहिलेसम्म १०–१२ जना केन्द्राध्यक्षले गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित स्पष्टीकरण बुझाइसक्नुभएको छ । अब बाँकी रहेका ३ वटा विषयको परीक्षालाई पूर्ण रूपमा मर्यादित बनाउन हामी प्रतिबद्ध छौं ।’
परीक्षामा भइरहेको यो संगठित ‘अपराध’मा आर्थिक लेनदेनको आशंका भएपछि स्थानीय प्रहरीलाई अनुसन्धान गर्न भनिसकेको मोरङका प्रजिअ कटेलले बताए । आर्थिक लेनदेनको विषय पुष्टि भएमा यसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई समेत छानबिनका लागि अनुरोध गर्न सकिने बोर्डको तयारी छ ।
विराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्डले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम गरी १० वटा जिल्लाका ६० हजार ७५ जना परीक्षार्थीको व्यवस्थापन गरिरहेको छ ।
हालसम्म बोर्डको टोलीले २४ वटा विद्यालयमा पुगेर निरीक्षण गरिसकेको छ । बाँकी ४ जिल्लाहरू (उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु)को जिम्मेवारी भने लहानस्थित कार्यालयले हेर्दै आएको छ ।