
अत्यधिक गर्मीका कारण कपिलवस्तुको तौलिहवा नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् ।
तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको हो ।
नगर कार्यपालिकाको कार्यालयको शुक्रबारको निर्णयअनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिइएको हो ।
उक्त बिदा वर्षे बिदाबाट मिलान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले अत्यधिक तापक्रमका कारण विद्यालयमा नियमित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भएको तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेकाले बिदा दिनुपरेको बताए ।
