२४ जेठ २०८३, आइतबार
विशेष सम्पादकीय

११औं वर्षमा लोकान्तर : एआईको मर्यादित प्रयोग र भिडियो सामग्री अबको लक्ष्य

बैशाख २४, २०८३
काठमाडौं
११औं वर्षमा लोकान्तर : एआईको मर्यादित प्रयोग र भिडियो सामग्री अबको लक्ष्य

लोकान्तर डट्कमले स्थापनाको १० वर्ष पूरा गरेको छ । एक दशकको यो यात्रामा हामीलाई साथ दिनुहुने तमाम पाठक, दर्शक, विज्ञापनदाता, लेखक एवं स्तम्भकार तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हृदयदेखि आभार व्यक्त गर्दछौं । आगामी दिनमा पनि यहाँहरूको यस्तै साथ र सहयोगको अपेक्षा राख्छौं ।

खोजी पत्रकारितालाई मूल मन्त्र बनाएर यात्रा आरम्भ गरेको नेपालको डिजिटल पत्रिका लोकान्तर डट्कम राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर २०७३ वैशाख २४ गते शुभारम्भ भएको थियो ।

एक दशकको अवधिमा लोकान्तरले खोजी पत्रकारितामा फरक पहिचान बनाएको छ ।

पछिल्ला वर्षहरूमा देशमा भएका ठूला राजनीतिक घटनाक्रम र सरकार हेरफेरबारे हामीले पाठकलाई एक कदम पहिले नै ब्रेकिङ समाचार दिन सफल भयौं ।

भर्खरै सम्पन्न आमनिर्वाचनमा पनि हामीले जनताले व्यक्त गर्न खोजेको अभिमतबारे पाठकलाई पहिल्यै सूचित गरेका थियौं । अर्थात्, यसपटकको चुनावमा 'नयाँ दलको पक्षमा सुनामी आउँदैछ' भनेर हामीले चुनावको एक महिना पहिल्यै पूर्वसंकेत दियौं । हाम्रो चुनावी सर्भेक्षण र सम्भावित नतिजा ९५ प्रतिशतभन्दा बढी मिल्न पुग्यो ।

एक दशकको बीचमा हामीले देशमा भएका कैयौं बेथिति, अनियमितता र भ्रष्टाचारका काण्डको पर्दाफास गरेका छौं ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी सवारी साधनको दुरूपयोग रोक्न कदम चालेको छ ।

सिंहदरबारमा सरकारी गाडीको दुरूपयोगबारे हामीले सूचनाको हकसम्बन्धी कानून प्रयोग गरेर दर्जनौं खोजमूलक समाचार बाहिर ल्याएका थियौं । पछि हामीले ती समाचारको प्रभाव र विश्लेषणसहित 'रजाइँ' नामक पुस्तक नै प्रकाशित गर्‍यौं ।

सार्वजनिक निकायमा हुने गरेका कैयौं अनियमितता, भ्रष्टाचार र गैरकानूनी कामबारे गरिएका रिपोर्टिङ र तिनले पारेका सकारात्मक प्रभावबारे ‘समृद्धिका तगारा’ नामक दोस्रो पुस्तक पनि हाम्रा पाठक र शुभचिन्तकको हातमा पुगिसकेको छ ।

सूचना प्रविधिको तीव्र विकाससँगै मानिसहरूले सामाजिक सञ्जाललाई सूचनाको पहिलो रोजाइको माध्यम बनाएका छन्, जहाँ मिथ्या सूचनाको बाढी छ । त्यो भीडमा हामीले सूचनाका साथै त्यसबारे गहिराइसम्मको विश्लेषण पस्किने प्रयास गरिरहेका छौं ।

अर्थतन्त्रको शिथिलतासँगै संकुचित बन्दै गइरहेको बजारका कारण सञ्चार माध्यमहरूले आर्थिक संकट व्यहोरिरहेका छन् । यस्ता कैयौं चुनौतीका बाबजुद हामीले भविष्यमा पनि पाठकलाई भरपर्दो र विश्वसनीय सूचना दिने प्रयत्न जारी नै राख्ने छौं ।

पाठकहरूको बदलिँदो रुचि अनुसार आगामी दिनमा हामीले हाम्रा सामग्रीलाई मल्टिमिडिया र भिडियोमा केन्द्रित गर्दै लैजाने छौं, जहाँ एआईबाट प्राप्त हुनसक्ने सुविधालाई व्यावसायिक मर्यादाभित्र रहेर भरपूर उपयोग गर्ने रणनीति अख्तियार गरिसकेका छौं ।

अनेकन प्रतिकूलता, उतारचढाव र अन्योलताका बीच हामी कति पनि विचलित नभई खोजी पत्रकारिताको अभ्यासलाई टिकाइराख्ने अभियानमा दृढ उभिनेछौं ।

salt training

कमेन्ट गर्नुहोस्