
अर्जेन्टिनाबाट १ अप्रिलमा यात्रामा निस्केको एट्लान्टिक क्रुज जहाजको प्रकोपमा बिरामी परेकामध्ये पाँच व्यक्तिमा हान्टाभाइरस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार थप तीन जना बिरामीमा हान्टा भाइरस सङ्क्रमणको आशङ्का गरिएको छ भने थप सङ्क्रमित भेटिनसक्ने सम्भावना देखिएको छ ।
डब्ल्युएचओले भनेको छ, “सार्वजनिक स्वास्थ्य सावधानीहरू राम्रोसँग पालना भएमा हाल अर्जेन्टिनाको केप भर्डेबाट स्पेनिस टापु टेनेरिफतर्फ यात्रा गरिरहेको ‘एमभी होन्डियस’मा प्रकोप सीमित हुने अपेक्षा गरिएको छ ।”
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने, “अहिलेसम्म आठ सङ्क्रमित भेटिएका छन् र तीमध्ये तीन जनाको मृत्यु भएको छ । आठ सङ्क्रमितमध्ये पाँचमा हान्टाभाइरस भएको पुष्टि भएको छ र अन्य तीन जनामा शङ्का गरिएको छ ।”
जेनेभामा पत्रकारसँग कुरा गर्दै उनले भने, “यो सङ्क्रमणमा संलग्न हान्टा भाइरसको प्रजाति एन्डिज भाइरस हो, जुन ल्याटिन अमेरिकामा पाइन्छ ।”
“एन्डिज भाइरसको सङ्क्रमण फैलिनसक्ने छ हप्तासम्मको अवधिलाई ध्यानमा राख्दै सङ्क्रमित सङ्ख्या अहिले देखिएकोभन्दा बढ्न सक्ने अनुमान गरिएको छ,” उनले भने ।
डच झण्डा भएको जहाज अप्रिल १ मा अर्जेन्टिनाको उसुइयाबाट एटलान्टिक महासागर हुँदै केप भर्डे पुगेको थियो । यो बुधबार टेनेरिफको उत्तरतिर प्रस्थान गरेको थियो ।
टेड्रोसले आफू जहाजका क्याप्टेनसँग नियमित सम्पर्कमा रहेको बताएका छन् ।
“जहाज फेरि चल्न थालेपछि मनोबल उल्लेखनीय रूपमा सुधार भएको छ । जहाजमा रहेका व्यक्तिको सुरक्षाका लागि गरिएको कामप्रति धन्यवाद दिन्छु,” टेड्रोसले भने ।
डब्ल्युएचओका आपतकालीन सेवा तथा प्रतिक्रिया निर्देशक अब्दी रहमान महमुदले भने, “यदि सार्वजनिक स्वास्थ्य सावधानीहरू लागू गरियो र सबै देशहरूमा ऐक्यबद्धता देखाइयो भने यो प्रकोप सीमित हुनेछ ।”
दुर्लभ रोग भनिएको हान्टाभाइरस सामान्यतया सङ्क्रमित मुसा तथा तिनको पिसाब, मलमूत्र र थुकबाट फैलन्छ ।
एन्डिज भाइरस दक्षिण अमेरिकामा पाइन्छ । यो मानिसबाट मानिसमा सर्ने एक मात्र प्रजातिको हान्टा भाइरस हो ।
टेड्रोसले अर्जेन्टिनाले पाँच देशका प्रयोगशालामा दुई हजार ५०० परीक्षण सामग्री (किट) पठाउने बताएका छन् ।