२४ जेठ २०८३, आइतबार
बहुप्रतिक्षीत सडक

सूर्यविनायक–धुलिखेल सडक विस्तारले लियो गति, ६ लेन ‘लाइफलाइन’को काम फागुनभित्र सक्ने लक्ष्य

बैशाख ३०, २०८३
काठमाडौं

काठमाडौंदेखि पूर्वी नेपाल जाने मुख्य सडकका रूपमा परिचित सूर्यविनायक–धुलिखेल सडक खण्ड वर्षौंदेखि धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको समस्याले चिनिँदै आएको थियो ।

यात्रु र स्थानीयवासीले दैनिक सास्ती खेप्दै आएको यो सडकमा अहिले निर्माण कार्यले केही गति लिएको देखिएको छ ।

वालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि काठमाडौं उपत्यकाको महत्वपूर्ण पूर्वाधार परियोजनामध्ये एक मानिएको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको कामले केही गति लिएको हो ।

लामो समयदेखि निर्माणको ढिलाइबाट निराश बनेका स्थानीय र यात्रुहरू अहिले भने सडक विस्तारले अपेक्षाकृत गति लिन थालेपछि केही आशावादी देखिएका छन् ।

भक्तपुर हुँदै काभ्रे जोड्ने यो सडक पूर्वी नेपाल प्रवेश गर्ने मुख्य मार्ग हो । त्यसैले यसलाई केवल एउटा सडक परियोजनाका रूपमा होइन, देशकै महत्वपूर्ण यातायात पूर्वाधारका रूपमा हेरिएको छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते गरिएको थियो । १५ दशमलव ८ किलोमिटर लामो सडकलाई ६ लेनमा विस्तार गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो ।

प्रारम्भिक सम्झौताअनुसार आयोजना २०८२ पुस २३ गतेभित्र सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण सामग्री अभाव, विभिन्न अवरोध तथा अन्य समस्याका कारण निर्धारित समयभित्र काम सम्पन्न हुन सकेन । त्यसपछि दोस्रोपटक म्याद थप गरेर अहिले निर्माण कार्य जारी राखिएको छ ।

आयोजनाका अनुसार थपिएको समयभित्रै सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो सडक खण्डलाई दुई भागमा विभाजन गरेर निर्माण भइरहेको छ ।

पहिलो खण्डअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ७ दशमलव ५ किलोमिटर सडक पर्दछ भने दोस्रो खण्डमा साँगादेखि धुलिखेलसम्मको ८ दशमलव ३ किलोमिटर सडक समेटिएको छ ।

आयोजनाका इन्जिनियर धनबहादुर बुढाका अनुसार पहिलो खण्ड अर्थात् सूर्यविनायकदेखि साँगासम्मको सडक निर्माणको भौतिक प्रगति हालसम्म करिब ४८ प्रतिशत पुगेको छ । कतिपय स्थानमा नाला निर्माणको काम सम्पन्न भइसकेको छ भने केही भागमा पहिलो तहको कालोपत्रेसमेत गरिएको उनले बताए ।

यता साँगादेखि धुलिखेलसम्मको दोस्रो खण्डको काम भने तुलनात्मक रूपमा अझ तीव्र गतिमा अघि बढिरहेको छ । आयोजनाका अनुसार उक्त खण्डमा हालसम्म करिब ७० प्रतिशत प्रगति हासिल भएको छ ।

६ वटै लेनमा करिब ६ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ भने ड्रेन, कल्भर्ट र क्रसिङ निर्माणका अधिकांश काम पनि सकिएको आयोजनाले जनाएको छ ।

हाल आयोजनाका मुख्य संरचनागत काम अधिकांश सम्पन्न भइसकेका छन् । तर, केही स्थानमा मुआब्जा विवाद र विद्युतीय पोल सार्ने काम बाँकी रहेकाले निर्माणमा आंशिक अवरोध देखिएको छ ।

विशेषगरी सूर्यविनायकदेखि साँगासम्मको मुख्य लेनमा करिब १ दशमलव ५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको अवस्था रहेको आयोजनाले जनाएको छ ।

इन्जिनियर बुढाका अनुसार अन्तर्राष्ट्रिय युद्धको प्रभावका कारण पेट्रोलियम पदार्थ र बिटुमिन अभाव हुँदा निर्माण कार्य प्रभावित भएको थियो । निर्माण सामग्रीको मूल्य वृद्धि र आपूर्तिमा समस्या आएपछि कामले निरन्तर गति लिन नसकेको उनले बताए ।

यद्यपि अहिले निर्माण कार्य नियमित रूपमा अघि बढिरहेको र २०८३ सालको फागुनसम्म सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

यस आयोजनाको अर्को महत्वपूर्ण पक्ष भने साँगाको पहाडी क्षेत्रमा निर्माण भइरहेको दुई लेनको अन्डरपास हो ।

रोचक पक्ष के छ भने प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा अन्डरपास निर्माणको योजना समावेश गरिएको थिएन । तर, निर्माण कार्य अगाडि बढ्दै जाँदा साँगाको अग्लो पहाडी क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक देखिएपछि भेरिएसन अर्डरमार्फत छुट्टै अन्डरपास निर्माण शुरू गरिएको हो ।

आयोजनाका अनुसार उक्त अन्डरपास निर्माणको काम हाल करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने दुई लेन यही अन्डरपासभित्र पर्नेछन् ।

इन्जिनियर बुढाका अनुसार अन्डरपासको मुख्य संरचना र एप्रोच सडक निर्माण सम्पन्न भइसकेको छ भने अहिले साइड शेयरवाल र पेभमेन्ट सतहको काम अन्तिम चरणमा पुगेको छ ।

आयोजनाले अन्डरपास निर्माण सम्पन्न भएपछि साँगा क्षेत्रमा हुने ट्राफिक चाप कम हुनुका साथै यात्रुहरूको आवागमन अझ सुरक्षित र सहज हुने अपेक्षा गरेको छ ।

तर, निर्माणको गति बढे पनि स्थानीयवासीको दैनिक संघर्ष भने अझै समाप्त भएको छैन । निर्माण क्षेत्रमा धुलो, हिलो र अव्यवस्थित आवागमनका कारण यात्रु तथा स्थानीयलाई दैनिक आउजाउ गर्न कठिन भइरहेको छ ।

विशेषगरी वर्षायाममा हिलो र सुक्खा मौसममा अत्यधिक धुलोका कारण स्थानीय बासिन्दा प्रभावित बनेका छन् ।

साँगा निवासी रामजी श्रेष्ठका अनुसार शुरूआति चरणमा निर्माण कार्य निकै सुस्त देखिए पनि पछिल्लो समय कामले गति लिएको छ । केही समय असहजता सहेर भए पनि दीर्घकालीन रूपमा सहज र सुरक्षित सडक बन्ने अपेक्षामा स्थानीयहरू रहेको उनले बताए ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाको दोस्रोपटक थप गरिएको म्यादसहित ठेक्का सम्झौता रकम करिब ४ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

बर्सेनि बढ्दो सवारी चापका कारण साँघुरो सडकमा अत्यधिक ट्राफिक जाम हुने समस्या बढ्दै गएपछि सरकारले उक्त सडकलाई ६ लेनमा विस्तार गर्ने योजना अघि सारेको हो ।

विशेषगरी पूर्वी नेपाल जाने हजारौं सवारी साधनले यही मार्ग प्रयोग गर्ने भएकाले यो आयोजनालाई अत्यन्तै महत्त्वपूर्ण पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ ।

निर्माण सम्पन्न भएपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको यात्रा समय छोटिने, ट्राफिक जाम कम हुने, दुर्घटना न्यूनीकरण हुने तथा स्थानीय व्यापार–व्यवसाय र पर्यटन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्