२७ जेठ २०८३, बुधबार

कांग्रेस-एमाले भागबन्डा मिलाउन कोशी खेलकुद बोर्डमा थपियो एक उपाध्यक्ष र १० सदस्य

बैशाख ३१, २०८३
विराटनगर
कांग्रेस-एमाले भागबन्डा मिलाउन कोशी खेलकुद बोर्डमा थपियो एक उपाध्यक्ष र १० सदस्य

कोशी प्रदेश सरकारले भागबन्डा मिलाउनका लागि २५ सदस्यीय खेलकुद परिषद् बनाउने भएको छ । यसअघि १५ जनाको समिति रहेकोमा अब २५ सदस्यीय बनाउने गरेर प्रदेश सरकारले अध्यादेश ल्याएको हो ।

कोशी प्रदेश सरकारले ‘कोशी प्रदेश खेलकुद ऐन, २०७६’ लाई पहिलो पटक संशोधन गर्न ल्याएको अध्यादेशमा १० जना सदस्य थपिन सक्नेगरी बनाइएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको कोशी प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ मा एक उपाध्यक्ष समेत थप्ने गरी बनाइएको छ ।

सरकारले खेलकुद क्षेत्रलाई थप समावेशी, गतिशील र प्रशासनिक रूपमा सहज बनाउन अध्यादेश ल्याएको दाबी गरेको छ । कोशीमा एमाले-कांग्रेसको सरकार रहेको छ । 

सामाजिक विकासमन्त्री  रामप्रसाद महतोले यो अध्यादेश खेलकुद क्षेत्रको वृहत्तर हितमा रहेको जिकिर गरेका छन् । उनले अध्यादेश ल्याएपछि सबैले यसरी नै प्रश्न गरिरहेको बताउँदै भागबन्डा गर्नका लागि अध्यादेश नल्याएको दाबी गरे ।

८–९ महिनादेखि खेलकुद विकास बोर्ड नेतृत्वविहीन रहँदा खेलकुदका कार्यक्रम ठप्प भएका थिए । महिलालाई सुनिश्चित गर्नका लागि एक उपाध्यक्ष थपिएको उनले बताए ।

‘पहिलेको ऐनमा १५ जना सदस्य रहने व्यवस्था थियो, जसले गर्दा सबै क्षेत्र र विधालाई समेट्न गाह्रो भएको थियो । अहिलेको अध्यादेशमा सदस्य संख्या बढाएर २५ जना पुर्‍याइएको छ, जसमा ५ जना महिला सदस्य हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। यसले खेलकुद बोर्डलाई थप समावेशी बनाउनेछ’, मन्त्री महतोले अध्यादेशका मुख्य प्रावधानबारे जानकारी दिँदै भने, ‘हामीले ऐन नै बनाउने तयारी गरिरहेका थियौं, तर ऐन बनाउन समय लाग्ने र तत्काल बोर्डलाई सक्रिय बनाउनुपर्ने भएकाले ‘फास्ट ट्रयाक’बाट अध्यादेश ल्याइएको हो ।’

सदस्य सचिव र महिला उपाध्यक्ष एमालेले लिने र कांग्रेसलाई एक जना उपाध्यक्ष दिने सहमति अनुसार अध्यादेशमा संख्या थपिएको स्रोतले बतायो । 

salt training

कमेन्ट गर्नुहोस्