पुल्चोक बसस्टपमा अब यात्रुहरूले बस कहाँ आइपुग्यो होला भनेर छट्पटिएर बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर ३ ले यात्रुहरूको सहजताका लागि जीपीएसमा आधारित बस ट्रयाकिङसहितको एलईडी डिस्प्ले सेवा सञ्चालनमा ल्याएसँगै यात्रुहरूलाई सहजता भएको छ ।
सार्वजनिक बसमा जडान गरिएको जीपीएस प्रविधिमार्फत कुन बस अहिले कहाँ आइपुग्यो भन्ने नम्बरसहितको जानकारी यात्रुले प्रत्यक्ष स्क्रिनमै हेर्न सक्छन् ।
यो प्रणाली शुरू भएपछि यात्रुले लामो समय अनिश्चित भएर बस कुर्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । विशेषगरी कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा दैनिक सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणलाई यसले ठूलो राहत दिने विश्वास गरिएको छ ।
वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनका अनुसार बसस्टपमा हुने अत्यधिक भीड, बस आउँदा सहचालकहरूले यात्रु तानातान गर्ने समस्या र अव्यवस्थित यात्रु व्यवस्थापन देखेपछि यो प्रविधि लागू गरिएको हो ।
‘बसस्टपमा यात्रुको अत्यधिक भीड र सहचालकहरूले यात्रु तानातान गर्ने समस्या देखेपछि हामीले पुल्चोकमा यो प्रणाली शुरू गरेका हौं । करिब ८ लाख ५० हजार रूपैयाँ लागतमा यो सेवा सञ्चालनमा ल्याइएको हो’, वडाध्यक्ष महर्जनले भने ।
पुल्चोक बसस्टपमा भेटिएका यात्रु केशवलाल महर्जनले यो प्रणालीले यात्रुलाई ठूलो सहजता मिलेको प्रतिक्रिया दिए ।
‘अब बस कहिले आउँछ भनेर अनावश्यक तनाव लिनु पर्दैन । स्क्रिनमै सबै देखिन्छ, धेरै सजिलो भयो । यस्तो सेवा देशभर नै विस्तार गर्नुपर्छ जस्तो लाग्छ’, उनले भने ।
सार्वजनिक यातायातलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन स्थानीय तहले गरेको यस प्रयासको अहिले प्रशंसा भइरहेको छ ।
हेर्नुहोस् भिडियो सामग्री :