महाभारतका पात्र भीष्मको नाम नसुन्ने हामीमध्ये कमै हुनुपर्दछ । महाभारतको आदिपर्वमा उनको जन्मप्रकरणसम्बन्धी सानो प्रसङ्ग भेटिन्छ ।
कथाअनुसार एकपटक स्वर्गमा भव्य सभा आयोजना भएको थियो, जहाँ ब्रह्माजीसहित सारा देवीदेवता उपस्थित थिए । तिनै उपस्थित हुनेहरूमध्ये आफ्नो सत्कर्मले स्वर्ग प्राप्त गर्न सफल ईक्ष्वाकुवंशी महाभिष नामका राजा पनि थिए ।
सभामा उपस्थित गङ्गाको सौन्दर्य देखेर महाभिष मोहित भएका थिए भने त्यतिबेला गङ्गाले पनि उनीप्रति आशक्ति देखाएकी थिइन् । यस्तो कार्य स्वर्गको मर्यादाअनुकुल थिएन ।
त्यसैले ब्रह्माजीले उनीहरूलाई श्राप दिँदै भनेका थिए– ‘तिमीहरूले जुन हर्कत गर्यौँ, त्यो लज्जाजनक छ । त्यसैले तिमीहरूले तत्कालै मनुष्य चोलामा जन्म लिनुपर्नेछ ।
त्यतिबेला पनि तिमीहरू दुई पतिपत्नी हुनेछौ र यिनै गङ्गाको कारण महाभिषले नराम्ररी दु:ख पाउनुपर्नेछ ।
सोही श्रापमोचन गर्न उनीहरूमध्ये महाभिष शन्तनु भएर जन्मन आएका थिए भने गङ्गा गङ्गा उनकी पत्नी बन्न आएकी थिइन् तर भएको के थियो भने गङ्गा मर्त्यमण्डलतर्फ आउँदा बाटामा अष्ठवसुले आफूहरूलाई वसिष्ठले मानवचोलामा जन्मन जानुपर्ने श्राप दिएकाले त्यसबाट चाँडै नै मुक्त गरिदिन आग्रह गरेका थिए ।
तिनै अष्टवसुहरू नै पछि शन्तनु र गङ्गाको पुत्र भएर जन्मन आएका थिए, जसलाई गङ्गाले नदीमा बगाएर शापमुक्त गरेकी थिइन् । उनीहरूमध्ये आठौँ चाहिँ द्यौ नामका वसु थिए, जसले वसिष्ठकै श्रापका कारण लामो समयसम्म पृथिवीमा रहनुपरेको थियो ।
पछि गएर भीष्मको नामले परिचित हुने उनी नै थिए । के यो कथामात्र हो कि यसभित्र कुनै अर्कै रहस्य पनि छ ? आजको भिडियोमा हामी यसैबारे विस्तृत चर्चा गर्ने छौँ ।