२९ जेठ २०८३, शुक्रबार
रंगसँग रमाइरहेका गंगाधर

संघर्षको क्यानभासमा कोरिएको एउटा सुन्दर जीवन

जेठ २, २०८३
बुटवल
संघर्षको क्यानभासमा कोरिएको एउटा सुन्दर जीवन

रंगहरूको आफ्नै भाषा हुन्छ र हरेक पेन्टिङले एउटा कथा बोकेको हुन्छ। बुटवलका ४७ वर्षीय 'आर्टिस्ट' गंगाराम आचार्यको जीवन पनि यस्तै एउटा जीवन्त क्यानभास हो, जहाँ उनले दुःखका फिक्का रंगहरूलाई आफ्नो अदम्य साहसले चम्किलो बनाएका छन् । आम मानिसभन्दा कमजोर शारीरिक बनावट भए पनि उनले आफूलाई कहिल्यै कमजोर महसुस गरेनन्। दृढ इच्छाशक्ति र कडा मेहनतको बलमा विगत तीन दशकदेखि उनी आर्ट्सकै सहारामा आफ्नो जीवन सफल रूपमा चलाइरहेका छन्।

अग्ला भित्तामा अडिएर सुन्दर अक्षरमा बोर्ड लेख्ने, विद्यालयका पर्खालहरूमा बालमैत्री चित्र कोर्ने र आकर्षक ब्यानर बनाउने काममा उनको व्यस्तता लोभलाग्दो छ। शारीरिक बनावट कमजोर हुँदैमा मानिसको क्षमता कम हुँदैन र सङ्घर्ष गरेरै जीवनलाई सुन्दर बनाउन सकिन्छ भन्ने उनी गतिलो उदाहरण हुन्। 

मुख्यतया ब्यानर, होर्डिङ बोर्ड, साइन बोर्ड, र अन्य कलात्मक अक्षर तथा तस्बिरको पेन्टिङमा उनी अब्बल छन् । आर्ट्स र डिजाइनमा राम्रो प्रतिष्ठा बनाएका गंगा विशेष गरी सिर्जनशीलता र गुणस्तरका लागि चिनिन्छन् । उनी भन्छन्, ‘पहुँचयुक्त वातावरण राज्यले निर्माण गरिदिए हामीजस्ता गरेर खानेहरूलाई अरू केही आवश्यक पर्दैन ।’

उनको जीवन सङ्घर्ष भने निकै लामो देखिन्छ । पर्वतको साविक धाइरिङ गाविसमा जन्मिएका गंगालाई सानै उमेरमा पोलियो रोग लाग्यो । जसको समयमा उपचार हुन नसक्दा उनी जीवनभरका लागि शारीरिकरूपमा फरक बन्न पुगे । सानै उमेरमा बुवाको निधन भयो । आमालाई घरधन्दा र खेतीपातीले गर्दा उनलाई हेर्ने फुर्सद हुँदैनथ्यो । दाइदिदी पढ्न स्कुल जान्थे भने गंगाधर दिनभर हातखुट्टाले टेकेर घरवरिपरि डुल्ने गर्थे । स्कुल टाढा भएकाले उनी पुग्न सक्दैनथे, गाउँघरमा बोकेरै पुर्‍याउन पनि सम्भव थिएन ।

गंगाधरको उमेर बढ्दै जाँदा सास्ती पनि थपिँदै गयो । पोलियोले हिँडडुल गर्न नसक्ने आचार्यलाई आमा लक्ष्मीले २०४२ सालतिर बुटवल लिएर आइन् । बुटवलस्थित समाज कल्याण केन्द्र (हाल बालगृह) ले अनाथ तथा अपाङ्गता भएका बालबच्चालाई आश्रय दिन्छ र प्रवेशिका परीक्षा (एसएलसी) सम्म पढाइदिन्छ भन्ने जानकारी उनकी आमा लक्ष्मीले पाइन् । ७ वर्षका गंगालाई आमाले बुटवल छाडेर गएपछि परिवारको सम्झनाले धेरै सताएको क्षण उनको मानसपटलमा अझै पनि ताजै छ ।

बुटवल आएको ३ वर्षजति उनी मसिना खुट्टा घिसारेरै हिँडे । पोलियोका कारण उनको गोलीगाँठोभन्दा तलको भाग बाङ्गो थियो । खुट्टाहरू सीधा नभएर एकअर्कातर्फ फर्किएका थिए । बुटवल राजमार्ग चौराहामा रहेको केन्द्रमा बस्न थालेपछि उनी पढ्नका लागि कालिका मावि भर्ना भए । एक–डेढ किलोमिटर टाढाको स्कुल पुग्न गंगाधरलाई घण्टौँ लाग्थ्यो । २०४५ सालतिर केन्द्रकै पहलमा उनको थप उपचारका लागि काठमाडौं लगियो ।

झन्डै एक वर्ष काठमाडौंमा उपचार गरेपछि उनका पैताला अगाडितर्फ फर्किए । त्यसपछि उनी खुट्टा टेकेर हिँडडुल गर्न सक्ने भए । खुट्टामा थप सुधार हुँदै थियो, तर २०४६ सालको जनआन्दोलन शुरू भएपछि थप उपचार हुन सकेन । त्यसपछि उनी बुटवल फर्किएर आफ्नो पढाइलाई निरन्तरता दिन थाले । उनी बसिरहेको केन्द्रमा एसएलसी दिने बेलासम्म मात्रै बस्न पाइन्थ्यो, त्यसैले पछि उनी त्यहाँबाट बाहिरिनुपर्‍यो ।

त्यसपछि उनलाई चिन्ताले सताउन थाल्यो । केन्द्रबाट निस्केपछि के गर्ने ? कहाँ बसेर आफ्नो रोजीरोटी चलाउने भन्ने पीडा मनमा थियो । उता घरबाट आमा र दाई पनि बसाइँसराइ गरी चितवन झरिसकेका थिए । केन्द्रबाट एसएलसी दिएपछि निस्कनुपर्ने सूचना पाएपछि दाई उनलाई लिन बुटवल आए पनि उनी जान तयार भएनन् । ‘सुरुमा पसल अगाडि फालिएका वा च्यातिएका पैसा जम्मा गरेर बैंक लैजान्थेँ,’ गंगा सुनाउँछन्, ‘च्यातिएका पैसा साटेर नयाँ पाइने, त्यसै गरी केही समय बिताए । मेरो रुचि पेन्टिङमा थियो, त्यसैले २०५३ देखि पेन्टिङ शुरू गरेँ । त्यसपछि यही कामलाई निरन्तरता दिँदै आएको छु ।’

त्यस बेला पेन्टिङ व्यवसाय राम्रो चल्थ्यो । चुनावको समयमा झण्डा र ब्यानर बनाउने कामले भ्याइनभ्याइ हुन्थ्यो, उनी त्यो क्षण सम्झिन्छन् । राजनीतिक दलका झण्डा, राष्ट्रिय झण्डा, स्कुल तथा कक्षाकोठाका भित्तामा विभिन्न चित्र तथा अक्षर लेख्नुपरे पहिलो रोजाइमा उनकै नाम आउँथ्यो । तर, अहिले चुनावमा झण्डा र चुनाव चिह्नको बढी प्रयोग गर्न नदिने निर्वाचन आयोगको निर्णयले उनको काममा धेरै असर (ह्याम्पर) गरेको छ ।

उनको पारिवारिक जीवनको शुरूआत पनि रोचक छ । २०६२ सालमा बुटवलकै एउटा स्थानीय रेडियोमा गंगाधरको अन्तर्वार्ता बजेको थियो । त्यो कुराकानी रेडियोबाट सुनेपछि गौरी नाम गरेकी युवतीले उनलाई पत्र पठाइन् । चार महिनासम्म पत्र आदानप्रदानको क्रम जारी रह्यो र पछि उनीहरूले प्रेम विवाह गरे । अहिले उनीहरूका दुई सन्तान छन् । जेठी छोरी गरिमा स्नातक तहमा पढ्छिन् भने कान्छी छोरी कक्षा ८ मा पढ्छिन् । एकपटक काम लगाएका ग्राहकहरूले अहिले पनि गंगाधरबाटै काम गराउने गरेका छन् ।

गंगाधर पाइला–पाइलामा आइपर्ने अप्ठ्यारा पर्खालहरूलाई छिचोल्दै अहिले एक सफल कलाकार (आर्टिस्ट) को रूपमा स्थापित भएका छन् । तीन दशकदेखि सिर्जनशीलतामा रमेका गंगाधर अहिले ‘गंगा आर्टस्’को नामले बढी परिचित रहेको सुनाउँछन् । ४७ वर्षका गंगाराम भन्छन्, ‘दुःखमा भोगेका अलग रंगहरू अहिले म पेन्टिङमा देख्छु । एक्लै सङ्घर्ष गरेर यो अवस्थासम्म आइपुगेँ । यदि म समस्याबाट भागेको भए अहिले यो अवस्थासम्म आइपुग्ने थिइनँ । समस्यासँग डराउनु भनेको अन्य समस्यालाई निमन्त्रणा दिनुजस्तै हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्ने रहेछ, जीवन नै यही रहेछ भन्ने मैले सङ्घर्षबाटै सिकेँ र बुझेँ ।’

ठूला भित्ते पेन्टिङ गर्न गंगाधरलाई खुट्टाले साथ दिँदैन । भुइँमै बसेर र सामान्य उभिएर गर्नुपर्ने काम उनी एक्लै गर्छन् भने ठूला पेन्टिङको काम साथीहरूसँग मिलेर गर्दै आएका छन् । आचार्य भन्छन्, ‘पहिले खासै व्यापार हुन्थेन, अहिले ‘आर्ट’ लाई मानिसहरूले बिस्तारै बुझ्न पनि थालेका छन् । मेहनतको प्रतिफल राम्रै भइरहेको छ । आफूसहित परिवारलाई खुसी राख्न सकेको छु ।’

आर्ट मनको आनन्द पनि हो, कलाभित्र सन्तुष्टि हुनुपर्छ भन्दै उनी निरन्तर लागिरहेका छन् । ‘कला मेरो रोजाइको विषय हो, यसबाट म सन्तुष्ट छु,’ गंगाधर भन्छन्, ‘विगतमा भित्तेलेखन व्यवसाय खासै माथि उठ्न सकेको थिएन । यो व्यवसायका विषयमा मानिसहरूमा ज्ञान समेत कम हुन्थ्यो । आज त्यो अवस्था छैन, अहिले त आर्टस अध्ययन समेत गर्न पाइन्छ ।’ पछिल्लो समय कला क्षेत्रमा रुचि राख्ने युवाहरूको सङ्ख्या पनि बढ्दो छ ।
 

salt training

कमेन्ट गर्नुहोस्