
नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ ।
लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा शुरू गरिएको बैंकले जनाएको छ ।
यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा शुरू भएको हो ।
समझदारी पत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।
एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा शुरू गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार एकीकृत लगानी सेवा शुरू भएसँगै नबिल बैंकका ग्राहकले अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआईपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सक्नेछन् ।
एनबैंकका प्रयोगकर्ताले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआईपी, टीएमएस’ आइकनमा क्लिक गरी एसआईपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।
‘ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो’, बैंकका नायब प्रमुख बजगाईंले भने । ‘एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौं ।’
उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ ।
विस्तारित सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवालाई निरन्तर सुधार गर्दै सेवाग्राहीलाई एकीकृत प्लेटफर्ममार्फत वित्तीय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ ।
नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ ।
चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।