
सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवको फ्लाइट गत बैशाख २९ गते थियो । सरकारको 'फ्रि भिसा फ्रि टिकेट'को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रूपैयाँ तिरिसकेका थिए ।
तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले '३ लाख रूपैयाँभन्दा एक रूपैयाँ पनि कम लिन्न' भनेपछि उनी मलेसिया उड्न पाएनन् । उता रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो । तर, ३ लाख रूपैयाँ नतिर्दा विदेश गएर कमाउँछु भन्ने अजयको सपना साकार हुन सकेन ।
म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रूपैयाँ तिरे जेठ ३ गते उडाइदिने बतायो । त्यसपछि उनले पैसाको जोहो गरे । नाइट गाडी चढेर शनिबार बिहान काठमाडौं ओर्लिए ।
कम्पनीको एक जना कर्मचारीले शनिबारै बिहान अजयलाई फोन गरे । पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिए भेट्न बोलाए ।
त्यतिबेलासम्म अजयले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई आफूले भोगेका समस्या सुनाइसकेका थिए ।
अजयको समस्या समाधान गर्न मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव खटिए । केही सञ्चारकर्मीका साथ तीनकुनेस्थित प्रहरी वृत्त पुगे । त्यहाँ प्रहरी अधिकारीहरूका साथ सो टोली अजय र म्यानपावरका ती कर्मचारी भेट्दै गरेको ठाउँसम्म पुग्यो । म्यानपावरमा भिसा शाखामा काम गर्ने बताउने ती कर्मचारीले सुरूमा अजयसँग पैसा मागे । अजयले पासपोर्ट र कागजात दिएपछि मात्र पैसा दिन्छु भनेपछि केहीबेर भनाभन भयो । त्यतिबेलै प्रहरीले म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लियो ।
फ्रि भिसा फ्रि टिकेट नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याइयो ।
ग्रान्ड स्विट जबका ती कर्मचारीको साथबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकेट र अन्य महत्त्वपूर्ण कागजात रहेको पाइयो । उनले चारै जनासँग रकम लिएर कागजात दिने मनसाय बनाएको पाइएको छ ।
यादव मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जाने प्रक्रियामा थिए । उनले सो म्यानपावरको झापास्थित शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गरेका थिए । मलेसिया जानका लागि सरकारले तोकेको आधिकारिक शुल्क जम्मा १० हजार रुपैयाँ मात्र भए तापनि म्यानपावरले यादवसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको हो । म्यानपावरले सुरुमा १० हजार छुट गरिदिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाएको थियो । पीडित यादवले टिकट र अन्य प्रक्रियाका लागि भन्दै यसअघि नै ७० हजार रुपैयाँ नगद बुझाए पनि बाँकी पैसा नबुझाएसम्म उनको राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले बन्धक बनाएको थियो ।
पक्राउ परेका एजेन्टले सुरुमा आफूले पैसा लिएर मात्र कागजात दिन लागेको दाबी गरे तापनि प्रहरीले 'फ्री भिसा फ्री टिकट भएको देशमा किन ३ लाख रुपैयाँ मागेको ?' भन्दै प्रश्न गरेपछि उनी चुप बनेका थिए । प्रहरीको सक्रियतामा यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरिएपछि यादव आइतबार मलेसिया उड्न पाउने सुनिश्चित भएको छ ।