२८ जेठ २०८३, बिहीबार

कंगो र युगान्डामा इबोला संक्रमण, डब्लूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा

जेठ ३, २०८३
काठमाडौं
कंगो र युगान्डामा इबोला संक्रमण, डब्लूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डामा फैलिएको इबोला संक्रमणलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । 

डब्लुएचओले आइतबार यस्तो घोषणा गर्दै संक्रमण छिमेकी मुलुकमा फैलिने उच्च जोखिम रहेको जनाएको हो ।

डब्लूएचओका अनुसार यो संक्रमण बुन्डिबुग्यो भाइरसका कारण फैलिएको हो । हालको अवस्था महामारी घोषणा गर्ने स्तरमा नपुगे पनि कंगोसँग स्थल सीमाना जोडिएका देशहरू उच्च जोखिममा रहेका जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले जारी गरेको विवरणअनुसार शनिबारसम्म कंगोको इटुरी प्रान्तमा कम्तीमा ८० जनाको शंकास्पद मृत्यु भएको छ । त्यस्तै, आठ जनामा प्रयोगशालाबाट संक्रमण पुष्टि भएको तथा २४६ जनामा संक्रमणको आशंका गरिएको छ । 

संक्रमण बुनिया, राम्पवारा र मोंग्बवालुसहित कम्तीमा तीन स्वास्थ्य क्षेत्रमा फैलिएको डब्लूएचओले जनाएको छ ।

यसअघि कंगोको स्वास्थ्य मन्त्रालयले शुक्रबार पूर्वी क्षेत्रमा फैलिएको नयाँ प्रकोपका कारण ८० जनाको मृत्यु भएको जानकारी दिएको थियो । सन् १९७६ मा पहिलो पटक इबोला भाइरस पहिचान भएपछि कंगोमा देखिएको यो १७ औं प्रकोप हो ।

डब्लूएचओले प्रारम्भिक नमूनामा उच्च संक्रमण दर देखिएको र शंकास्पद बिरामीको संख्या लगातार बढिरहेको भन्दै वास्तविक संक्रमण अझ ठूलो हुन सक्ने चेतावनी दिएको छ ।

डब्लूएचओका अनुसार बुन्डिबुग्यो भाइरसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन । यसअघि कंगोमा देखिएका अधिकांश इबोला प्रकोप ‘जाइर’ प्रजातिका भाइरसबाट फैलिएका थिए ।

संक्रमण अन्तर्राष्ट्रिय रूपमा फैलिन थालेको भन्दै डब्लूएचओले सीमा निगरानी, राष्ट्रिय आपतकालीन संयन्त्र सक्रिय पार्ने तथा मुख्य सडक तथा सीमा नाकामा स्वास्थ्य परीक्षण कडा बनाउन आग्रह गरेको छ ।

युगान्डाको राजधानी कम्पालामा पनि कंगोबाट आएका दुई जनामा संक्रमण पुष्टि भएको डब्लूएचओले जनाएको छ । तीमध्ये एक जनाको मृत्यु भइसकेको छ । त्यस्तै, कंगोको राजधानी किन्सासामा पनि इटुरीबाट फर्किएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

डब्लुएचओले इबोला संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई चिकित्सकीय उद्धारबाहेक अन्तर्राष्ट्रिय यात्रा नगर्न आग्रह गरेको छ । पुष्टि भएका बिरामीलाई तत्काल अलग्गै राख्न, सम्पर्कमा आएका व्यक्तिको दैनिक निगरानी गर्न तथा २१ दिनसम्म अन्तर्राष्ट्रिय यात्रा रोक्न सुझाव दिइएको छ ।

यद्यपि डरका कारण सीमा बन्द नगर्न वा व्यापार तथा आवागमन रोक्न पनि डब्लएचओले आग्रह गरेको छ । त्यसो गर्दा अनुगमनबाहिरबाट हुने अवैध आवतजावत बढ्न सक्ने चेतावनी दिइएको छ ।

इबोला भाइरस कंगोका घना उष्णकटिबन्धीय जंगलहरूमा प्राकृतिक रूपमा पाइने मानिन्छ । यो भाइरस संक्रमित व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थ, संक्रमित सामग्री वा मृतकसँगको प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्दछ । 

इबोलाले ज्वरो, शरीर दुख्ने, बान्ता र झाडापखाला जस्ता लक्षण देखाउने तथा धेरै अवस्थामा ज्यानै जाने जोखिम रहने अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्