३० जेठ २०८३, शनिबार
विद्या भण्डारीको सदस्यता नवीकरण

१० महिनापछि उल्टियो एमालेको निर्णय- संकट टार्न ओलीकै प्रस्तावमा विद्याको सदस्यता नवीकरण

जेठ ४, २०८३
काठमाडौं
१० महिनापछि उल्टियो एमालेको निर्णय- संकट टार्न ओलीकै प्रस्तावमा विद्याको सदस्यता नवीकरण

केन्द्रीय कमिटीको बैठक उल्टाउँदै नेकपा एमाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु, भक्तपुरमा सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।

२०८२ साउन ७ मा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले संविधानको संरक्षक भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको थियो ।

१० महिनापछि केन्द्रीय समितिको निर्णय उल्टाउँदै एमालेले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । यसअघि विद्याको सदस्यता नवीकरणको चर्को विरोध गरेका ओलीले नै सदस्यता नवीकरण गर्न प्रस्ताव गरेका थिए ।

उपमहासचिव लेखराज भट्टका अनुसार ११ वटा एजेन्डा रहेकोमा सोमबार भण्डारीको सदस्यता नवीकरणको एउटा मात्र निर्णय भएको छ ।

ओलीकै स्वार्थमा सदस्यता नवीकरण

बैठक स्रोतका अनुसार अध्यक्ष ओलीकै प्रस्तावमा भण्डारीको सदस्यता नवीकरण भएको हो ।

‘यसअघि केपी कमरेडले नै विद्याको सदस्यता नवीकरण नगर्ने निर्णय गराउनु भएको थियो, आज उहाँले नै नवीकरणको प्रस्ताव ल्याउनु भयो’, एक पदाधिकारीले लोकान्तरसँग भने ।

पार्टीमा अल्पमतमा परेपछि ओलीले भण्डारीको साथ लिन खोजेको सचिवालयका नेताहरूको बुझाइ छ । ‘महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने त्रासले गर्दा केपी कमरेडले विद्यालाई रोक्नु भएको थियो, यसपटक आफ्नो पद जोगाउन विद्याकै सहायता खोज्नुभयो’, ती नेताले भने ।

null

चुनावमा पार्टी पराजयको जिम्मा लिँदै नेतृत्व छाड्नु पर्ने दबाब बढेसँगै रक्षात्मक बनेका ओलीले भण्डारीको सदस्यता नवीकरणमा उदारता देखाएको विश्लेषण एमाले सचिवालयका नेताहरूले गरेका छन् ।

‘अहिले आफूलाई साथ दिन आग्रह गर्ने र पछि भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्छु भन्ने चालबाजी रहेको बुझिन्छ’ एमालेका एक नेताले भने, ‘तर यसपटक उहाँको रणनीति सफल हुने सम्भावना छैन ।’

जेठ ८ गते बस्ने बैठकमा नेताहरूले औपचारिक रूपमा नेतृत्व छाड्न ओलीमाथि आग्रह गर्ने तयारी गरेका छन् । त्यो संकट टार्नकै लागि ओलीले भण्डारीको कार्ड खेलेको सचिवालयका एक नेताले जानकारी दिए ।

३३ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइएपछि नै भण्डारीको सदस्यता नवीकरण हुने धेरैले अपेक्षा राखेका थिए ।

आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णयपछि क्रुद्ध बनेकी भण्डारीले लामो समय ओलीसँग भेटवार्ता गरेकी थिइनन् । आफूलाई माझकिराँतकी छोरी भन्दै विद्याले मदन भण्डारीले दिएको सदस्यता कसैको सनकका भरमा नखोसिने टिप्पणी गरेकी थिइन् ।

यस्तो थियो एमालेको निर्णय

एमालेले राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भइसकेको व्यक्ति भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य बन्न नमिल्ने निर्णय केन्द्रीय समिति बैठकबाट गरेको थियो ।

अन्तरपार्टी निर्देशन (अपानि)मा पनि यो विषयलाई बोल्ड गरेर पठाएको थियो ।

null

‘पूर्वराष्ट्रपतिजीको सन्दर्भमा तपाईंहरूलाई पनि भ्रम नपरोस् । उहाँको सदस्यता पार्टीले खोसेको होइन । राष्ट्रपति हुने बेलामा उहाँले परित्याग गर्नुभएको हो । परित्याग गरेरै राष्ट्रपति हुन जानुपर्छ । उहाँले सदस्यता छोडेर राष्ट्रपति हुन जानुभएको हो’, गतवर्षको साउन ६ गते पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले भनेका थिए–‘फर्केर आएपछि उहाँले अब त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर रसिद लिएर त हुँदैन नि त !’ 

सदस्यता नवीकरण नगरिएपछि पार्टीको विधान अधिवेशनमा भण्डारीले सदस्यहरूलाई सम्बोधन गरेर चिठी बाँडेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्