२४ असार २०८३, बुधबार
सरसर्ती २४ घण्टा

सर्वोच्चमा उकुसमुकुसको स्थितिदेखि १० महिनापछि उल्टियो एमालेको निर्णयसम्म

जेठ ५, २०८३
काठमाडौं
सर्वोच्चमा उकुसमुकुसको स्थितिदेखि १० महिनापछि उल्टियो एमालेको निर्णयसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
केन्द्रीय कमिटीको बैठक उल्टाउँदै नेकपा एमाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु, भक्तपुरमा सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।

२०८२ साउन ७ मा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले संविधानको संरक्षक भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको थियो ।

१० महिनापछि केन्द्रीय समितिको निर्णय उल्टाउँदै एमालेले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । यसअघि विद्याको सदस्यता नवीकरणको चर्को विरोध गरेका ओलीले नै सदस्यता नवीकरण गर्न प्रस्ताव गरेका थिए ।

उपमहासचिव लेखराज भट्टका अनुसार ११ वटा एजेन्डा रहेकोमा सोमबार भण्डारीको सदस्यता नवीकरणको एउटा मात्र निर्णय भएको छ ।
००००
प्रधानन्यायाधीश सिफारिश विवाद उत्कर्षमा पुग्दा सर्वोच्च अदालतमा सोमबार दिनभर रस्साकस्सी र उकुसमुकुसको स्थिति बन्यो ।

दरपीठ भएका रिटहरू तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश र कर्मचारीहरूको अटेरीले दिनभर रस्साकस्सी चलेको हो ।

प्रधानन्यायाधीश सिफारिसविरुद्ध वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता गीता थापा रिट लिएर सर्वोच्च पुगेका थिए ।

तर, २०८३ वैशाख २५ गते सर्वोच्च प्रशासनले उनीहरूको रिट दर्ता गर्न अस्विकार गर्दै 'दरपिठ' गरिदियो । दरपिठको आदेशविरुद्ध दिइएको अर्को निवेदनलाई पनि प्रशासनले 'होल्ड' गरेर राखिदियो ।

यो रिट निवेदन प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले न्यायाधीश डा. मनोजकुमार शर्मालाई भावी प्रधानन्यायाधीशमा सिफारिस गर्ने गरी गरेको निर्णयविरुद्ध थियो ।

वरिष्ठ अधिवक्ता त्रिपाठी, अधिवक्ता सिलवाल र थापा लगायतका निवेदकहरू भोलिपल्टै सर्वोच्च पुगेका थिए । तर, अदालत प्रशासनले वैशाख २५ गते रिट दर्ता गर्न अस्विकार गर्दै दरपिठको निर्णय गर्‍यो ।

दरपिठको आदेशविरुद्ध पुनः ती रिट निवेदकहरूले दिएको निवेदनविरुद्धको सुनुवाइका लागि न्यायाधीशको इजलाशमा पेश गर्नुपर्नेमा सर्वोच्च प्रशासनले ‘होल्ड’ गरेर राखिदियो ।

किनभने त्यो रिट निवेदन संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका न्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्ध थियो ।

रिट दर्ता गरी जेठ ४ गते संवैधानिक इजलाशमा पेश गर्नुपर्नेमा सो नगरी होल्ड गरिएको भन्ने विषयमा जेठ २ गते रिट निवेदकहरूले कामु प्रधानन्यायधीशसमक्ष न्यायको बाटो अवरुद्ध गरिएको भन्दै मौखिकरूपमा भेटेर गुनासो गरेका थिए ।
००००
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले कायममुकायम (कामु) प्रधानन्यायाधीशको आदेशको अवज्ञा गरेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै बारले अदालतको प्रशासनिक अवरोध र संसद्‌मा विचाराधीन मुद्दामाथि भएको छलफलको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
००००
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका विषयमा दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लका विषयमा प्रश्न उठाए । ​
००००
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन शुरू गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।

समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
००००
चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । 

उनीहरू एउटै परिवारका सदस्य हुन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो । 
००००
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। 

मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ।
००००
संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशका लागि प्रस्तावित डा. मनोज शर्माको सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । बैठक मंगलबार बिहान पौने १० बजेलाई राखिएको समिति सचिवालय स्रोतले जानकारी दियो ।
००००
प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरेको हो । 

उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले बताए । तर उनलाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन ।
००००
केन्द्रीय कारागार, जगन्नाथदेवलस्थित महिला बन्दीगृहबाट फरार भएकी सपना तामाङ आइतबार राति पक्राउ परेकी छन् । प्रहरी निगरानी, काँडेतार र उच्च सुरक्षा व्यवस्थाबीच उनी कसरी भाग्न सफल भइन् भन्ने विषय अहिले अनुसन्धानको केन्द्रमा पुगेको छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ मा सीमित भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्