
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले इबोला संक्रमणका शंकास्पद बिरामी र मृत्यु हुनेको संख्या अझ बढ्ने चेतावनी दिएको छ । भाइरस पहिचान गर्न ढिलाइ भएकाले संक्रमणको वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने डब्लूएचओको भनाइ छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले बुधबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै हालसम्म ६ सय शंकास्पद संक्रमित र १ सय ३९ शंकास्पद मृत्यु दर्ता भएको जानकारी दिए ।
उनका अनुसार हालसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा ५१ र छिमेकी युगाण्डामा २ गरी ५३ जनामा इबोला संक्रमण पुष्टि भएको छ ।
डब्लूएचओका अनुसार यो संक्रमण ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरसबाट फैलिएको हो, जुन सम्भवतः केही महिनाअघि नै शुरू भएको थियो ।
गत आइतबार डब्लूएचओले उक्त संक्रमणलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको थियो । यद्यपि यसलाई महामारी (प्यान्डेमिक) स्तरको संकट भने मानिएको छैन ।
महानिर्देशक घेब्रेयससले मंगलबार बसेको आपतकालीन समितिको बैठकले हालको अवस्थालाई ‘महामारी आपतकाल होइन’ भन्ने निष्कर्ष निकालेको बताए ।
उनले भने, ‘डब्लूएचओले राष्ट्रिय र क्षेत्रीय स्तरमा संक्रमणको जोखिम उच्च तथा विश्वव्यापी स्तरमा कम रहेको मूल्यांकन गरेको छ ।’
कंगोमा पुष्टि भएका ५१ संक्रमितमध्ये अधिकांश पूर्वी इटुरी प्रान्तमा भेटिएका छन्, जुन संक्रमणको मुख्य केन्द्र बनेको छ । उत्तर किभु प्रान्तमा पनि संक्रमण पुष्टि भएको छ ।
युगाण्डाको राजधानी कम्पालामा पुष्टि भएका दुवै संक्रमित कंगोबाट यात्रा गरेर पुगेका व्यक्ति रहेको डब्लुएचओले जनाएको छ ।
‘हामीलाई थाहा छ कि कंगोमा संक्रमणको वास्तविक अवस्था यसभन्दा धेरै ठूलो छ’, घेब्रेयससले भने ।
डब्लूएचओका अनुसार पहिलो ज्ञात संक्रमित इटुरी प्रान्तीय राजधानी बुनियाकी एक नर्स थिइन्, जसको अप्रिल २४ मा लक्षण देखिएपछि मृत्यु भएको थियो ।
उनको शव मोंग्वालु लगिएको थियो, जहाँ अधिकांश संक्रमित फेला परेका छन् । सुन खानीका लागि परिचित मोंग्वालु र अर्को खानी क्षेत्र संक्रमणको मुख्य केन्द्र बनेका छन् ।
इटुरीका मोंग्वालु, बुनिया, र्वाम्पारा र न्याकुन्डे क्षेत्रमा संक्रमण फैलिएको छ । उत्तर किभुको विद्रोही नियन्त्रणमा रहेको गोमा र बुटेम्बो शहरमा पनि संक्रमित भेटिएका छन् ।
कंगोले सन् १९७६ मा पहिलो पटक इबोला पहिचान भएयता हाल १७ औं पटक संक्रमणको सामना गरिरहेको छ । तर ‘बुन्डिबुग्यो’ प्रजातिको भाइरस भने एक दशकभन्दा बढी समयपछि पुनः देखिएको हो ।
यसअघि यो प्रजातिबाट केवल दुई वटा संक्रमण फैलिएको थियो, जसमा संक्रमितमध्ये करिब एकतिहाइको मृत्यु भएको थियो ।
हालसम्म बुन्डिबुग्यो प्रजातिविरुद्ध स्वीकृत खोप उपलब्ध छैन । यद्यपि परीक्षणका चरणमा रहेका केही खोप विकास भइरहेको डब्लूएचओले जनाएको छ ।
इबोलाको अर्को ‘जाइरे’ प्रजातिका लागि विकसित खोपले केही हदसम्म सुरक्षा दिन सक्ने अनुमान गरिएको छ । तर बुन्डिबुग्यो लक्षित औषधि वा उपचार पद्धति नहुँदा उपचार चुनौतीपूर्ण बनेको छ ।
वर्षौंदेखिको द्वन्द्वका कारण पूर्वी कंगोको स्वास्थ्य प्रणाली कमजोर बनेको छ, जसले संक्रमण नियन्त्रणमा थप कठिनाइ सिर्जना गरेको डब्लूएचओले जनाएको छ ।