
प्रधानन्यायाधीश सिफारिशविरुद्ध परेका रिट निवेदन सर्वोच्च अदालत प्रशासनले आज दर्ता गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार गरेको आदेश सर्वोच्च प्रशासनले दुई दिनपछि कार्यान्वयनमा ल्याएको हो ।
गत सोमबार मल्लले दरपीठ भएका निवेदन दिउँसो १ बजेभित्रै दर्ता गर्न मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा आदेश गरेकी थिइन् । तर उक्त दिन दर्ता भएका थिएनन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अधिवक्ता प्रेमराज सिलवालको निवेदन बुधबार दर्ता भएको हो ।
उक्त निवेदनको पहिलो पेशी यही जेठ ११ गते तोकिएको उनले बताए ।
यसअघि दरपीठविरुद्ध फेरि निवेदन दिँदा पनि प्रशासनले फाइल अगाडि नबढाइ अल्झाएर राखेको भन्दै अधिवक्ताहरूले गुनासो गरेका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्ले वरीयता मिचेर न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । शर्मा चौथो वरीयताका न्यायाधीश हुन् । वरीयतामा कामु प्रधानन्यायाधीश मल्ल एक नम्बरमा थिइन् ।
मनोजकुमार शर्मा अहिले प्रधानन्यायाधीश नियुक्त भएर कार्यभार पनि सम्हाली सकेका छन् ।