
प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राख्न माग गर्दै विपक्षीले संसद् अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि भन्दै स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले बिहीबार दिउँसो प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्रीसँग छलफल गरेपछि सभामुखले विपक्षी दलका सचेतकहरूसँग परामर्श गरेका छन् । तर, १५ मिनेटका लागि भन्दै पौने ३ बजे स्थगित भएको बैठक सवा ४ बजेसम्म शुरू भएको छैन ।
नेकपा एमालेका एक सांसदले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मिति नतोक्दासम्म संसद् चल्न नदिने पार्टीको रणनीति रहेको बताए ।
त्यसअघि संसद्मा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीलाई स्वेच्छाचारी हुन नदिन प्रत्येक महिना प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने माग गरेका थिए ।