
ललितपुरकी प्रिती थापाले कतार एयरवेजविरुद्ध दायर गरेको मुद्दामा उपभोक्ता अदालतले २ करोड ६१ लाख ९२ हजार ४०६ रूपैयाँ क्षतिपूर्ति दिन फैसला गरेको छ ।
अदालतका अध्यक्ष डा. दिवाकर भट्ट, सदस्यद्वय गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार उक्त फैसला गरेको सूचना अधिकारी होमनाथ कँडेलले लोकान्तरलाई जानकारी दिए ।
ललितपुर महानगरपालिका–२ झम्सिखेल निवासी ५६ वर्षीया थापाले कतार एयरवेजविरुद्ध उपभोक्ता अदालतमा २७ करोड ४१ लाख ७७ हजार ४७८ रूपैयाँ बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी थिइन् ।
थापा सन् २०२३ मे २६ मा काठमाडौंस्थित अधिकृत ट्राभल एजेन्सीमार्फत काठमाडौं–दोहा–बोस्टन र बोस्टन–दोहा–काठमाडौंको दुईतर्फी टिकट खरिद गरेर अमेरिका गएकी थिइन् ।
उनी जुन १० मा बोस्टन पुगेकी थिइन् भने करिब एक महिनापछि जुलाई १० मा कतार एयरवेजको क्युआर-७४४ विमानमार्फत बोस्टनबाट दोहा हुँदै काठमाडौं फर्किंदै थिइन् ।
विमानको ३५ ए नम्बर सिटमा बसेकी प्रिती थापालाई चालक दलका सदस्यले अत्यधिक तातो कफी दिएका थिए । त्यही क्रममा कफी उनको पेट, तिघ्रा तथा शरीरका संवेदनशील अंगमा खसेको दाबी गरिएको थियो । त्यसपछि उनी असह्य पीडामा पुगेको उनको कथन छ ।
उडानकै क्रममा उनको शरीर जल्न थालेपछि विमानका चालक दललाई जानकारी गराइएको थियो । विमान दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनलाई विमानस्थलको आकस्मिक स्वास्थ्य सेवामा लगिएको थियो । त्यहाँ चिकित्सकहरूले उनलाई ‘सेकेन्ड डिग्री बर्न’ अर्थात् दोस्रो तहको जलन भएको बताएका थिए ।
त्यसपछि उनी काठमाडौं फर्किएपछि कीर्तिपुर अस्पतालमा थप उपचार गराउन बाध्य भएको उल्लेख गरिएको छ । उनले यो घटना प्रतिवादी एयरलाइन्सको लापरवाही, असावधानी र यात्रु सुरक्षाप्रतिको बेवास्ताको परिणाम भएको जिकिर गर्दै मुद्दा दायर गरेकी थिइन् ।
आफूलाई अत्यधिक तातो कफी दिइएको, सुरक्षित ढकनी प्रयोग नगरिएको, आवश्यक चेतावनी नदिइएको र चालक दलले पर्याप्त सावधानी नअपनाएको उनको जिकिर छ ।
उनले तातो पेय पदार्थ विमानभित्र सेवा गर्दा विशेष सावधानी अपनाउनुपर्ने भए पनि कतार एयरवेजले त्यसो नगरेको आरोप लगाएकी छन् ।
उनको जिकिर अनुसार कफी सामान्य तापक्रममा भएको भए वा सुरक्षित तरिकाले सेवा गरिएको भए दोस्रो तहको जलन हुने अवस्था आउने थिएन ।
घटनापछि पनि एयरलाइन्सले पर्याप्त उपचार सामग्री, बर्न किट, आवश्यक औषधि वा आरामदायी व्यवस्थासमेत नगरेको उनको आरोप छ ।
थापाले बाँकी ५/६ घण्टाको यात्रा संकुचित इकोनोमी क्लासको झ्यालतर्फको सिटमै बसेर पूरा गर्नुपरेको थियो । उनको दाबी अनुसार चालक दलले नियमित रूपमा उनको अवस्था बुझेन, आरामदायी वैकल्पिक सिटको व्यवस्था गरेन र पीडा कम गर्न आवश्यक सहयोगसमेत उपलब्ध गराएन ।
दोहा विमानस्थलमा पनि उनलाई विशेष सहायता वा आरामदायी प्रतीक्षास्थल उपलब्ध नगराइएको उनले उल्लेख गरेकी छिन् ।
जलनपछि लामो समय मानसिक तनावमा परेको, हवाई यात्राप्रति डर उत्पन्न भएको, तातो पेय पदार्थ नजिक आउँदा समेत त्रास हुने गरेको, निद्रामा असर परेको र दैनिक जीवन प्रभावित भएको उनले निवेदनमा उल्लेख गरेकी थिइन् ।
उनका अनुसार जलनका कारण एक महिनाभन्दा बढी समय काममा जान नसकेको, सामाजिक तथा पारिवारिक जीवनमा असर परेको र अझै पनि शरीरमा दाग तथा संवेदनशीलता बाँकी रहेको अवस्था छ ।
यता प्रतिवादी कतार एयरवेजले भने अदालतमा फरक दाबी गरेको थियो । एयरलाइन्सले आफ्नो प्रतिउत्तरमा यात्रुले आफैं कफी खसालेको जिकिर गरेको थियो । साथै, चालक दलले तुरुन्त प्राथमिक उपचार, बर्न जेल, औषधि,व्हीलचेयर तथा एयरपोर्ट क्लिनिकसम्मको व्यवस्था गरेको दाबी पनि गरेको थियो ।
कतार एयरवेजले कफी सेवा गर्नु सामान्य इन फ्लाइट सर्भिस भएको र यस्तो घटना अन्तर्राष्ट्रिय कानूनअन्तर्गत ‘दुर्घटना’मा नपर्ने तर्क गरेको थियो ।
थापाले क्षतिपूर्ति दाबी गर्दा केवल अस्पताल खर्च नभई शारीरिक पीडा, मानसिक आघात, काम तथा आम्दानीको क्षति, दीर्घकालीन असर, मर्यादामा पुगेको चोट तथा बहुराष्ट्रिय कम्पनीको यात्रु सुरक्षाप्रतिको जिम्मेवारी सबैलाई समेटेर माग गरिएको उल्लेख गरेकी थिइन् ।