२९ जेठ २०८३, शुक्रबार

नोभा आइसक्रिमको सीमित ब्याच बजारबाट फिर्ता गरिँदै

जेठ ८, २०८३
काठमाडौं
नोभा आइसक्रिमको सीमित ब्याच बजारबाट फिर्ता गरिँदै

नोभा आइसक्रिम उत्पादक फिस्टेल डेरी प्रालिले आफ्नो ‘नोभा’ ब्रान्डअन्तर्गत उत्पादन गरिएको एक सीमित ब्याचको आइसक्रिम बजारबाट फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गरिएको परीक्षणका क्रममा ‘नोभा चकलेट आइसक्रिम’ को १००० मिलिलिटर प्याकमा गुणस्तरसँग सम्बन्धित विषय देखिएको जानकारी प्राप्त भएको बताएको हो ।​

विज्ञप्तिअनुसार उक्त उत्पादनको ब्याच नम्बर 'CO2' रहेको छ भने उत्पादन मिति १९ साउन २०८२ उल्लेख गरिएको छ।

कम्पनीले आइसक्रिम तापक्रमप्रति अत्यन्त संवेदनशील उत्पादन भएकाले उत्पादन, ढुवानी, भण्डारण तथा बिक्री प्रक्रियामा उचित 'कोल्ड चेन' कायम नरहेमा ब्याक्टेरियाको वृद्धि हुन सक्ने जनाएको छ।

'एकपटक पग्लिएको आइसक्रिम पुनः फ्रिज गर्दा ब्याक्टेरियाको वृद्धि रोकिन सक्छ, तर पूर्ण रूपमा नष्ट नहुन सक्छ,' विज्ञप्तिमा उल्लेख छ।

यस विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित ब्याचको उत्पादन बजारबाट फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।

साथै, आन्तरिक गुणस्तर परीक्षण, उत्पादन प्रक्रिया पुनरावलोकन तथा कोल्ड चेन अनुगमनलाई थप कडाइका साथ लागू गरिएको पनि कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीका अनुसार उक्त ब्याच बाहेक नोभाका अन्य उत्पादनमा कुनै गुणस्तरीय समस्या नरहेको जनाएको छ। उपभोक्तालाई उत्पादन मिति र उपभोग अवधि (Expiry Date) जाँच गरेर मात्रै उत्पादन प्रयोग गर्न आग्रह गरिएको छ।

१७ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले आफूले गुणस्तरीय, सुरक्षित तथा विश्वसनीय दुग्धजन्य उत्पादन उपभोक्ता माझ पुर्‍याउँदै आएको दाबी गरेको छ।

साथै, नियमित रूपमा कर तिर्दै सयौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको पनि जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्