२३ जेठ २०८३, शनिबार

जुम्लामा घट्यो स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या

जेठ ९, २०८३
जुम्ला
जुम्लामा घट्यो स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या

स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दो क्रममा रहेको छ ।

जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हजार जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

सक्रिय बीमा सङ्ख्या ४४ हजार ४७९ जना रहेका छन् । करिब ५६ हजारले बीमाको नवीकरण नगरेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी जोशीले बताए ।

जिल्लाका १४ हजार ८८५ घरपरिवार बीमामा आबद्ध भएका छन् । ज्येष्ठ नागरिक तीन हजार ९२३, अति अशक्त अपाङ्गता ९८ र महिला स्वास्थ्य स्वंयसेविका ३०६ जनाको परिवार स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा सम्पर्क कार्यालयका दर्ता अधिकारी जोशीको भनाइ छ ।

अति गरिब घरपरिवारका करिब १७ हजार ३१२ जनाले नवीकरण नगर्दा सङ्ख्या बढेको तथ्याङ्क देखाउन छ । अति गरिब घरपरिवारको निःशुल्क बीमा नवीकरण गर्ने व्यवस्था सरकारले बन्द गरेपछि जिल्लामा नवीकरण नगर्नेको सङ्ख्या बढेको स्वास्थ्य बीमा बोर्ड कार्यालयका दर्ता अधिकारी जोशीले जानकारी दिए ।

सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, ज्येष्ठ नागरिकलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ । अन्यको हकमा शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ ।

बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सहभुक्तानीको व्यवस्थासमेत गरेको छ ।

बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमा नै पठाएर नागरिकलाई बीमामा सहभागी गराउने अभियानमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ ।

नवीकरण घट्नुको मुख्य कारण सेवाको गुणस्तर तोकिएका अस्पतालमा औषधि सहज नपाइने र लामो लाइन बस्नुपर्ने बाध्यता, ढिलाइ र अस्पतालहरूले बीमित बिरामीको रकम भुक्तानी नपाएको गुनासो जस्ता कार्यले आम नागरिकलाई स्वास्थ्य बीमाप्रति जनविश्वास घटेको यहाँका स्थानीय बताउँछन् । जिल्लामा विक्रम संवत् २०७४ सालदेखि स्वास्थ्य बीमाको सेवा विस्तार भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्