२२ जेठ २०८३, शुक्रबार
१० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी मुद्दा

सर्वोच्चको नयाँ व्याख्या– पानी प्राकृतिक स्रोत हो, तर बिजुली विदेश निर्यात गर्न मिल्ने वस्तु

जेठ १०, २०८३
काठमाडौं

भारतीय विदेश मन्त्री एस. जयशंकरको नेपाल भ्रमणका क्रममा दुई देशबीच एउटा ठूलो सम्झौता भयो- १० वर्षमा १० हजार मेगावाट बिजुली भारततर्फ निर्यात गर्ने ।

नेपालका तर्फबाट तत्कालीन जलस्रोत तथा ऊर्जा सचिव गोपाल सिग्देल र भारतका तर्फबाट तत्कालीन ऊर्जा सचिव पंकज अग्रवालले त्यो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

त्यतिबेला नेपालमा पुष्पकमल दाहाल 'प्रचण्ड’को नेतृत्वमा सरकार थियो भने एनपी साउद परराष्ट्र मन्त्री र शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री थिए ।

धेरैले यसलाई जलविद्युत् विकासमा एउटा फड्को माने, तर यही बीचमा सम्झौताले नेपालको जलस्रोतको भविष्य नै जोखिममा पारेको सर्वोच्च अदालतमा एउटा मुद्दा पुग्यो ।

मुद्दा हाल्ने व्यक्ति हुन्– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्याय ।  उनको प्रश्न थियो- ‘के सरकारले संसदलाई छलेर नेपालको नदीनाला भारतलाई सुम्पिन मिल्छ?’

निवेदक उपाध्यायको तर्क थियो- यो सम्झौता प्राकृतिक स्रोतको बाँडफाँडसँग जोडिएको छ, त्यसैले यसलाई संविधानको धारा २७९ अनुसार संसदको दुईतिहाइ बहुमतले पास गर्नुपर्छ ।

भोलि नेपाललाई नै ५२ हजार मेगावाट बिजुली चाहिने बेला भारतलाई १० हजार मेगावाट दिने सम्झौता गर्दा देशको विकास ठप्प हुनेछ ।

त्यसो भए सर्वोच्च अदालतले के आदेश गर्‍यो त ? सरकारलाई सर्वोच्चले के कस्ता निर्देशनात्मक आदेश दियो त ? आज हामी त्यसबारे विस्तृतमा चर्चा गर्दैछौं ।

नेपाल सरकार र भारत सरकारबीच सन् २०२४ जनवरी ४ (२०८० पुस १९) मा एउटा महत्वपूर्ण सम्झौता भयो, जसलाई 'दीर्घकालीन विद्युत व्यापार सम्झौता' (लंग टर्म पावर ट्रेड एग्रिमेन्ट) भनियो ।

यस सम्झौताको खबर सार्वजनिक भएपछि जलस्रोतका ज्ञाता, पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले लिखितरूपमा सूचनाको हक प्रयोग गर्दै सरकारसँग सम्झौताको प्रतिलिपि माग गरे ।

तर, सरकारले उनलाई त्यसको प्रतिलिपि दिन इन्कार गर्‍यो । यद्यपि उनले अनौपचारिक माध्यमबाट भने सम्झौता प्राप्त गरे ।

सम्झौता पढेपछि उक्त सम्झौता राष्ट्रिय हितविपरीत भएको भन्ने लाग्यो ।  यस्तो सम्झौता सरकारले सार्वजनिक नै गर्नुपर्ने जस्तो लागेर उनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरे ।

उपाध्यायको तर्क थियो- यो सम्झौताले नेपालको प्राकृतिक स्रोत (पानी र बिजुली) लाई दीर्घकालका लागि भारतको नियन्त्रणमा पुर्‍याउने जोखिम छ र यसमा संवैधानिक प्रक्रिया मिचिएको छ ।

निवेदक सूर्यनाथ उपाध्यायका मुख्य माग र तर्कहरू यस प्रकार थिए:

नेपालको संविधानको धारा २७९ मा 'प्राकृतिक स्रोत र त्यसको उपयोगको बाँडफाँड'सम्बन्धी सन्धि वा सम्झौता गर्दा संसदको दुई-तिहाइ बहुमतले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

निवेदकको दाबी थियो– १० हजार मेगावाट बिजुली निर्यात गर्ने कुरा सिधै जलस्रोतको उपयोगसँग जोडिएको छ, त्यसैले यो संसदमा लैजानुपर्छ । तर, सरकारले यसलाई लुकाएर मन्त्रिपरिषद्को निर्णयबाट मात्रै गर्‍यो ।

निवेदकले तथ्यांक  प्रस्तुत गर्दै भने कि नेपालले सन् २०५० सम्म 'नेट-जेरो इमिसन' (शून्य कार्बन उत्सर्जन) को लक्ष्य राखेको छ ।

यदि नेपालको आर्थिक वृद्धिदर ९.२ प्रतिशत हुने हो भने सन् २०५० सम्म नेपाललाई आफ्नै लागि ५२ हजार मेगावाट बिजुली चाहिन्छ ।

अहिले नै २५ वर्षका लागि १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गर्दा भोलि नेपालका उद्योग र नागरिकले बिजुली नपाउने र नेपालको विकास अवरुद्ध हुने खतरा छ ।

सम्झौतामा ट्रान्समिसन (प्रसारण लाइन) पूर्वाधारमा भारतको नियन्त्रण हुने र जलाशययुक्त आयोजनाबाट नेपालले पाउने लाभमा ह्रास आउने सम्भावना रहेको जिकिर उपाध्यायको थियो ।

यति ठूलो राष्ट्रिय सरोकारको विषयमा सरकारले सम्झौताको प्रतिलिपि नागरिकलाई नदिएको र गोप्य राखेकोमा उनले आपत्ति जनाए ।

त्यसैले निवेदकको माग थियो- यो सम्झौता बदर गरियोस् (उत्प्रेषण), यसलाई सार्वजनिक गरियोस् र अबदेखि यस्ता सम्झौता गर्दा संसदको दुईतिहाइ बहुमतबाट मात्र गरियोस् । त्यसका लागि परमादेशको आदेश जारी गरियोस् ।

मुद्दा परेपछि प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयले अदालतमा निकै विस्तृत जवाफ पठाए ।

विपक्षी (सरकार) ले ‘सूर्यनाथ उपाध्यायलाई यो मुद्दा हाल्ने अधिकार छैन, उनी प्रभावित पक्ष होइनन्’ भन्ने तर्क गरेको थियो। तर, अदालतले यसलाई खारेज गर्दै भन्यो- राष्ट्रिय महत्वको र प्राकृतिक स्रोतको विषयमा कुनै पनि सचेत नागरिकले 'सार्वजनिक सरोकार' को रूपमा मुद्दा हाल्न पाउँछ।

सरकारले जवाफमा अर्को एउटा महत्वपूर्ण कानूनी तर्क अघि सार्‍यो ।

उसले भन्यो- ‘नदीको पानी प्राकृतिक स्रोत हो, तर टर्वाइन घुमाएर उत्पादन गरिएको बिजुली एउटा व्यापारिक वस्तु (कमोडीटी) हो । जसरी हामीले धान, गहुँ वा अन्य सामान बेच्छौं, बिजुली बेच्नु पनि एउटा व्यापार मात्र हो ।’

यसका लागि संसदको दुईतिहाइ बहुमत चाहिँदैन ।

सरकारले जिकिर गर्‍यो कि यो सम्झौताले कुनै पनि निश्चित नदी वा आयोजना भारतलाई सुम्पिएको छैन । यो केवल 'बढी भएको बिजुली' किन्ने र बेच्ने एउटा 'ढाँचा सम्झौता' (फ्रेमवर्क एग्रिमेन्ट) मात्र हो।

परराष्ट्र सम्बन्ध र व्यापारिक सम्झौता गर्ने अधिकार सरकारको कार्यकारी अधिकारभित्र पर्छ । यो सन्धि ऐनको दफा ३ र ४ अनुसार सरकार आफैंले गर्न सक्छ ।

देशमा बर्खाको समयमा बिजुली खेर गइरहेको अवस्थामा भारतलाई बेचेर विदेशी मुद्रा कमाउनु र व्यापार घाटा कम गर्नु राष्ट्रिय हितमै छ । यस मुद्दाको गम्भीरतालाई हेरेर अदालतले 'एमिकस क्युरी' को सहयोग लिएको थियो।

नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ता केदार कार्की र सर्वोच्च अदालत बारबाट अधिवक्ता सेमन्त दाहालले 'एमिकस क्युरी' को रूपमा स्वतन्त्र राय दिएका थिए।

सेमन्त दाहालले बिजुली व्यापार र जलस्रोतको 'बाँडफाँड' फरक कुरा भएको र व्यापारिक सम्झौताका लागि संसदको दुईतिहाइ नचाहिने तर आयोजना विशेषमा सन्धि गर्दा चाहिँ संविधानको धारा २७९ लाग्ने महत्त्वपूर्ण राय दिएका थिए, जसलाई अदालतले आफ्नो फैसलाको आधार बनाएको छ ।

त्यसपछि उक्त मुद्दाको सुनुवाइ तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश महेश शर्मा पौडेलको पूर्ण इजलासमा भयो ।

२०८१ कात्तिक २० गते पूर्ण इजलासले सम्झौता नै खारेज हुनुपर्ने मागसहितको रिट  त खारेज गर्‍यो, तर सरकारका नाममा विभिन्न निर्देशनात्मक आदेश समेत दियो ।

उक्त फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएको हो ।

'पानी' 'बिजुली'बीचको भिन्नता   

अदालतले यसअघि गोरखबहादुर बी.सी. विरुद्ध प्रधानमन्त्री कार्यालयको मुद्दामा प्रतिपादित एउटा चर्चित नजिरलाई सम्झियो ।

त्यो नजिरले भनेको छ- ‘विद्युत भनेको पानीरूपी प्राकृतिक स्रोतबाट भएको उत्पादन हो, यो स्वयं प्राकृतिक स्रोत होइन ।’

अदालतले भन्यो कि बिजुली बेच्नु भनेको पानीको बाँडफाँड गर्नु होइन । त्यसैले, यो सम्झौता गर्दा संविधानको धारा २७९ आकर्षित भइहाल्दैन ।

अदालतले सम्झौताका बुँदाहरू केलाउँदै भन्यो– यो एउटा 'सहजीकरण गर्ने दस्तावेज' मात्र हो ।

यसले कुनै नदीको स्वामित्व भारतलाई दिएको छैन । सम्झौताको दफा ६ मा कुनै पनि पक्षले ६ महिनाको सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने (एक्जिट क्लाउज) को व्यवस्था भएकाले यसले नेपालको सार्वभौमसत्तालाई सधैंका लागि बन्धक बनाएको मान्न सकिँदैन ।

अदालतले निवेदकको एउटा कुरामा भने पूर्ण सहमति जनायो- यस्ता ठूला सम्झौताहरू पारदर्शी हुनुपर्छ । सरकारले नागरिकलाई सम्झौताको बारेमा स्पष्ट जानकारी नदिनु गलत भएको अदालतको ठहर छ ।

अदालतले निवेदकका धेरै चिन्ताहरू जायज भए पनि कानूनी रूपमा यो सम्झौता बदर गरिहाल्नुपर्ने अवस्था नदेखिएको बतायो । 

त्यसको मुख्य कारणहरू  बिजुली व्यापारलाई अदालतले 'व्यापारिक वस्तुको बिक्री' मान्यो, 'प्राकृतिक स्रोतको बाँडफाँड' मानेन ।

सम्झौतामा नेपालले चाहेको बेला निस्कन सक्ने बाटो खुला छ ।

सरकारले बढी भएको बिजुली मात्र बेच्ने भनेको हो र यो कार्यकारी अधिकारभित्रै पर्ने देखिएकाले सम्झौता बदर भएन ।

सरकारको नाममा जारी ५ बुँदे निर्देशनात्मक आदेश

रिट खारेज भए पनि अदालतले सरकारलाई ‘जे मन लाग्यो त्यही गर्न’ भने दिएन । भविष्यमा हुन सक्ने जोखिम रोक्न र राष्ट्रिय हितको रक्षा गर्न सर्वोच्चले सरकारका नाममा ५ वटा कडा निर्देशनात्मक आदेश जारी गरेको छ ।

पहिलो, सरकारले यो सम्झौतालाई तत्काल नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गर्नुपर्छ । नागरिकले यसका सबै बुँदाहरू पढ्न र बुझ्न पाउनुपर्छ ।

दोस्रो, नेपाल सन्धि ऐनअनुसार सम्झौता भएको ३० दिनभित्र यसबारे संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) लाई औपचारिक रूपमा जानकारी गराउनुपर्छ ।

तेस्रो, बिजुली निर्यात गर्दा नेपालको आफ्नै घरेलु माग र औद्योगिक आवश्यकतालाई पहिलो प्राथमिकता दिनुपर्छ । नेपाललाई चाहिने बिजुली कटौती गरेर वा नेपालको विकासलाई असर पुर्‍याएर भारतलाई बिजुली पठाउन पाइने छैन ।

चौथो, भोलि यदि कुनै विशेष आयोजनामा जलस्रोतको बाँडफाँड हुने वा प्राकृतिक स्रोतको उपयोग हुने गरी सम्झौता गर्नुपरेमा अनिवार्य रूपमा संविधानको धारा २७९ बमोजिम संसदीय प्रक्रिया (संसद्मा लैजाने) पालना गर्नुपर्छ । व्यापारको नाममा स्रोत सुम्पिने काम गर्न मिल्दैन।

पाँचौं, जलस्रोतको विकास गर्दा जलवायु न्याय (क्लाइमेट जस्टिस) को सिद्धान्तलाई ध्यान दिनुपर्छ र कुनै एउटा मुलुकको मात्र एकाधिकार हुन नदिने गरी काम गर्नुपर्छ ।

फैसलामा भियना कन्भेन्सनको मात्र चर्चा गरिएको छैन, अन्तर्राष्ट्रिय कानूनको अनिवार्य सिद्धान्त 'जुस कोजेन्स'को पनि चर्चा गरिएको छ ।

यसको अर्थ हो- कुनै पनि अन्तर्राष्ट्रिय सम्झौता गर्दा राष्ट्रले आफ्नो सार्वभौमसत्ता र आधारभूत मूल्य-मान्यताविपरीत हुने गरी काम गर्न पाउँदैन। अदालतले यो सम्झौताले नेपालको 'सार्वाभौमसत्ता' लाई असर नगरेको निष्कर्ष निकालेको छ ।

धेरैलाई लागेको थियो कि यो सम्झौता सधैंका लागि भयो । तर अदालतले स्पष्ट पारेको छ कि यो सम्झौता २५ वर्षका लागि हो। तर, कुनै पनि पक्षले ६ महिना अगाडि लिखित सूचना दिएर जुनसुकै बेला सम्झौता अन्त्य गर्न सक्छ । यो 'एक्जिट क्लाउज' भएकाले यसलाई नेपालको अहितमा वा बन्धक बनाइएको सम्झौता मान्न नसकिने अदालतको व्याख्या छ ।

फैसलाको अन्तिम खण्डमा अदालतले 'जलवायु न्याय' र ‘नवीकरणीय ऊर्जा’को कुरा उठाएको छ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता पूरा गर्न यो सम्झौता एउटा माध्यम हुन सक्ने अदालतको ठहर छ ।

तर, यसको नाममा 'वातावरणीय न्याय' र छिमेकी राष्ट्रसँगको उर्जा व्यापारमा नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्ने आदेश सर्वोच्चले दिएको छ ।

सम्झौताको दफा २ र ३ लाई व्याख्या गर्दै अदालतले भनेको छ कि यो सम्झौता आफैंमा पूर्ण होइन । बिजुली खरिद-बिक्री गर्न दुवै देशका नियामक निकायबाट छुट्टै अनुमति लिनुपर्नेछ।

विद्युत महसुल (ट्यारिफ) तय गर्ने छुट्टै संयन्त्र हुनेछ । यसको अर्थ, यो सम्झौताले सबै कुरा टुङ्ग्याएको छैन, यो त केवल बाटो खोलेको 'छाता सम्झौता' मात्र हो।

सर्वोच्च अदालतको यो फैसलाले एउटा सन्तुलन कायम गरेको छ । एकातिर, उसले सरकारलाई छिमेकी मुलुकसँग बिजुली व्यापार गरेर आर्थिक लाभ लिने बाटो खोलिदिएको छ । अर्कोतिर, उसले सरकारलाई चेतावनी दिएको छ कि 'व्यापार' को आवरणमा नेपालको 'प्राकृतिक स्रोत' माथि कसैको एकाधिकार हुन दिइने छैन ।

यस फैसलाले प्रस्ट पारेको छ– बिजुली बेच्नु एउटा व्यापार हो, तर नदी र पानी नेपालको प्राण हो । त्यसैले हरेक सम्झौता पारदर्शी हुनुपर्छ र त्यसमा संसदको निगरानी रहनुपर्छ ।

जलस्रोतको उपयोग र बाँडफाँडमा भने संसदको दुईतिहाइ बहुमत चाहिने संवैधानिक लक्ष्मणरेखा फेरि एकपटक बलियो गरी कोरिएको छ ।

सूर्यनाथ उपाध्यायले उठाएका मुद्दाहरूले सरकारलाई भविष्यमा जलस्रोत सम्बन्धी सन्धि गर्दा सचेत र जिम्मेवार बन्न बाध्य पारेको छ ।

यो फैसलाले नेपालको जलस्रोतको इतिहासमा एउटा महत्वपूर्ण संवैधानिक 'बेन्चमार्क' खडा गरिदिएको छ, जसले आगामी पुस्ताको अधिकार र राष्ट्रिय हितको रक्षाका लागि बलियो आधार प्रदान गर्दछ ।

यस फैसलाको मुख्य सन्देश के हो भने- सरकारले बिजुली बेचेर पैसा कमाउन त सक्छ, तर 'व्यापार'को आवरणमा देशको 'प्राण' मानिने नदीनाला कसैलाई सुम्पिन पाउने छैन । अदालतले विकास र राष्ट्रिय हितको बीचमा एउटा लक्ष्मणरेखा कोरिदिएको छ ।

सर्वोच्चको यो फैसलाले नेपालको जलस्रोतको इतिहासमा एउटा महत्वपूर्ण अध्याय थपेको छ । यसले सरकारलाई अधिकार त दिएको छ, तर सँगसँगै जनता र संसदप्रति उत्तरदायी बन्न कडा शर्तहरू पनि तेर्स्याएको छ ।

सम्झौता 'राजपत्रमा प्रकाशित गर्नू' र 'संसदलाई जानकारी दिनू' भन्ने सर्वोच्चको आदेशले अबदेखि यस्ता कुनै पनि गोप्य सम्झौता गर्ने बाटो सदाका लागि बन्द गरिदिएको छ ।

अब बिजुली व्यापार कोठाभित्र होइन, जनता र संसदको निगरानीमा हुनुपर्ने सन्देश सर्वोच्चले दिएको छ । सर्वोच्चको यो फैसलाले विकास र सार्वभौमसत्ता बीचको एउटा सुन्दर सन्तुलन कायम गरेको छ ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्