कुनै समय भारतमा ‘नेपाली’ भन्नासाथ इमान्दारी र भरोसाको उदाहरणका रूपमा लिइन्थ्यो ।
घरको चाबी सुम्पिने विश्वास, बच्चा जिम्मा लगाउने भरोसा र दशकौँदेखि बनेको सकारात्मक छवि नेपाली कामदारसँग जोडिएको थियो । तर, पछिल्ला वर्षहरूमा भारतका विभिन्न शहरमा घरेलु कामदार, होटल स्टाफ र सुरक्षा गार्डका रूपमा पुगेका केही नेपाली युवामाथि आफ्नै मालिकको घरबाट करोडौँ बराबरका सुन, नगद र बहुमूल्य सामान चोरी गरेर नेपाल फर्किएको आरोप लाग्न थालेपछि त्यो विश्वासमाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।
दिल्लीदेखि बैंगलोर, हैदरावाददेखि हरियाणासम्म यस्ता घटना सार्वजनिक भइरहेका छन् । घटनाको संख्या बढ्दै जाँदा भारतीय प्रहरी नेपालसम्म आएर खोजी गर्न बाध्य भएको छ । यसको असर केवल अपराधमा सीमित नरही भारतमा इमान्दारीपूर्वक श्रम गरेर जीवन चलाइरहेका लाखौँ नेपालीको रोजगारी, सम्मान र भविष्यमा समेत पर्न थालेको छ ।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले भारतमा चोरी भएको करिब २ करोड १० लाख रुपैयाँ बराबरको सुनचाँदी तथा नगद बरामद गरेको थियो ।
यो घटना भारतको दिल्लीस्थित राजेन्द्रनगरसँग सम्बन्धित थियो । दिल्ली बस्ने सञ्जयकुमार माखिजाको घरमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली नागरिक उपेन्द्र रावतमाथि चोरीको आरोप लागेको थियो ।
भारतीय प्रहरी टोली जाहेरी लिएर नेपाल आएपछि जिल्ला प्रहरी कार्यालय कैलालीसँग समन्वय गरिएको थियो । त्यसपछि सुदूरपश्चिम प्रदेश प्रहरीको अपराध अनुसन्धान समूह र कैलाली प्रहरीको संयुक्त टोली अनुसन्धानमा सक्रिय बनेको थियो । अनुसन्धानपछि बाजुराका उपेन्द्र रावत, लोकेश धामी तथा चोरीको धन खरिद गर्ने अछामका अर्जुन सुनार पक्राउ परेका थिए ।
प्रहरीले उनीहरूबाट चोरी गरिएका सुनचाँदीका गरगहना तथा नगद बरामद गरेको थियो । जेठ ८ गते स्थानीय जनप्रतिनिधिको रोहवरमा ती सामान वास्तविक धनी सञ्जयकुमार माखीजालाई फिर्ता गरिएको प्रहरीले जनाएको छ । उक्त अनुसन्धानपछि भारतीय प्रहरीले नेपाल प्रहरीको प्रशंसा गरेको थियो ।
यसअघि २०८२ असारमा पनि भारतको कर्नाटक राज्यको बैंगलोरस्थित एस रमेश बाबुको घरबाट सुन, चाँदी र नगद चोरी भएको घटना सार्वजनिक भएको थियो । भारतीय प्रहरीले अनुसन्धानका क्रममा नेपाल प्रहरीसँग समन्वय गरेको थियो । त्यसपछि कैलाली प्रहरीले कालिकोटका उदय विष्ट र भैरे विष्टलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा चोरी गरिएका गहना कैलालीका पदम सुनारलाई बिक्री गरिएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको थियो । प्रहरीले सुन, चाँदीका गरगहना र नगद बरामद गरी सम्बन्धित धनी एस रमेश बाबुलाई फिर्ता गरेको थियो ।
२०७५ पुसमा पनि सुर्खेत प्रहरीले ठूलो परिमाणमा बहुमूल्य सुनचाँदी बरामद गरेको थियो । भारतको बैंगलोरस्थित एक घरबाट ३ किलोभन्दा बढी सुनचाँदी चोरी गरेर नेपाल ल्याएको आरोपमा कालीकोटका मंगल शाही र उनकी श्रीमती पक्राउ परेका थिए । भारतीय प्रहरी उनीहरूको खोजीमा तीन दिनसम्म सुर्खेतमा बसेको थियो ।
हैदरावादमा भएको अर्को ठूलो चोरी प्रकरणमा पनि नेपाली युवाको संलग्नता देखिएको थियो । दैलेख, अछाम र कालीकोटका केही युवामाथि ४ करोडभन्दा बढी मूल्यका गहना र हिरा चोरी गरेको आरोप लागेको थियो । घटनापछि भारतीय प्रहरी नेपाल आएर काठमाडौं र सुर्खेतसम्म पुगेर खोजी गरेको थियो ।
प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्रै यस्ता पाँचवटा घटना सार्वजनिक भएका छन् । भारतमा काम गर्न गएर चोरी गरी सामानसहित फर्किएका १२ जना नेपालमा पक्राउ परिसकेका छन् ।
विशेष गरी घरेलु कामदार, होटल स्टाफ र सुरक्षा गार्डको काममा हजारौँ नेपाली संलग्न छन् । अधिकांश नेपालीले इमान्दारीपूर्वक श्रम गरेर परिवार पालिरहेका भए पनि केही व्यक्तिको गलत गतिविधिले समग्र नेपाली समुदायको छवि प्रभावित हुन थालेको छ ।
प्रहरी अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार काममा गएपछि पहिले मालिकको विश्वास जित्ने, घरको अवस्था बुझ्ने र त्यसपछि योजनाबद्ध रूपमा चोरी गरेर नेपाल फर्किने शैलीका घटना बढ्दै गएका छन् ।
भारतमा अहिले नेपालीलाई घरेलु कामदार राख्नुअघि मालिकहरू शंकालु बन्न थालेका छन् । पहिले दिल्ली र मुम्बईमा नेपाली चोरको चर्चा हुने गरेकोमा अहिले त्यही अवस्था बैंगलोर र हैदरावादमा समेत दोहोरिन थालेको बताइन्छ ।
यसको प्रत्यक्ष असर भारतमा इमान्दारीपूर्वक काम गरिरहेका नेपालीमाथि परेको छ । कुनै चोरीको घटना भएपछि सबैभन्दा पहिले नेपाली कामदारमाथि शंका गरिन थालेको छ ।
कतिपय अवस्थामा भारतीय प्रहरीले नेपाली कामदारमाथि कडा निगरानी गर्ने, सोधपुछ गर्ने तथा दबाब दिने गरेको गुनासो समेत सुनिने गरेको छ ।
रोजगारीका लागि गएका साधारण नेपाली युवाले केही व्यक्तिको गलत कामको मूल्य चुकाउन बाध्य भएको अवस्था देखिएको छ ।
अर्कोतर्फ, भारतमा चोरी गरेर नेपाल आएका व्यक्तिलाई नेपालमै कडा कानूनी कारबाही गर्ने स्पष्ट कानूनी व्यवस्था प्रभावकारी नभएको भन्दै प्रहरी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । कानून नभएकै कारण कतिपय व्यक्ति बारम्बार यस्ता घटनामा संलग्न हुने गरेको प्रहरीको भनाइ छ ।
नेपाल–भारत सम्बन्ध केवल राजनीति वा सीमासम्म सीमित छैन । दैनिक रोजगारी, परिवार, व्यापार र आपसी विश्वाससँग पनि यो सम्बन्ध जोडिएको छ । तर, केही व्यक्तिको आपराधिक गतिविधिले त्यो सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता बढ्दै गएको छ ।
यस्ता घटना निरन्तर बढिरहे भारतीय शहरहरूमा नेपाली कामदारमाथि थप कडाइ हुन सक्ने र दीर्घकालीन रूपमा नेपालीप्रति नकारात्मक धारणा गहिरिन सक्ने देखिन्छ ।
भारतमा नेपाली कामदार पुग्नु केवल रोजगारीको विषय मात्र नभई नेपालको सामाजिक छवि, वैदेशिक रोजगारीको विश्वसनीयता र दुई देशबीचको विश्वाससँग पनि जोडिएको विषय भएकाले सीमापार अपराध नियन्त्रणमा नेपाल र भारतबीच अझ प्रभावकारी समन्वय, कडा कानूनी व्यवस्था तथा विदेश जाने युवामा सचेतना आवश्यक देखिएको छ ।
हेर्नुहोस्, भिडियो: