
टोटनह्याम हट्सपरले प्रिमियर लिगको अन्तिम दिन एभर्टनलाई पराजित गर्दै इतिहासकै अपमानजनक रेलिगेसनको संकटबाट मुक्ति पाएको छ । गएरातिको यो जितसँगै टोटनह्याम अर्को सिजनका लागि पनि शीर्ष डिभिजन (प्रिमियर लिग) मै सुरक्षित भएको छ भने वेस्ट ह्याम युनाइटेड रेलिगेसनमा पर्दै दोस्रो डिभिजनको च्याम्पियनसिपमा झरेको छ ।
क्लब लगातार दोस्रो सिजन १७ औं स्थानमा रहनुलाई फुटबल विज्ञहरूले क्लबको ठूलो असफलता र लाजमर्दो नतिजाका रूपमा व्याख्या गरेका छन् ।
यो सिजन टोटनह्यामका लागि निकै अस्थिर रह्यो । क्लबले थोमस फ्रान्कलाई ८ महिनामा बर्खास्त गरेपछि इगोर ट्युडोरलाई जिम्मेवारी सुम्पेको थियो, तर उनी केवल ४४ दिनमै बाहिरिनु पर्यो ।
अन्ततः रोबर्टो डी जर्बीलाई आपतकालीन समयमा प्रशिक्षक नियुक्त गरियो । डी जर्बीले टोलीलाई कोचिङ मात्र नभई मनोवैज्ञानिक रूपमा पनि बलियो बनाउँदै उल्भ्स र एभर्टन जस्ता महत्त्वपूर्ण खेलमा जित दिलाएर क्लबलाई रेलिगेसनबाट बचाए ।
टोटनह्याम रेलिगेसनबाट बच्न संघर्ष गरिरहेका बेला उसको कट्टर प्रतिद्वन्द्वी आर्सनलले २२ वर्षपछि प्रिमियर लिगको उपाधि उचालेको छ । आर्सनलको जित र आफ्नो क्लबको दयनीय अवस्थाले टोटनह्यामका फ्यानहरूलाई थप चिन्तित बनाएको छ । भव्य रंगशाला र च्याम्पियन्स लिगबाट प्राप्त करिब ७ करोड ४० लाख पाउन्ड आम्दानीका बाबजुद क्लब कसरी रेलिगेसनको संघारमा पुग्यो भन्नेबारे अब गम्भीर समीक्षा हुने देखिएको छ ।
प्रशिक्षक डी जर्बीले अर्को सिजनका लागि अहिल्यैदेखि काम सुरु गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, 'हामीले अब एउटा शीर्ष टोली बनाउनुपर्नेछ । धेरै खेलाडी फेर्नु नपरे पनि केही उच्च स्तरका खेलाडीहरू ल्याउनु आवश्यक छ ।'
यो सिजन जेम्स म्याडिसन र डेजान कुलुसेभस्की जस्ता मुख्य खेलाडीहरूको चोटले पनि टोलीलाई समस्यामा पारेको थियो ।
कप्तान क्रिस्टियन रोमेरो र मिकी भान डे भेन जस्ता खेलाडीहरू अर्को सिजन क्लबमै रहलान् या नरहलान भन्नेमा पनि अन्योल कायमै छ ।
भान डे भेनले १७ औं स्थानमा सिजन अन्त्य गर्नु क्लबका लागि अस्वीकार्य भएको बताएका छन् ।