
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा अदालतमा बयान फेरेका तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले विशेष अदालत काठमाडौंमा विचाराधीन घुस/रिसवत मुद्दामा अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेको भन्दै विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध मंगलबार आरोपपत्र दायर गरेको हो ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार विशेष अदालतमा दर्ता भएको प्रतिवादी ढुण्डिराज दाहाल रहेको भ्रष्टाचार मुद्दामा ती तीन जनालाई अनुसन्धानमा सहयोग गरेको आधारमा प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो ।
तर, उनीहरूले गत वैशाख २५ गते विशेष अदालतमा उपस्थित भएर अनुसन्धान अधिकृतसमक्ष दिएको बयानविपरीत बकपत्र गरेको पुष्टि भएपछि पुनः अनुसन्धान गरी उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार भुक्तानी प्रक्रिया सहज बनाउन विप्लव पोख्रेलले आरएसभी मेटलको तर्फबाट २७ हजार ३५० रूपैयाँ र अभियान्ता नेपालको तर्फबाट २९ हजार रूपैयाँ गरी कूल ५६ हजार ३५० रूपैयाँ घुस दिएको पुष्टि भएको छ ।
त्यस्तै, प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिज लगायतको तर्फबाट ३७ हजार ५०० रूपैयाँ तथा राजेश श्रेष्ठले विप्लव पोख्रेलमार्फत २७ हजार ३५० रूपैयाँ घुस दिएको अख्तियारको दाबी छ ।
तीन जनाले दिएको कूल घुस रकम ९३ हजार ८५० रूपैयाँ रहेको आयोगले जनाएको छ ।
अख्तियारले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(३) अनुसारको कसुर भएको उल्लेख गर्दै बिगो बराबरको सजाय मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।