
रूपन्देहीमा मंगलबार भएका तीन अलग–अलग घटनामा चार जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा सडक दुर्घटनामा परी दुई जना र पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल बेलबासमा बसको ठक्करबाट अर्घाखाँचीका युवक अमृत बेल्वासेको मृत्यु भएको छ ।
काकरभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
प्रदेश १–०१–००१ ख ४२२३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा ८७ प ३४९९ नंम्बरको मोटरसाइकलाई ठक्कर दिँदा बेल्बासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । बेलबास अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ४ निवासी क्रिकेट खेलाडीसमेत हुन् ।
जिल्लाको मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर कक्षा ८ मा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा रूपन्देहीको मायादेवी गाउँपालिका–६ खजुरिया स्थायी घर भई हाल सिद्धार्थनगर नगरपालिका–६ बस्ने १३ वर्षीय प्रिन्स चौधरी र सम्मरीमाई गाउँपालिका–६ असुरैना स्थायी घर भई हाल सिद्धार्थनगर–४ कोठा भाडामा बस्ने १६ वर्षीय सुरज गुप्ता छन् ।
यसैगरी, सिद्धार्थनगर नगरपालिकास्थित सिद्धार्थ रंगशालाभित्र मिनी रोलरले च्याप्दा १४ महिने नाबालकको मृत्यु भएको छ । रंगशालाभित्र चाबी खुलै राखिएको अवस्थामा एउटा मिनी रोलरमा खेल्ने क्रममा जुम्लाको पातारासी गाउँपालिका–७ घर भई हाल रूपन्देही बस्ने नमु बुढाका छोरा १४ महिने नाबालक आयुश बुढाको च्यापिएर मृत्यु भएको हो । नमु बुढा त्यही रंगशालामा काम गर्ने मजदुर हुन् ।