
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र जरा गाडेर बसेको ‘कुलीनतन्त्र’लाई अन्त्य गरी कांग्रेसलाई आम कार्यकर्ताको पहुँचमा पुर्याउने प्रयास भइरहेको बताएका छन् ।
प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री घिमिरेले पार्टी सीमित नेताहरूको मुठ्ठीमा कैद हुन थालेकाले यसलाई मुक्त गर्न आफूहरू लागिपरेको स्पष्ट पारे ।
राजनीतिशास्त्री रोबर्ट मिचेल्सको कुलीनतन्त्रको फलामे कानूनको सन्दर्भ उल्लेख गर्दै घिमिरेले संस्थाहरू समयक्रममा केही सीमित व्यक्तिको स्वार्थमा चल्ने खतरा औँल्याए ।
‘शुरूमा लोकतान्त्रिक देखिए पनि पछि पार्टीमा नातावाद र पैसाको बोलवाला बढ्ने र केही सिमित व्यक्ति हाबी हुने प्रवृत्ति देखियो,’ उनले भने, ‘हामीले कांग्रेसलाई यो अवस्थाबाट बाहिर निकालेर जहाँ न्याय, उचित मूल्याङ्कन र पारदर्शी निर्णय प्रक्रिया हुन्छ, त्यस्तो कांग्रेस बनाउन खोजेका हौं ।’
उनले पार्टीमा अब मेरिटोक्रेसी (योग्यता प्रणाली) स्थापित हुनुपर्नेमा जोड दिए । पार्टीको ८ लाख ७२ हजार क्रियाशील सदस्यहरूको विवरणलाई आधुनिक र व्यवस्थित बनाउन प्रविधिको प्रयोग शुरू गरिएको घिमिरेले जानकारी दिए । नक्कली सदस्यहरू देखाएर पार्टी बलियो नहुने उनको तर्क छ ।
‘हामीले एकै क्लिकमा सबै सदस्यसम्म सन्देश पुग्ने र सदस्यले आफ्नो विवरण आफैं अद्यावधिक गर्न सक्ने एआईसहितको प्रणाली विकास गरेका छौं,’ घिमिरेले भने ।
जेठ २१ गतेसम्म आफ्नो सदस्यता अद्यावधिक नगर्ने व्यक्तिले आगामी अधिवेशनमा वडा सभापति वा अन्य कुनै पनि पदमा उम्मेदवारी दिन नपाउने कडा व्यवस्था गरिएको उनले चेतावनी दिए ।
सरकारको मूल्याङ्कन: गुण र दोषका आधारमा
वर्तमान सरकारको कामकारबाहीबारे टिप्पणी गर्दै महामन्त्री घिमिरेले कांग्रेसले सरकारलाई १०० दिनको समय दिएको र त्यसपछि गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने बताए ।
‘प्रमुख प्रतिपक्ष हुनुको अर्थ विरोधका लागि विरोध मात्रै गर्नु होइन । सरकारले जनहितमा काम गर्छ भने हामी समर्थन गर्छौं, तर संविधानको मर्म र लोकतन्त्र विपरीत गएमा सशक्त प्रतिवाद गर्छौं’ , उनले भने ।
प्रधानमन्त्रीले संसद्लाई छल्ने र जनप्रतिनिधिको बीचमा उपस्थित नहुने शैली अपनाएको भन्दै उनले त्यसको आलोचना समेत गरे ।
घिमिरले सहकारी क्षेत्रमा देखिएको ठूलो अनियमितता र सर्वसाधारणको बचत डुबेको विषयमा राज्यले जिम्मेवारी लिनुपर्ने बताए ।
‘नागरिकको सुरक्षा दिनु राज्यको पहिलो धर्म हो । सहकारीमा ठगी गर्नेहरूबाट असुल उपर गरी पीडितलाई तत्काल राहत दिन सरकारले ऋण लिएरै भए पनि पैसा फिर्ता गर्ने वातावरण बनाउनुपर्छ’, उनले भने ।
महामन्त्री घिमिरेले पार्टीभित्र सानातिना मतभेद भए पनि आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर जनताको बीचमा जाने र अहिलेको भन्दा उत्कृष्ट नतिजा ल्याउने दाबी समेत गरे।