
झापाको गौरादह नगरपालिकामा स्कूल बसले किच्दा ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।
झापा प्रहरीका अनुसार बुधबार बेलुका करिब ५ बजेको समयमा गौरादह नगरपालिका-७ स्थित फगेटीमा स्थानीय सजग एकता बोर्डिङ स्कूलको को १ ख ६९४० नम्बरको बसले सोही स्कूलमा अध्ययनरत विद्यार्थी ४ वर्षीय आरोग्य चिमरियालाई किचेको थियो ।
स्थानीय खड्ग चिमरियाका छोरा आरोग्यलाई स्कूलबाट घर पुर्याएर ओराल्ने क्रममा सोही बसले किचेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चालक ५७ वर्षीय लालबहादुर बस्नेत रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी बालकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।