२८ जेठ २०८३, बिहीबार
निस्वार्थ नायक

विराटनगरका ‘सर्पदूत’ शम्भु सर

जेठ १६, २०८३
विराटनगर
विराटनगरका ‘सर्पदूत’ शम्भु सर

रातको करिब दुई बजेको थियो। विराटनगरको व्यस्त शहरका बासिन्दा मीठो निन्द्रामा थिए । राति सडक सुनसान हुने नै भयो । अचानक शम्भु घिमिरेको फोनमा घन्टी बज्यो, फोनको घण्टीले निद्रा बिथोल्यो र फोन उठाउनासाथ चिच्याएर कसैले भन्यो– ‘सर  बचाउनुस् ! बचाउनुस् !’

उनी कुनै अस्पतालको आकस्मिक कक्षमा बस्ने चिकित्सक होइनन्, न त उनी दमकलका कर्मचारी नै हुन्  । उनी त विराटनगर महानगरपालिकाका एक नगर प्रहरी हुन् ।  तर, विराटनगरवासीका लागि उनी यतिबेला यस्तो ‘दूत’ बनेका छन्, जो विषालु सर्प र त्रसित नागरिकबीचको एउटा बलियो पर्खाल बनेर उभिने साहस गर्छन् ।

शम्भुको मोबाइल कहिल्यै ‘अफ’ हुँदैन ।  किनकि उनलाई राम्रोसँग थाहा छ- कुनै पनि बेला कसैको घर, ओछ्यानमा, भान्छामा वा शौचालयमा सर्पले फणा फिँजाउन सक्छ । फोन बज्नेवित्तिकै उनी न मौसम हेर्छन्, न त समय ।

आफ्नो मोटरसाइकल स्टार्ट गर्छन् र हुइँकिन्छन् । उनी भन्छन्, ‘फोन आएपछि म कसरी सुत्न सक्छु र? कसैको घरमा सानो बच्चा होला, कोही वृद्धवृद्धा होलान् भन्ने सम्झेर मेरो निद्रा त्यसै भाग्छ। जबसम्म त्यो सर्प सुरक्षित रूपमा बाहिर निस्कँदैन, मेरो मनले शान्ति पाउँदैन ।’

विराटनगर महानगरपालिकाले तीन वर्ष अगाडि चार जना नगर प्रहरीलाई सर्प समात्ने विशेष तालिम दिएको थियो । तीमध्ये शम्भु घिमिरे यस्ता पात्र हुन्, जसले यो तालिमलाई केवल एउटा सरकारी जागिर वा जिम्मेवारीको रूपमा मात्र लिएनन्, बरु यसलाई एउटा मानवीय धर्मको रूपमा आत्मसात गरे  ।

२०८० जेठ १५ देखि अहिलेसम्म उनले ८९० वटा सर्पको सुरक्षित उद्धार गरिसकेका छन् । पछिल्ला दुई वर्षमा ७६० वटा र गत वैशाखयता मात्रै ५५३ वटा सर्प उनले घरबाट निकालेका छन् । यो संख्या सुन्दा एउटा तथ्याङ्क जस्तो मात्र लाग्न सक्छ, तर ती ८९० वटा सर्पले ८९० वटा सम्भावित मृत्युको खतरा बोकेका थिए ।

null

उनले केवल सर्प समातेका छैनन्, सयौँ मानिसको ज्यान जोगाएका छन् , उनी अहिले विराटनगरका मात्र होइनन्, छिमेकी पालिकाका बासिन्दाका लागि पनि ‘संकटको साथी’ बनेका छन् ।

शम्भुको यो यात्रोमा प्रत्येक पाइलामा जोखिम छ । उनले धेरै पटक मृत्युलाई निकै नजिकबाट स्पर्श गरेका छन् ।  सबैभन्दा डरलाग्दो घटना विराटनगरकै नोबेल अस्पताल परिसरभित्रको आवासमा भएको थियो।

त्यहाँ एउटा यस्तो सर्प पसेको थियो, जुन नेपालको तराई क्षेत्रमा विरलै देखिन्छ- ‘मोनोकल्ड स्पिटिङ कोब्रा’ (चन्द्र नाग)। यो सर्प कति खतरनाक हुन्छ भने, यसले टोक्नु पर्दैन, टाढैबाट आफ्नो शत्रुको आँखा वा छालामा विषको फोहरा फाल्न सक्छ। शम्भुले उद्धार गर्न खोज्दा त्यो कोब्राले अचानक उनको मुख र छालामा विष फाल्यो ।

‘त्यो विष छालामा पर्दा पनि एसिडले पोलेजस्तो निकै घातक हुँदो रहेछ,’ शम्भु त्यो कहालीलाग्दो क्षण सम्झिन्छन् । त्यसपछि उनी २८ घण्टासम्म अस्पतालको सघन निगरानीमा बस्नुपर्‍यो ।  मृत्युको त्यो सन्निकट स्पर्शले जोकोहीलाई पनि यो काम छोड्न बाध्य बनाउन सक्थ्यो ।  निको भएर फर्किएपछि उनले डराउनुको साटो झन् दृढ भएर काममा लागे र त्यही प्रजातिका थप ६ वटा सर्प समाते। यो उनको पेशाप्रतिको निष्ठा र अदम्य साहस हो ।

सर्प कहाँ भेटिन्छ ? सामान्यतया धेरैको जवाफ हुन्छ- झाडीमा, वनमा वा दुलामा। तर शम्भुको अनुभवले अर्कै कुरा भन्छ । सर्प मानिसको घरका हरेक त्यस्ता कुनाकाप्चामा पुग्न सक्छन् जहाँ हामी कल्पना पनि गर्न सक्दैनौँ ।  

उनले भान्छाका भाँडाकुँडाभित्र, पूजा कोठाको देउताको मूर्ति पछाडि, दराजको कपडाभित्र, कुलर, वासिङ मेसिन, एसी र फ्रिजको पछाडिबाट सर्प निकालेका छन् । उनले शौचालयको प्यान र कमोडभित्रबाट समेत अति विषालु सर्प निकालेका छन् ।  उनले गोमन करेत, किङ कोब्राका बच्चादेखि लिएर विशाल अजिङ्गर र धामनसम्मलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

उनको हातमा भएको एउटा सामान्य स्टिक र उनको आँखाको आत्मविश्वासले यी खतरनाक जीवलाई सजिलै बसमा पार्छ ।

शम्भुको यो अभियानले विराटनगरमा एउटा ठूलो मौन क्रान्ति ल्याएको छ । केही वर्ष अघिसम्म विराटनगर र आसपासका क्षेत्रमा वार्षिक २० देखि ३० जनाले सर्पदंशका कारण ज्यान गुमाउँथे । मानिसहरू सर्प देख्नेवित्तिकै डराउँथे र मार्न खोज्थे। सर्पले पनि आफ्नो प्रतिरक्षाका लागि मानिसलाई टोक्थ्यो ।

तर जबदेखि शम्भुले घर–घरमै पुगेर सर्प उद्धार गर्न थाले, मानिसहरूमा एउटा नयाँ विश्वास जाग्यो- ‘सर्प मार्नु पर्दैन, शम्भु सरलाई फोन गरे हुन्छ।’ यसले दुईवटा ठूला फाइदा भएका छन् ।  पहिलो, प्रकृतिमा सर्पको उपस्थिति कायम रहँदा पारिस्थितिक प्रणाली सन्तुलित रह्यो। दोस्रो, मानिसको ज्यान जोगियो। पछिल्लो तथ्याङ्कले भन्छ- चालु वर्षमा विराटनगरमा सर्पदंशबाट एक जनाको पनि मृत्यु भएको छैन । यो एउटा ठूलो सफलता हो, जसको पछाडि शम्भुको ठूलो योगदान छ ।

सयौँको ज्यान जोगाउने शम्भुको काम जति जोखिमपूर्ण छ, त्यति नै अमूल्य पनि छ । तर विडम्बना, महानगरपालिकाले उनलाई यो जोखिमपूर्ण कामका लागि कुनै अतिरिक्त सेवा–सुविधा वा विशेष भत्ता दिएको छैन । उनी आफ्नो नियमित नगर प्रहरीको तलबमै २४सैँ घण्टा ड्युटीमा खटिन्छन् ।

null

डिभिजन वन कार्यालयले एउटा सानो खोर र महानगरले एउटा हेल्मेट र हेडलाइटबाहेक उनलाई अरू विशेष सुरक्षा उपकरण पनि दिएको छैन । न त उनको बीमाको विशेष व्यवस्था छ, न त उनलाई थप प्रोत्साहन भत्ता नै दिइन्छ । तैपनि उनलाई कुनै गुनासो छैन । उनी भन्छन्, ‘कसैको ज्यान जोगिँदा ती परिवारका सदस्यको आँखामा देखिने खुसी र उनीहरूले दिने आशिष् नै मेरो सबैभन्दा ठूलो सुविधा र पारिश्रमिक हो ।’

शम्भु आफूले समातेका सर्पलाई सुरक्षित रूपमा उत्तरी मोरङको चारकोशे झाडीमा लगेर छाड्छन् ।  मानिसहरू प्राय: डराउँछन् । - वनमा सर्प धेरै भए भने के होला? तर शम्भुको तर्क वैज्ञानिक र वातावरणीय छ । उनी भन्छन्, ‘प्रकृतिमा सर्पलाई सर्पले नै खान्छ, चराचुरुङ्गीले पनि यसलाई आहारा बनाउँछन् । वनमा सर्पको संख्या बढ्नु भनेको पारिस्थितिक प्रणाली बलियो हुनु हो। सर्पले मुसा नियन्त्रण गरेर किसानको अन्न जोगाउँछ ।’

सर्प समात्ने मात्र होइन, शम्भु एउटा सचेतक पनि हुन् ।  उनी प्रत्येक उद्धारपछि स्थानीयलाई जम्मा गरेर सम्झाउँछन् - ‘सर्पले टोकेमा धामीझाँक्रीकोमा गएर समय बर्बाद नगर्नुस्। त्यो अन्धविश्वासले धेरैको ज्यान लिइसकेको छ । सिधै अस्पताल जानुस् ।’ उनी घर वरिपरि सरसफाइ राख्न, राति सुत्दा अनिवार्य झुल प्रयोग गर्न र जुत्ता लगाउँदा झट्काएर मात्र लगाउन सधैं सुझाव दिन्छन् ।

आज विराटनगरका गल्लीहरूमा जब शम्भु घिमिरे आफ्नो मोटरसाइकलमा हुइँकिन्छन्, मानिसहरूले उनलाई एउटा बहादुर सिपाही र रक्षकको रूपमा हेर्छन् ।  उनी यस्ता पात्र हुन्, जसले सावित गरिदिएका छन् कि- ‘हिरो’ हुन चलचित्रको पर्दामा देखिनु पर्दैन, न त ठूलो ओहोदा नै चाहिन्छ। समाजका लागि नि:स्वार्थ भावले पसिना बगाउने र अरूको दु:खमा सारथी बन्ने जोकोही पनि वास्तविक नायक हो ।

विराटनगर अहिले अलि बढी सुरक्षित महसुस गर्छ । किनकि त्यहाँका हरेक रातमा शम्भुको एउटा मोबाइल ‘अन’ छ । उनको साहसले मृत्युको विषलाई पनि परास्त गरिरहेको छ । शम्भु केवल एक नगर प्रहरी होइनन्, उनी मानवताका ती सेवक हुन् जसले अरूको सपना र निद्राको रक्षा गर्न आफ्नै निद्रा र सुरक्षालाई दाउमा राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्