०१ असार २०८३, सोमबार

हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि एकजुट हुन राप्रपाका पूर्वअध्यक्षत्रयको आह्वान

जेठ १६, २०८३
काठमाडौं
हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि एकजुट हुन राप्रपाका पूर्वअध्यक्षत्रयको आह्वान

पार्टी विभाजनको मुखमा पुगेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरूले एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टी नछोड्न र पलायन नहुन विशेष अनुरोध गरेका हुन्।

विज्ञप्तिमा नेताहरूले निर्वाचनमा अपेक्षाकृत सफलता नपाए पनि विचलित नहुन आग्रह गरेका छन्। 'पार्टी जीवनमा हारजित र आरोह-अवरोह स्वाभाविक हुन्,' विज्ञप्तिमा भनिएको छ, 'जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तप्रति निष्ठावान् रहँदै अघि बढ्नु प्रत्येक स्वाभिमानी कार्यकर्ताको धर्म हो।'

विगतको निर्वाचन परिणामले उत्साह नथपे पनि पार्टी एकतालाई सुदृढ बनाएर सशक्त कार्ययोजनाका साथ अघि बढेमा छोटो समयमै अप्रत्याशित सफलता हासिल गर्न सकिने विश्वास नेतात्रयले व्यक्त गरेका छन्।

 उनीहरूले राप्रपाको भविष्य उज्ज्वल रहेको दाबी गर्दै ढिलो चाँडो 'हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना' गरेरै छाड्ने प्रतिबद्धता समेत दोहोर्‍याएका छन्।

पार्टीभित्र देखिएका आन्तरिक समस्या, विकृति र चुनौतीहरूको समाधान आगामी महाधिवेशनले गर्ने भन्दै नेताहरूले कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका छन्। 

आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति निश्चित गरिने जानकारी दिँदै उनीहरूले तोकिएको समयमै महाधिवेशन हुनेमा शङ्का नगर्न प्रस्ट पारेका छन्। पार्टीकै महामन्त्री धवलशमशेर राणाले पार्टी विभाजनको गृहकार्य गरिरहेका बेला पूर्वअध्यक्षहरुको यो धारणा आएको हो । 

salt training

कमेन्ट गर्नुहोस्