
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
पार्टी विभाजनको मुखमा पुगेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरूले एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टी नछोड्न र पलायन नहुन विशेष अनुरोध गरेका हुन्।
विज्ञप्तिमा नेताहरूले निर्वाचनमा अपेक्षाकृत सफलता नपाए पनि विचलित नहुन आग्रह गरेका छन्। 'पार्टी जीवनमा हारजित र आरोह-अवरोह स्वाभाविक हुन्,' विज्ञप्तिमा भनिएको छ, 'जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तप्रति निष्ठावान् रहँदै अघि बढ्नु प्रत्येक स्वाभिमानी कार्यकर्ताको धर्म हो।'
विगतको निर्वाचन परिणामले उत्साह नथपे पनि पार्टी एकतालाई सुदृढ बनाएर सशक्त कार्ययोजनाका साथ अघि बढेमा छोटो समयमै अप्रत्याशित सफलता हासिल गर्न सकिने विश्वास नेतात्रयले व्यक्त गरेका छन्।
उनीहरूले राप्रपाको भविष्य उज्ज्वल रहेको दाबी गर्दै ढिलो चाँडो 'हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना' गरेरै छाड्ने प्रतिबद्धता समेत दोहोर्याएका छन्।
पार्टीभित्र देखिएका आन्तरिक समस्या, विकृति र चुनौतीहरूको समाधान आगामी महाधिवेशनले गर्ने भन्दै नेताहरूले कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका छन्।
आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति निश्चित गरिने जानकारी दिँदै उनीहरूले तोकिएको समयमै महाधिवेशन हुनेमा शङ्का नगर्न प्रस्ट पारेका छन्। पार्टीकै महामन्त्री धवलशमशेर राणाले पार्टी विभाजनको गृहकार्य गरिरहेका बेला पूर्वअध्यक्षहरुको यो धारणा आएको हो । राणाले सोमबार पार्टी परित्यागसहित विभाजनको सुरुवात गर्न लागेको नेताहरुले जनाएका छन् ।
००००
रोमाञ्चक प्रतिस्पर्धामा इङ्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।
शनिबार राति हंगेरीको पुस्कास एरेनामा भएको फाइनल भिडन्तमा आर्सनललाई ४–३ को पेनाल्टी सुटआउटमा हराउँदै लुइस एनरिकेको टोलीले आफ्नो च्याम्पियन साख जोगाएको हो।
००००
राजधानीको जडीबुटी क्षेत्रमा शनिबार प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।
००००
नेकपा एमालेका महासचिव शंकर पोखरेलले उर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् ।
उनले फेसवुकमा उर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका छन् ।
´पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ,` उनले लेखेका छन्,´आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?`
००००
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको शनिबार उद्घाटन गर्दै उनले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताए ।
००००
काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था सम्पर्कबाहिर रहेको पाइएको छ ।
महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गर्ने गरेका छन् ।
००००
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा चालु खर्च उच्च र पूँजीगत खर्च न्यून रहेको टिप्पणी गरेका छन् ।
बजेट सार्वजनिक भएको भोलिपल्ट शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै चालिसेले कूल बजेटको ५९.८ प्रतिशत अर्थात् १२ खर्ब ७० अर्ब ५८ करोड रूपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको, जबकि पूँजीगत खर्च २०.३ प्रतिशत अर्थात् ४ खर्ब ३१ अर्ब १० करोड रूपैयाँ मात्र रहेको उल्लेख गरेका छन् ।
००००
आकर्षक जागिर र राम्रो कमाइको प्रलोभनमा पारेर भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ४६३ जना नेपालीलाई सकुशल उद्धार गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय प्रहरीको विशेष सहयोगमा उनीहरूलाई बन्धनमुक्त गराई नेपाल ल्याएको हो।
००००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले लोकान्तरलाई जानकारी दिए ।
००००
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको बताएका हुन् ।